+
+

छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान

रासस रासस
२०७४ चैत २४ गते १२:५३

२४ चैत, काँकडभिट्टा । मेचीनगर–६ का ८६ वर्षीय रुद्रप्रसाद पौडेलको शुक्रबार निधन भयो । तर उनको आँखाले भने अरु कैयन वर्षसम्म यो सुन्दर धरती हेरिरहन पाउने भएको छ ।

अज्ञात दृष्टिविहीनलाई नयाँ दृष्टि दिने उद्देश्यले झापामा पहिलोपटक मृतक रुद्रप्रसादको आँखाको कर्निया (नानी) संकलन गरिएको हुँदा उनको आँखाले मरणोप्रान्त समेत संसार हेरिरहने सौभाग्य पाउने भएको हो ।

झापामा आँखा दान गरेका व्यक्तिको मरणोप्रान्त आँखाको नानी संकलन गर्ने कार्य शुरु भएको छ । दृष्टि गुमाएका कुनै व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिन्छ ।

झापामै यो नयाँ कार्यमा सहभागी बन्ने पहिलो सौभाग्य पाए रुद्रप्रसाद पौडेलले । दान गरिएको आँखाको नानी संकलन गर्ने पहिलो श्रेय पाएको छ–काँकरभिट्टाको मेची नेत्रालयले । पौडेलको शुक्रबार बिहान मृत्यु भएपश्चात उनका परिवारले काँकरभिट्टास्थित दुर्गाचन्द्र मेमोरियल ट्रस्टमा आँखाको नानी दान गर्न इच्छुक रहेको खबर पठाएका थिए ।

ट्रस्टले मेची नेत्रालयको प्राविधिक सहयोगमा दिवंगत पौडेलको आँखाको नानी सफलतापूर्वक संकलन गरेको ट्रस्टका अध्यक्ष तथा मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा शरदचन्द्र प्रकाश राईले जानकारी दिए ।

मृत्यु भइसकेका आफ्ना बुबाको आँखाले अरु दृष्टिविहीनले संसार देख्नसक्ने कुरा बुझेर पौडेलका छोराछोरीले आँखाको नानी निकाल्न सहमति जनाएको मेची नेत्रालयका कर्मचारी तथा दुर्गाचन्द्र मेमोरियल ट्रस्टका सहसचिव जयप्रसाद पोख्रेलले बताए ।

परिवारका सदस्यको इच्छाअनुसार नै दाह संस्कारस्थल मेची खोलामा नै मृतक पौडेलको दुबै आँखाको बाहिरी भागको पातलो झिल्ली अर्थात नानी निकालिएको थियो । मेची नेत्रालयका आँखा बैंक प्राविधिक योगराज खत्री र मिलन खत्रीसहितको प्राविधिक टोलीले पौडेलको आँखाको नानी निकालेको थियो ।

मृतकको आँखाको नानीलाई विशेष प्रकारको रसायनमा राखेर महिनौं दिनसम्म सुरक्षित गर्न सकिन्छ । तर शनिबार पौडेलको आँखाको नानीलाई काठमाडाँैको तीलगंगा आँखा अस्पतालस्थित नेपाल आँखा बैंकमा पठाइने मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा राईले जानकारी दिए ।

डा राईका अनुसार आँखासँगै मृतकको शरीरबाट दुई मिलिलिटर रगत समेत निकालिएको र उक्त रगत र नानीको चेकजाँच गरेपछि मात्र उक्त नानी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने बताइएको छ ।

डा राईका अनुसार विशेष रुपमा चोट पटकका कारण आँखाको नानीमा समस्या आएर दृष्टि गुमाएकाका लागि आँखाको नानी प्रत्यारोपण गरिने छ । दृष्टि गुमाउने बढी हुने र त्यसको तुलनामा आँखा दान गर्ने व्यक्ति कम हुने भएकाले कर्नियाँको अत्याधिक माग छ । मृतकको आँखाबाट निकालिएको नानी खेर नजाने डा राईले बताए ।

दुर्गाचन्द्र मेमोरियल ट्रस्टमार्फत मेची नेत्रालयको प्राविधिक सहयोगमा आँखा दानको प्रक्रिया सञ्चालन भइरहेको र मृत्यु भएकाको कर्निया निकाल्ने काम समेत हुने भएकाले यस कार्यमा इच्छुकहरुले कुनै पनि बेला काँकरभिट्टास्थित मेची नेत्रालयमा सम्पर्क गर्न सकिने मेची नेत्रालयका प्रवधन्क नवराज प्रधान बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?