Comments Add Comment

सरकारले गर्‍यो सचिवको पजनी, को कहाँ सरुवा भए ?


२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।

महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ ।

अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ ।

राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् ।

त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।

नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ ।

वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् ।

पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सबै सचिवहरुको सरुवा गर्ने नीति अनुरुप सरुवा गरिएको बताए ।

उनले अनलाइनखबरसँग भने ‘३० जना सचिवहरुको अदल-बदल भएको छ । एकपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अन्तरगत यो अदल-बदल गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment