+
+

भूमेस्थानमा पूजा गर्दै उँभौली पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ६:१८
फाइल फोटो

१० जेठ, काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ ।

बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?