Comments Add Comment

दक्षिण कोरियाली कलाकारको प्रस्तुतिमा रमाए किम


१९ चैत, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन राजधानी प्योङयोङमा आयोजित एक कन्सर्टमा सहभागी भए । उनले ताली बजाउदै कलाकारको उत्साह जगाए ।

कन्सर्टमा सहभागी कलाकार उत्तर कोरियाली थिएनन्, दक्षिण कोरियाबाट आएका थिए । उक्त कार्यक्रममा नेता उन श्रीमतीसहित सहभागी थिए ।

समाचार अनुसार किम जोङ उन दक्षिण कोरियाली पप कलाकारको प्रस्तुति हेरेर मख्ख थिए । मख्ख किमले स्टेज पछाडि पुगेर कलाकारसँग कुराकानी मात्रै गरेनन्, तस्वीरसमेत खिचाए ।

एक दशकपछि दुई कोरियाबीचको सम्बन्ध सङ्लिने संकेतहरु देखापरेका छन् । र्दुइ कोरियाबीचको सम्बन्धमा सुधार आइरहेका बेला दक्षिण कोरियाली कलाकारले उत्तरमा प्रस्तुति दिएका हुन् ।

प्योङयाङमा संगीतको दुई कार्यक्रम भएको थियो । जसमा ११ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिएका थिए । यसै वर्ष भएको विन्टर ओलम्पिकमा उत्तर कोरियाले आफ्ना देशका कलाकारलाई दक्षिण कोरिया पठाएको थियो ।

केही महिनाको तनावपछि दुवै देशको सम्बन्ध सुधारमा केही संकेत देखिएको छ । दक्षिण कोरियाली मिडियाका अनुसार, यस कन्सर्टको नाम ‘स्प्रिङ इज कमिङ’ राखिएको थियो । आइतवार १५०० सिट भएको इस्ट प्योङयोङ ग्रेण्ड थिएटरमा सुरु भएको थियो ।

दक्षिण कोरियाको न्युज एजेन्सी योनहपका अनुसार किम जोङ पहिलो उत्तर कोरियाली नेता हुन्, जो दक्षिण कोरियाली कलाकारको कार्यक्रममा सहभागी भए ।

रोयटर्सका अनुसार, दक्षिण कोरियाका संस्कृति मन्त्री दो जोंग–ह्वानले पत्रकारहरुलाई किमले चाख मानेर कार्यक्रम हेरेको र गीतको शब्दबारे सोधीखोजी समेत गरेको जानकारी दिएका थिए ।

दुवै मुलुकको शिखर वार्ता २७ अप्रिलमा हुने भएको छ । यसअघि २००० र २००७ मा दुवै देशको वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment