Comments Add Comment

यी हुन् यस वर्षका फ्लप हिरो हिरोइन : जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं ।

पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष नेपाली चलचित्रहरु कमै चले । धेरै चलचित्र असफल हुँदा नाम चलेका कलाकार पनि फ्लपको भिडमा मिसिएका छन् । साथै पुराना पुस्ताका कलाकारलाई नयाँ पुस्ताकाले चुनौति दिन थालेका छन् ।

यहाँ हामीले यो सुचीमा यस वर्षका ८ फ्लप स्टारहरुलाई प्रस्तुत गरेका छौं, जसका चलचित्र दर्शकले हेरिदिएनन्ः

रेखा थापा

कुनै समय सिंगो चलचित्र नै बोक्ने क्षमता राख्दै आएकी नायिका रेखा थापा पछिल्लो समय ओझेल पर्दै आएकी छिन् । यो वर्ष त उनका लागि झनै बिर्सनलायक रह्यो ।

विगतमा रेखाले खेलेका बाहिरी ब्यानरका चलचित्र असफल भए पनि आफैले निर्माण गरेका चलचित्र राम्रै चल्ने गर्दथे । तर, यो बर्ष उनी आफ्नै ब्यानरमा पनि चलिनन् । रेखाले अभिनय गरेका ‘डायरी’ र ‘रुद्रपि्रया’ यो बर्ष रिलिज भए । तर, यी दुबै चलचित्रले पानी माग्न भ्याएनन् । रेखाको स्टारडम छ भनेर करोडौ लगानी गर्ने  निर्माता डुबे ।

यो बाहेक रेखाको यो बर्ष मिडियामा खासै चर्चा पनि भएन । बरु, राजनीतिमा पेन्डुलम बनेर उनी आक्कलझुक्कल चर्चामा रहिन् । अहिले रेखालाई कुनै फिल्मको अफर छैन । बरु आफैले अर्को फिल्म निर्माणको कुरा गरिरहेकी छिन् ।

निखिल उप्रेती

नेपाली चलचित्रमा ‘एक्सङ किङ’ को रुपमा चिनिएका निखिल उप्रेतिको नामै काफी हुन्थ्यो कुनै बला फिल्म चल्छ । तर, अहिले परिस्थिति बदलिएको छ ।

यो बर्ष निखिलका ४ चलचित्र रिलिज भए, तर चारैवटाले पैसा कमाउन सकेनन् । उनले, आफै निर्माण गरेको चलचित्र ‘रुद्र’ बक्स अफिसमा पछारियो ।  राजनीतिक बिषयवस्तु उठान गरिएको चलचित्र ‘संरक्षण’ र एक्सनप्रधान ‘पिजडा ब्याक अगेन’ असफल बने । अर्को चलचित्र ‘राधे’को व्यापार पनि अपेक्षित रहेन ।  यी चलचित्रबाट न त निखिलको अभिनयको चर्चा भयो न त एक्सनको । बक्स अफिसमा यी चलचित्र निरिह बने ।

निखिल यो बर्ष नै चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर’ निदेृशन गर्न तम्सिए । तर, विभिन्न लफडाका कारण यो चलचित्रको छायांकन पुरा हुन सकेको छैन ।

आर्यन सिग्देल

चकलेटी नायक आर्यन सिग्देलका  लागि पनि पछिल्लो केहि बर्षयता नेपाली चलचित्र फाप्न सकेको छैन । आर्यनको स्टारडम निरन्तर ओरालो लाग्दा यो बर्ष उनी नायिका रेखा थापाको साथमा हिट चलचित्र खोज्न अगाडि आए । रेखा र आर्यनले ८ बर्ष लामो दुश्मनीलाई मित्रतामा मात्र बदलेनन्, चलचित्रमा पनि साथै काम गरे । तर, चलचित्र ‘रुद्रपि्रया’ पूर्णरुपमा असफल भयो ।

यो चलचित्र असफल हुँदा आर्यनको स्टारडम सकिन लागेको चर्चा भयो । चलचित्र असफल भएपछि आर्यन आफै चलचित्र ‘कायरा’ निर्माणमा तम्सिएका छन् । यो चलचित्रमा उनले नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहलाई १० लाख पारिश्रमिकमा अनुवन्ध गरेको विषयले चर्चा पाएको थियो ।

 विपिन कार्की

नेपाली चलचित्रमा पछिल्लो समय अत्यधिक चर्चा हुने अभिनेता हुन् विपिन कार्की । प्रत्येक फिल्ममा फरक खालको अभिनय र प्रस्तुतिका कारण उनलाई उम्दा कलाकारको रुपमा लिइन्छ । गत वर्ष उनले अभिनय गरेको फिल्म जात्रा सुपर हिट भएको थियो ।

‘जात्रा’का कारण हाइहाइ भएका कमाएका अभिनेता यो बर्ष भने व्यापारिकरुपमा चिप्लिए । विपिनको अभिनयको उत्कृष्टता कायमै रहे पनि उनका फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन् । यो बर्ष विपिनलाई नै मुख्य भूमिकामा लिएर चलचित्र ‘नाका’ र ‘लालपूर्जा’ रिलिज भए । तर, दुबै चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिए । मल्टि प्लेक्समा उनको नामले दर्शकहरु तानिने स्थिति भए पनि सिंगल हलका दर्शकहरुमा उनको स्टारडम अझै बन्न सकेको छैन ।

ऋचा शर्मा

थुप्रै स्मरणीय चलचित्रहरुमा अभिनय गरेकी नायिका ऋचा शर्मा यो बर्ष भने असफल नायिकाको सूचीमा परेकी छिन् । उनले, अभिनय गरेको चलचित्र ‘आधा लभ’ यो बर्ष रिलिज भयो । यो चलचित्रमा नर्मात्री पनि उनी आफै थिइन् । तर, चलचित्र नराम्रोसँग चिप्लियो ।

यस्तै, उनी चलचित्र ‘फिर्के’मा विशेष भूमिकामा देखिइन् । ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर पनि निराश बने । ऋचा शर्माको अभिनयको तारिफ हुनेगर्छ । तर, उनी हलमा दर्शक तान्न नसक्ने नायिकाको रुपमा चित्रित छिन् । बरु, यो बर्ष नै उनले अष्ट्रेलिया पुगेर चलचित्र ‘सुनकेशरी’ निर्माण गरेकी छिन्, जुन अर्को वर्ष रिलिज हुँदैछ । साथै कोहलपुर एक्सप्रेसको ट्रेलरबाट पनि उनले चर्चा पाइरहेकी छिन् ।

 खगेन्द्र लामिछाने

थोरै तर, स्तरीय फिल्म खेल्न रुचाउने अभिनेता हुन् खगेन्द्र लामिछाने । उनको चलचित्र भन्ने वित्तिकै दर्शकमा एउटा आशा हुन्छ । तर, प्रत्येक चलचित्रमा उनको एउटै शैलीले गर्दा दर्शक निराश बन्दै गइरहेका छन् ।

यो बर्ष कलाकार खगेन्द्र अभिनित एउटा मात्र चलचित्र ‘धनपति’ रिलिज भयो । प्रदर्शन अघिसम्म यो चलचित्रले ठूलो हाइप बनाएका थियो । तर, पशुपति प्रसाद र टलकजंग भर्सेस टुल्के जस्ता चलचित्र हेरेर धनपतिमा तानिएका दर्शकहरु निराश बने । चलचित्रले समिक्षा मिश्रति पायो भने व्यापार कमजोर गर्‍यो । यो खगेन्द्रका लागि ठूलो धक्का हो । उनी अब ‘डमरुको डण्डीबियो’ लिएर चाँडै दर्शकमाझ आउँदैछन् । यो फिल्मको ट्रेलरले भने राम्रो प्रशंसा बटुलिरहेको छ ।

नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठको स्टारडम पनि खस्किएको छ । ‘छड्के’, ‘मौन’, ‘क्लासिक’ जस्ता थुप्रै चलचित्रमा दमदार अभिनय गरेर तारिफ कमाएकी नम्रता यो वर्ष असफल रहिन् । गत वर्ष आयोजना भएको सम्पूर्ण अवार्डमा आफ्नो अभिनयका कारण एकलौटी बर्चस्व कायम गरेकी नम्रता यो बर्ष चलचित्र ‘पर्व’ मार्फत दर्शकमाझ आइन् । यो चलचित्रले बक्स अफिसमा खासै कमाई गरेन । साथमा, नम्रताको अभिनयको पनि त्यती साह्रो चर्चा भएन । चलचित्र नचलेपछि मिडिया र दर्शकबाट हराएकी नम्रता बर्षभरि नै ओझेलमा रहिन् ।

यो बर्ष असफल बनेका कलाकारले अर्को बर्ष अझ मिहिनेतका साथ काम गर्न आवश्यक छ । किनकी, चलचित्र क्षेत्रमा पुस्ता हस्तान्तरण निकै चाडो भैरहेको छ ।

वर्षा शिवाकोटी

नायिका वर्षा शिवाकोटीका लागि पनि यो बर्ष सुखद बनेन । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘कारखाना’ रिलिज भयो, जुन बक्स अफिसमा नराम्रोसँग पिटियो । यो चलचित्रको प्रचारका लागि नायिका शिवाकोटीले खुबै दौडधुप गरेपनि काम लागेन ।

यो बाहेक उनका अन्य कुनै पनि चलचित्र रिलिज भएनन् । उनले यो बर्ष चलचित्र ‘रानी महल’का लागि लामै समय कुरिन्, तर चलचित्र घोषणा भएपछि छाडिन् । चलचित्र क्षेत्रमा उनले अझै पनि आफ्नै स्टारडम बनाउन सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment