+
+
Shares

पार्टी नेतृत्वसामू माओवादी मन्त्रीहरुको गुनासोः सचिव सरुवाको पत्तै पाइएन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २६ गते ११:३५
वर्तमान सरकारमा माओवादीको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गरेका छन् ।

२६ चैत, काठमाडौं । नेकपा माओवादीबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू सचिव सरुवाबारे पत्तै नपाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका ३० सचिवहरुको सरुवा गरेका थिए ।

सोमबार अध्यक्ष प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका छन् । ब्रिफिङ सकेर संगठन संरचना निर्माणमा जुटेको र बजेटको सिलिङ आएकाले त्यसमा पनि काम थालेको उनीहरुले रिपोर्टिङ गरेका छन् ।

‘परिणाम देखिने बेला भएको छैन । तर, सकारात्मक छ भन्ने मन्त्रीहरुको ब्रिफिङ छ,’ एक नेताले भनेका छन् ।

तर, मन्त्रीहरुले पछिल्लो पटक सचिव सरुवा गर्दा आफूहरुलाई थाहै नदिइएको गुनासो नेतृत्वसामू गरेका छन् । ‘मन्त्रीहरुले पनि थाहा पाउनु भएन भन्ने छ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘मन्त्रिपरिषदमा छलफल गर्ने विषय हो । राजनीतिक रुपमा पनि पार्टी एकतामा जाँदै गरेको दुई पार्टी भएकाले परामर्श गरेर जाँदा राम्रो हुन्छ भन्ने हो ।’

गठबन्धन सरकार भएको भन्दै मन्त्रीहरुले प्रधानमन्त्रीय प्रणाली भएपनि सामूहिक नेतृत्वबाट चल्नुपर्नेमा जोड दिएका थिए । ‘भोलि जिम्मेवारी हामीले लिनुपर्छ,’ मन्त्रीहरुले भनेका छन्,’ एक नेताले भने, ‘यसबारे मन्त्रीहरुले प्रधानमन्त्रीसँग कुरा गर्छौं र नेतृत्वले पनि कुरा गरोस् भनेका छन् ।’

पार्टी अध्यक्ष प्रचण्डले भने पार्टीका मन्त्रीहरुलाई परीणाम ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

छलफलपछि माओवादी प्रवक्ता भुसालले सरकारका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने र बजेटमा जनताका आकांक्षा कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?