+
+

३२ गाडी र १५० बढी भारतीय मोटरसाइकल बरामद

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ चैत २१ गते १३:५०

२१ चैत, रौतहट । खुल्ला सिमानाका कारण सजिलै नेपाल भित्रिएका चोरीका भारतीय नम्बरका ३२ वटा गाडी र १५० भन्दा बढी मोटरसाइकलहरु प्रहरीले बरामद गरेको छ ।

२०७४ मंसिर यता प्रहरीले यति ठूलो मात्रामा चोरीका र कागजातविहीन भारतीय गाडीहरुलाई रौतहटको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर भंसार कार्यालय तथा राजश्व कार्यालय पथलैयामा बुझाएको छ ।

भारतीय बजारसँग सीमा जोडिएका रौतहटका विभिन्न नाका भएर जिल्लामा प्रवेश गरेका यी सवारी साधनहरुलाई चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व कार्यालयमा पठाएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

रौतहटको दक्षिणी भेगमा ठूलो मात्रामा अझै पनि चोरीका मोटरसाइकल तथा गाडीहरु प्रयोगमा रहेका छन ।

भारतीय बजारमा सस्तो मूल्यमा किनेर नेपाली भूमिमा प्रयोग भइरहेको सवारी साधनको संख्या रौतहटमा अत्याधिक रहेको छ ।

नेपाली मूल्य भन्दा झण्डै तीनगुणा सस्तो मूल्यमा भारतीय गाडीहरु पाइने भएपछि भारतीय आफन्तहरुको नाममा गाडी किनेर गौरदेखि गरुडासम्मका स्थानीयले प्रयोग गरिरहेका छन् ।

स्थानीय सर्वसाधारण मात्र होइन, नेता, प्रदेश सदस्य तथा प्रतिनिधि सभाका साँसद समेतले भारतीय गाडी राख्ने गरेका छन् ।

भारतीय गाडीहरु नेपाली भूमिमा निश्चित दुरीसम्म जान पाउने प्रावधान रहेपनि विदेशी नम्बर प्लेटका गाडी नेपालमै भन्सार पास बिना राख्न मिल्दैन ।

प्रहरीले बरामद गरेको चारपाङग्रे गाडीमा भारतीय नम्बरको बोलेरो, मार्शल, सुमो, पिकअप तथा स्कारपियो समेत रहेका छन् ।

गाडीको कुनै कागजात नभएका तथा नक्कली काजगपत्रका आधारमा जिल्लाका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा गाडीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतीय गाडी सुरक्षा चुनौतीको विषयः उपरीक्षक पोखरेल

रौतहटको सदरमुकाम समेत जिल्लाका विभिन्न भेगमा गुडने गरेका भारतीय गाडीले सुरक्षालाई चुनौतिपूर्ण बनाउने गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल बताउँछन् ।

भन्सार पास बिना नै गुडेका भारतीय गाडीहरु दुर्घटना पश्चात भागेपछि खोजतलाशमा गाह्रो हुने तथा अपराधिक गतिविधिमा पनि प्रयोग हुने भएकोले सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण भएको उनले बताए । ‘लामो समयदेखि रौतहटको दक्षिणी भेगमा ठूलो संख्यामा भारतीय गाडीको प्रयोग भएको छ । त्यस्ता गाडीहरुलाई चेकजाँच गरेर भन्सार दस्तुर काटन लगाउने काम भएको छ,’ उपरीक्षक पोखरेल भन्छन ,’भन्सार नकाटेका गाडीहरु नियन्त्रणमा लिने र कारवाही गर्ने काम तिव्रताका साथ अगाडी बढेको छ ।’

चोरी तस्करीका लागि पनि तस्करहरुले ठूलो संख्यामा भारतीय मोटरसाइकलहरु प्रयोग गरिरहेका छन् ।

मंगलवार मात्रै पनि सशस्त्र प्रहरीले तीन वटा भारतीय मोटरसाइकलमा तस्करी गरी ल्याउदै गरेको दुई लाख भन्दा बढी मूल्यको कपडा तथा मोटरसाइकल बरामद गरेको थियो । ‘भारतीय बजारमा दश देखी पन्ध्र हजार रुपैया सम्म मा पनि मोटरसाइकल पाए पछि तस्करहरुले त्यस्तै मोटरसाइकल प्रयोग गरेको देखिएको छ ।’

उपरीक्षक पोखरेलले भने, ‘सस्तोमा किनेको मोटरसाइकल प्रहरीले पक्राउ गरे पनि तस्करहरुलाई खासै फरक नपर्ने भए पछि भारतीय मोटरसाइकलहरु तस्करीको माध्यम बनेको छ ।’

एक साता यता मात्रै सशस्त्र प्रहरी बलले पनि भारतीय नम्बरका ६ वटा मोटरसाइकलहरु तस्करीका सामानसहित पक्राउ गरेको छ ।

तस्करहरुले मोटरसाइकलमै ठूला पोकाहरु बनाएर कपडा तथा इलेक्ट्रोनिक्स सामानहरु भारतीय बजारबाट नेपाली भूमिमा छिराउने गरेका छन् । ‘खुल्ला सिमानाका कारण नाकाहरु बाट भारतीय नम्बरका मोटरसाइकलहरु नेपाल पस्दा उनीहरुको अभिलेख हामी सँग हुदैन,’ सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले भने “भारतीय सवारी साधनहरुको कडाइका साथ नियमित चेकजाँच गर्दैछौं । पछिल्लो समय तस्करीमा संलग्न भएका यस्ता सवारी साधन नियन्त्रणमा लिएर भन्सार बुझाएका छौं ।’

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंसिर महिना यताको अवधिमा १ करोड ५८ लाख बराबरको चार पाङग्रे सावारी साधन र २ करोड बराबरको मोटरसाइकलहरु भन्सार तथा राजश्व कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?