+
+

उपन्यासकार अमर न्यौपानेको विवाहमा ब्रेकअप !

वैशाखमा पुनः विवाह गर्ने कुरा हल्ला मात्रै

अश्विनी कोइराला अश्विनी कोइराला
२०७४ चैत २४ गते १३:०१


२४ चैत, काठमाडौं । एक महिनाअघि चर्चित लेखक अमर न्यौपानेको वैवाहिक जीवन औपचारिक रुपमा ‘ब्रेक’ भयो । १४ वर्षअघि चितवनमा मागी विवाह गरेका अमरको युगल बसाइ भने १४ दिन पनि रहेन ।

नवविवाहित दुलहीसँग अति सामान्य कुरामा अलग भएर काठमाडौंमा बस्न थालेका अमरलाई कानुनी औपचारिकता पूरा गर्न भने १४ वर्ष लाग्यो ।

विवाहलगत्तै काठमाडौं आएर शिक्षण पेशा सुरु गरेका न्यौपानेले पद्मश्री पुरस्कार प्राप्त ‘पानीको घाम’ मदन पुरस्कार प्राप्त ‘सेतो धर्ती’ र विद्यार्थीहरु बीच लोकप्रिय ‘करोडौं कस्तुरी’ लेखेका छन् ।

न्यौपानेका दुई कृति प्रकाशनको तयारी अवस्थामा पुगे पनि पाठकमाझ आउन सकेका छैनन् ।

पुरुषका तर्फबाट पारपाचुकेको पहल गर्दा हुने कानुनी झन्झट र तनावका कारण अमरका कृति पाठकमाझ आउन नसकेको उनका निकट व्यक्तिहरुको बुझाइ छ ।

नेपालका चर्चित र बेस्ट सेलर लेखक अमरसँग अनलाइनखबरले उनको असफल विवाहको सेरोफेरोमा रहेर कुराकानी गर्ने प्रयास गरेको थियो । सार्वजनिक जीवनमा अत्यन्त लजालु अमरले आफ्नो असफल विवाहको कथा व्यक्तिगत भएकाले त्यस विषयमा कुरा गर्न अस्वीकार गरे ।

यद्यपि कुराकानीका क्रममा उनले केही यस्ता संकेत पनि दिए, जसले उनको प्रेम, विवाह र यौनसम्बन्धी धारणाहरु स्पष्ट हुन्छन् । 

०७५ सालको वैशाखमा विवाह गर्दै हुनुहुन्छ रे, हो ?

हा हा हा… तपाईंको प्रश्नले पनि होइन भन्यो नि । जब वाक्यमा ‘रे’ आउँछ, त्यसमा सत्यताको अंश हुँदैन । फेरि वैशाख आउन बाँकी छ, अहिले चैत हो ।

दुलही लुकाउनुभएको हो ?

होइन होइन । दुलही लुकाउन दुलही हुनुपर्‍यो नि । यी दुवै कुरा गलत हुन् ।

पहिलो विवाह असफल हुनुको अर्थ सबै विवाह असफल हुन्छ भन्ने डर हो ?

होइन । असफलताहरु त्यस्ता शिक्षक हुन्, जसले सफल हुने शिक्षा दिन्छन् । हरेक घटना चाहे त्यो राम्रो होस् या नराम्रो तिनले राम्रै पाठ सिकाएर जान्छन् । जीवनका हरेक घटना विश्वविद्यालयका कक्षाभन्दा महान् हुन्छन् । र कहिलेकाहीँ त ती एकदम कठोर शिक्षकभन्दा पनि कता हो कता निर्मम हुन्छन् । तिनले दिएको सजायँ ठ्याक्कै देखिँदैन । तर, दुखिरहन्छ । तिनले दिएको प्रेमले त्यो दुखेको ठाउँमा मल्हम पनि लगाइदिन्छ ।

जहाँसम्म म तपाईंलाई चिन्छु, विवाहका बारेमा तपाईंका धारणा निराशावादी सुनिन्छ, किन होला ?

निराशा र आशा भनेका दिन र रातजस्तै हुन् । तिनलाई न रोक्न सकिन्छ, न बाँधिराख्न । सूर्य र पृथ्वीझैं घुमिरहन्छन् ।

धरतीमा मात्र होइन, जीवनमा पनि दिन र रात चलिरहन्छन् । आशा र निराशा घुमिरहन्छन् । रात पनि त कहाँ रात मात्र हो र ? उज्यालोको जननी पनि हो । त्यसैले निराश भएका बेला म आमासँग छु, भन्ठान्छु । आशाले भरिएका बेला मसँग मै छु भन्ठान्छु ।

जीवनमा पहिलोपल्ट महिला र पुरुष विवाह गर्छन् भन्ने कहिले थाहा पाउनुभयो ?

ठ्याक्कै मिति याद छैन । तर, सानो छँदा आफूजत्रै केटीसाथीसँग दुलहादुलही भएर खेलेको सम्झन्छु । न जिम्मेवारी न कर्तव्य । खाली खेल मात्र; मायैमायाले भरिएको । बाआमाको नक्कल गरेर हामी एकैछिनलाई रमाइलो गथ्र्यौं । दिदी गोठालो जाँदा दिदी र उनका साथीहरु मिलेर मलाई दुलहा र दिदीकी साथीकी बहिनीलाई दुलही बनाएर बिहे गराइदिएको, हाम्रा जन्तीहरु थुप्रै गोठालाहरु भएको र पातमा माटोको भतेर चिउँडोमा छुवाएर खाएको र अघाएको पनि सम्झन्छु ।

सायद त्यही बेला अलिअलि अनुभव भयो । गाउँघरमा बिहे हुँदा बजा बजाएको सुन्न र नाचेको हेर्न जान्थें । नयाँ दुलहादुलही हेर्न भीडमा कोचिएर अगाडि पुग्थें । सानो भएकाले भित्रभित्रै भीड छिचोल्न सजिलो हुन्थ्यो । राजारानीपछि सबैभन्दा राम्रा दुलहादुलही हुन्छन् जस्तो लाग्थ्यो । दुलहीले लगाएका महंगा गहना र वस्त्र अनि सितारा जडेको घुम्टो ओढेको हेरेको हे¥यै हुन्थें । दुलहाले लगाएको सुट र कालो चस्माले मेरा आँखा टिप्थे ।

खेल्दा हामीसँग त्यस्ता महंगा वस्त्र, गहना, चस्मा नभए पनि कुनै चिजलाई थपना गरेर मान्थ्यौंं, जसरी माटोलाई भतेर मान्थ्यौं । ठूलाहरुले पनि त कुशलाई गाई बनाएर पूजा गरेका हुन्छन्, हामी सानाले माटोलाई भतेर बनायौं ।

कुन जोडी देख्दा तपाईंलाई विवाह त गर्नैपर्ने कुरा हो भनेर आशावादी हुन मन लाग्छ ?

थुप्रै जोडी देखेको छु, विशेषगरी गाउँघरतिर, माया गर्छु नभनेरै माया गरिरहेका हुन्छन् । जीवनभरि साथ दिन्छु भनेर कसम नखाएरै साथ दिइरहेका हुन्छन् । गाउँमा निराशाभन्दा आशा धेरै हुन्छ; शहरमा आशाभन्दा निराशा धेरै हुन्छ ।

एउटा जोडी सफल हुनमा पुरुषको दायित्व के हुनुपर्छ र महिलाको भूमिका के हुनुपर्छ ?

सफल जोडी कसरी बन्ने भन्ने बारेमा ठूला कुरा गरेर सफल जोडी भइँदैन कि ? परेवाका जोडी त्यस्तो कुरै नगरेर त्यति सफल जोडी छन् ।

मुख्य कुरा भनेकै दुवैको जीवनको गीत र सङ्गीत मिल्नुपर्छ । एउटाको सङ्गीतमा अर्कोको गीत मिल्नुपर्छ, अर्कोको गीतमा एउटाको नृत्य मिल्नुपर्छ । इन्द्रबहादुर राईले खीर कथामा भनेका छन् नि, जीवन यसरी पो बाँच्नुपर्ने, उसरी पो बाँच्नुपर्ने भन्छौं । तर, साँच्चैमा जीवन बाँच्दै जाँदा भत्किँदै बन्दै र बन्दै भत्किँदै जान्छ अनि सकिन्छ । जीवनलाई न सम्पादन गर्न मिल्छ, न प्रुफरिडिङ । यसलाई बाँच्न मात्र सकिन्छ ।

प्रेमले पुरुषको दायित्व र महिलाको भूमिकालाई तरल बनाइदिन्छ । तरल भएपछि दुवै घोलिन्छन् । यसैलाई मिल्नु भनिन्छ कि भन्ठान्छु ।

मानिसको जीवनमा विवाह आवश्यक वस्तु हो ?

विवाह त पछि मानिसले बनाएको सामाजिक संस्था हो । तर, जैविक आवश्यकता भएकाले सेक्स आवश्यक छ । पछि मानवसभ्यता विकास भएसँगसँगै विवाह पनि आवश्यक भएर आयो, तर अनिवार्य छैन ।

सभ्यता हुर्काउँदै जाँदा मानिस सामाजिक प्राणी भयो, पारिवारिक प्राणी भयो । त्यसैले अपवाद छोडेर सामाजिक हुन त नभनौं, पारिवारिक हुन विवाह आवश्यक छ । वर पनि त एक्लै बाँच्छ, पीपल पनि बाँच्छ । दुबै एकै ठाउँमा दायाँवायाँ भएर बाँचेको अझ सुन्दर देखिन्छ र हुन्छ ।

के प्रेम भएकैसँग विवाह हुनु जरुरी छ ?

जरुरी यो थियो । यो थिएन भन्नुभन्दा पनि जीवन बाँच्दै जाँदा परिस्थिति र मनस्थितिको चेपबाट जीवन बग्दै रहन्छ । कहिले जरुरी नभएका कुरा पनि हुन्छन्; कहिले जरुरी भएका कुरा पनि हुँदैनन् । भए राम्रो । नभए जीवन स्थिर भएर बस्दैन । चेपैचेपबाट अफ्ठ्यारो खेपेर पनि बगिरहन्छ ।

विवाह र प्रेमलाई किन एकठाउँमा मिसाइएको होला ?

विवाहभन्दा प्रेम जेठो छ । मानव सभ्यता विकास हुँदै पारिवारिक हुन थालेपछि प्रेमको घरमा विवाह पाहुना आउन थाल्यो र जिन्दगीभर हक जमाएर बस्न थाल्यो (सधैं सबैको जीवनमा नबस्न पनि सक्छ) ।

प्रेमको घरमा विवाह आएर शिक्षकजस्तो भई सहकार्य, सहवास, सहयात्रा, सहभाव, विश्वासजस्ता कुरा सकाउन थाल्यो । कतिपय यस्ता पाठ प्रेमलाई भारी हुन्छन् । प्रेम त प्रेमले मात्र पनि चल्छ, तर विवाह प्रेमले मात्र पनि चल्दैन, त्यहाँ कर्तव्य, पारिवारिक तथा सामाजिक जिम्मेवारी र आपसी समझदारी पनि जोडिएको हुन्छ ।

प्रेम, विवाह र यौनलाई एक ठाउँमा नमिसाइएको भए यो समाजको अवस्था कस्तो हुन्थ्यो होला ?

समाजलाई एक्स रे गरेर हेर्ने र बुझ्ने हो भने विवाह र यौन नभएका प्रेमहरु पनि छन्; प्रेम र यौन नभएका विवाहहरु पनि छन्; प्रेम र विवाह नभएका यौनहरु पनि छन् ।

तर, पूरै समाज प्रेम, विवाह र यौन एकै ठाउँमा नमिसिएको हुनै सक्तैन । नमिसिएको भए समाज इँटा, गिटी, बालुवा, रड, सिमेन्ट, झ्याल, ढोका नजोडिएको घरजस्तै हुन्थ्यो होला ।

तपाईं सर्वशक्तिमान भएको भए आजको सामाजिक संरचना कस्तो बनाउनुहुन्थ्यो ?

हा हा हा… यो त साह्रै हाइपोथेटिक कुरा भयो । म धुलोको कण हुँ । अघि माथि खीर कथाको उदाहरण यहाँ पनि सान्दर्भिक छ । मानिस मानिसले बनाएको देश, राजनीति, धर्म, कानुन, इज्जत, संस्कार, संस्कृति आदिका नामहरुको बन्धनमा बाँधिएको छ ।

आज मात्र समाचार पढ्दै थिएँ, लोप हुन लागें भनेर कहाँकहाँबाट खोजेर यहाँ ल्याइएका नेपालका केही गिद्धहरु उड्दैउड्दै भारतको हिमाञ्चल प्रदेश हुँदै पाकिस्तानसम्म पुगे रे, जोडी र खाद्यान्नको खोजीमा । उनीहरु संसारको जुनसुकै देशमा पुग्न सक्छन् । उनीहरुमा देश, धर्म, कानुन, राजनीति, नैतिकता, इज्जत आदिका बन्धन छैनन् । उनीहरुलाई मन्दिर, मस्जिद, चर्च र गुम्बा सबै उस्तै लाग्छ । उनीहरुलाई पूरै पृथ्वी आफ्नो हो जस्तो लाग्छ ।

तर, हामीलाई राष्ट्रियताको हिसाबले नेपाल आफ्नो लाग्छ, नेपालमा पनि जिल्ला, जिल्लामा पनि नगर या गाउँ, नगर या गाउँमा पनि आफ्नो घर मात्र आफ्नो जस्तो लाग्छ । किनभने आफ्नो घरले ओगटेको जग्गाको लालपूर्जा आफूसँग छ । हामीसँग नागरिकता र पासपोर्ट छ । यो बुझेर पनि संन्यासीले समेत यी बन्धनबाट मुक्ति पाउँदैन । यसलाई सन्तुलित ढङ्गले प्रयोग गरेर जिउनुपर्छ । प्रत्येक मानिस अलग अलग छ ।

प्रत्येक व्यक्तिको व्यक्तिगत स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण कुरा हो । सँगसँगै आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको व्यक्तिगत स्वतन्त्रतालाई बाधा नपु¥याउनु पनि उत्तिकै महत्वपूर्ण छ ।

आजको समाजमा जति कुरा बिग्रेको देख्नुहुन्छ ? त्यसमा महिलाको हात कति प्रतिशत छ ?

महिला पुरुषको हातभन्दा पनि मानिसको हात छ भनौं कि ? परिवारमा होस् या शासनसत्तामा, प्रायः पुरुषकै नेतृत्व देखिन्छ । तर परिवारमा भने महिलाको निर्णय र स्वीकृतिबिना पुरुषले पनि केही गर्न सक्तैन । गरिहालेमा पनि उसले ठूलै मूल्य चुकाउनुपर्छ ।

यो प्रश्नलाई अलिकति पल्टाऔं । समाज आज जस्तो छ, त्यसमा पुरुषको हात कति प्रतिशत छ ?

बनाउनुमा होस् या बिगार्नुमा दुवैको हात छ । बाहिरबाट हेर्दा पुरुषको धेरै देखिन्छ । तर, घरपरिवारमा त महिलाको हात पनि ठूलै हुन्छ । समाजमा बिग्रेको भन्दा सप्रेको कुरा धेरै छ । त्यसमा पनि दुवैको हात छ ।

यसलाई पैसा र पदले आजको समाजलाई प्राकृतिक रुपमा रहन नदिएको भन्न मिल्छ ?

पद र पैसाको सदुपयोग गर्दा नै समाज समृद्ध बन्छ र बन्दै गएको पनि छ । संसारभरिको अर्थतन्त्रलाई चलायमान बनाएको छ । बिग्रेको त पद र पैसालाई दुरुपयोग गर्दा हो ।

पहिलो प्रेम भन्नेवित्तिकै आँखामा कसको अनुहार आउँछ ?

अनौठो के भने, मेरो जीवनमा जुन स्त्री–पुरुष टाइपको प्रेम नै भएन । जुनबेला म पुरुष, उनी स्त्री भन्ने कुरा थाहा थिएन, त्योबेला लाज हुँदैनथ्यो । मज्जाले खेलिन्थ्यो । जुनबेला म पुरुष र छेउकी केटी स्त्री भन्ने महसुस भयो, लाज लाग्न थाल्यो । त्यसयता मेरो जीवनामा प्रेम हुर्कनै पाएन । म असाध्यै लाजालु मान्छे हुँ । र, प्रेम हुन सायद यसले बाधा पुर्‍यायो ।

पहिलोपल्ट आकर्षित गरेकी युवतीसँग विवाह भएको भए तपाईंले माथि राख्नुभएका दृष्टिकोण परिवर्तन हुन्थे कि यस्तै रहन्थे ?

यस विषयमा कल्पनै गरेको छैन । कल्पना नगरेपछि दृष्टिकोण बन्ने कुरा नै भएन । सायद त्यो प्रेममा प्रेमबाहेक केही थिएन । त्यो प्रेमले विवाह, कर्तव्य, सामाजिकता, जिम्मेवारी जस्ता कुराको कल्पना गरेको थिएन । त्यो प्रेममा दृष्टिकोण र विचार केही थिएन ।

वैवाहिक जीवनसँग सम्बन्धित तपाईंका कटू अनुभव छन्, ती अनुभव समाजले के भन्ला भनेर लुकाउने गर्नुभएको छ । यसो गर्दा पाठकमाथि अन्याय भएन ?

सबैको व्यक्तिगत जीवन र त्यो जीवन बाँच्ने स्वतन्त्रता हुन्छ । स्वतन्त्रतामा गोपनियता, इमान्दारिता, आदर र इज्जत जोडिएको हुन्छ, (हाम्रै समाजले बनाएको) । बरु, भन्दाखेरि पाठकलाई अन्याय हुन सक्छ । कसैको व्यक्तिगत जीवनमा असर पर्न सक्छ ।

संसारमा कसैले पनि आफूलाई सम्पूर्ण रुपमा पोख्न सक्तैन । पोखेजस्तो देखिए पनि शब्द र समाजका सीमाहरुले ती अपूरा र अधुरा हुन्छन् ।

अन्त्यमा पुनः सोध्न चाहन्छु, विवाह कहिले गर्दै हुनुहुन्छ ?

घरमा बा–आमा मात्र हुनुहुन्छ । म एक्लो छोरो । दिदी धेरैअघि विवाह गरेर गैसक्नु भयो । स्वभाविक रुपमा उमेर नढल्कदै मेरा परिवार र शुभचिन्तकहरु मेरो विवाह होस् भन्ने चाहनुहुन्छ ।

प्रेम हुन नसकेको एउटा विवाहबाट बल्ल स्वतन्त्र भएको छु । इमान्दारिताका साथ भन्न सक्छु, अहिल्यै विवाह गर्ने कुनै योजना छैन । विवाह गर्ने भइएछ भने तपाईंको टिमलाई पनि खबर गरौंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?