Comments Add Comment

प्रदेश ७ को प्रदेश सभा बैठक एकै दिन विना सूचना दुई पटक स्थगित

२३ ख, कैलाली । प्रदेश ७ को प्रदेशसभा बैठक शुक्रबार विना सूचना दुई पटक स्थगित भएको छ ।

प्रदेश सभा सदस्यलाई समेत जानकारी नदिएर अन्तिममा आएर बैठक स्थगित भएको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि प्रकट गरेका छन् ।

उनीहरुले अर्को बैठकमा आपत्ति जनाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले भने सरकार र सभामुखवीच समन्वय नहुँदा यस्तो स्थिति आएको आरोप लगाएका छन् ।

प्रदेश सभा सचिवालयले भने आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधिमा केही विवाद देखिएपछि बैठक स्थगित भएको जनाएको छ ।

बिहीबार बसेको प्रदेश सभा बैठकले शुक्रवार ११ बजेका लागि प्रदेश सभा बैठक बस्ने जनाएको थियो । जसका कारण ११ बजे नै प्रदेश सभा सचिवालयमा सवैजसो प्रदेश सभा सदस्यहरु उपस्थित भइसकेका थिए ।

बैठक बस्नका लागि प्रदेश सभाहलको घण्टी समेत बजाइयो । बैठक सुरु हुने भयो भनेर तयारीमा बसेका प्रदेश सभा सदस्यहरुले ११ बजेर ३ मिनेटमा मात्रै जानकारी पाए बैठक स्थगित भयो भनेर ।

लगतै अर्को सूचना टाँस गरियो दिउँसो १ बजे बैठक बस्ने भनेर । त्यसपछि प्रदेश सभा सदस्यहरु बैठकबाट उठेर गएकाहरु १ बजे फेरि बैठक स्थल पुगे ।

दिउँसो १ बजेपनि अधिकाश प्रदेश सभा सदस्य सभाहलमा पसिसकेका थिए भने मन्त्रीहरु नपुग्दै बैठक २५ गते दिउँसो १ बजे बस्ने भनेर सभामुखको निर्देशन भन्दै सांसद सचिवालयले सुचना टास गर्‍यो ।

बैठक नै नबसेर दुई/दुई पटक फर्किनुपरेपछि प्रदेश सभा सदस्यहरु आक्रोशित भएका छन् ।

शुक्रवार बैठक बस्ने भन्दै आ-आफनो निर्वाचन क्षेत्र र धनगढी बाहिर रहेका प्रदेश सभा सदस्यहरुले हतार हतार प्रदेश सभास्थल धनगढी पुगेका थिए ।

आफूहरुलाई जानकारी नै नदिई दुई/दुई पटक बैठक स्थगित भएपछि उनीहरुले प्रदेश सभा बैठकभित्रै असुन्तुष्टि जनाएका थिए ।

शुक्रवारको बैठक स्थगित हुनुको कारण र प्रदेश सभा सदस्यलाई बैठक स्थगित गर्नेबारे जानकारी नदिएको विषयमा २५ गते बस्ने प्रदेश सभा बैठकमा जवाफ माग्ने प्रदेश सभा सदस्य नेपालु चौधरीले बताए ।

विना सुचना एकै दिन दुई/दुई पटक बैठक स्थगित हुनुलाई प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले पनि गम्भिरताका साथ लिएको छ । प्रदेश सरकार र सभामुखविच समन्वय हुन नसक्दा यस्तो समस्या आएको नेपाली काग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले बताए ।

प्रदेश सभा सचिवालयका अनुसार शुक्रवारको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले प्रयोग गर्ने लोगो, प्रदेश ७ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि पास गर्ने र प्रदेशको आर्थिक अवस्थाबारे जानकारी दिन अर्थमन्त्री झपट बहादुर बोहराले श्वेत पत्र जारी गर्ने कार्य सुची रहेको थियो । तर, प्रदेश सभा बैठक नै स्थगित भएपछि सम्पूर्ण कार्य सुची प्रभावित बनेको प्रदेश सभा सचिवालयका सचिव बालारम शर्माले बताए ।

उनलेे आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधिमा केही विवाद देखिएपछि शुक्रबार दुई पटक बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।

प्रदेश ७ को प्रदेश सभा बैठक नियमिती बस्न नसेका कारण प्रदेशले बनाउनुपर्ने महत्वपुर्ण कानुनहरु अझै बनिसकेका छैनन् । जसले गर्दा प्रदेशका जनताले प्रदेशसरकारको अनुभूति समेत गर्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment