+
+

धेरै बजेट परेको विरोधमा वडा अध्यक्षले नै गरे वडा कार्यालयमा तालाबन्दी

शिवराज ढुंगाना शिवराज ढुंगाना
२०७४ चैत २५ गते १२:२६
फाइल फोटो

२५ चैत, अछाम । सडक निर्माणमा आफूले सिफारिस गरेको भन्दा बढी रकम गाउँपालिकाबाट भुक्तानी भएको विरोधमा बान्नीगढी-जयगढ गाउँपालिका ३ का वडाअध्यक्ष कुलबहादुर सेट्ठीले आफ्नै कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाको जयगढ-बेलपाटा-चापाधारा सडक योजनामा आफूले १२ लाख रकम निकासाको सिफारिस गरेकोमा गाउँपालिकाले १७ लाख भुक्तानी गरेको भन्दै कार्यालय बन्द गरेर प्राविधिक फाँटमा चाबी बुझाएको वडा अध्यक्ष सेट्ठीले जानकारी दिए ।

वडा कार्यालय बन्द भएपछि वडाका सबै प्रकारका कामकाजहरु रोकिएका छन् । अध्यक्ष सेट्ठीले वडा अध्यक्षको काम कर्तव्य र अधिकार क्षेत्र मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएको बताए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले वडा अध्यक्ष सेट्ठीलाई काम भए/नभएको हेर्न भने पनि रकम नै तोकेर सिफारिस गर्ने प्रावधान नरहेको टेलिफोनमा अनलाइनखबरलाई बताए ।

नेपालगञ्जमा उपचाररत गाउँपालिका अध्यक्ष खड्काले उनले असन्तुष्टीलाई प्रक्रियागत रुपमा नराखेर वडामा तालाबन्दी गरेर कर्मचारीलाइ चाबी बुझाउन नहुने बताए ।

वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयबाट वडावासीहरुले पाउने, सिफारिस, पञ्जिकरण लगायतका सेवा ठप्प भएका छन् । वडा परिषद्ले उक्त सडक निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

वडा कार्यालयमा तालाबन्दी गरेकोमा नेकपा माओवादी केन्द्र बान्नीगढी-जयगढ गाउँपालिका कमिटीले वडा अध्यक्षले जनमतको कदर गर्न नसकेको भन्दै गैरजिम्मेवारपूर्ण तरिकाले आफ्नो व्यक्तिगत स्वार्थका कारण वडाको काम रोकेको आरोप लगाएको छ ।

उक्त गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले गठबन्धन गरी जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?