Comments Add Comment

नेपाली जीतुले दिलाए भारतलाई स्वर्ण

२६ चैत, काठमाडौं । निशानेबाज जीतु राईले अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ रेकर्डका साथ स्वर्णपदक जितेका छन् ।

जीतु नेपालको संखुवासभाका बासिन्दा हुन् । भारतीय गोर्खा सैनिकमा भर्ती भएका उनी शुटिङ मार्फत् थुप्रै पदकहरु भारतलाई दिलाएका छन् । जीतु राई आजभोलि ‘पिस्तोल किंग’को रुपमा परिचित छन् ।

भारतलाई पछिल्लो स्वर्णपदक दिलाउने क्रममा जीतुले २३५ दशमलव १ अंकका साथ पहिलो स्थान हासिल गरे । भारतकै ओम मिठरवालले २१४ दशमलव ३ अंकका साथ कास्य पदक जिते । यस स्पर्धाको रजत पदक अस्ट्रेलियाको केरी बेलले हात पारे ।

जुन हातले निशानाबाजीमा उनले ठूलाठूला पदक जितेका छन्, १२ वर्षअघि तिनै हातले उनी नेपालको एक सानो गाउँमा मकै र आलु खेति गर्दथे । घर नजिकैको गोठमा रहेका भैंसी र बाख्रासँग उनका दिन बित्दथे ।

(यो पनि पढ्नुहोस् – बासीभात खाएर भैंसी र बाख्रा चराउँथे जीतु राई)

को हुन् जीतु ?

नेपालको संखुवासभामा जन्मिएका जीतुका बुवा भारतीय सैनिकमा जागिरे थिए जसले चीन र पाकिस्तानविरुद्ध ठूला ठूला लडाइँमा भाग लिएका थिए । २० वर्षको उमेरमा जीतु पनि भारतीय सैनिकमा भर्ती भए ।

कुुरा सन् २००६-२००७ तिरको हो, वास्तवमा उनी वि्रटिश सेनामा भर्ना हुन चाहन्थे । तर गाउँमा भारतीय गोर्खा सैनिक भर्ना खुलेका बेला उनले निवेदन दिए र छनोट पनि भए ।

लखनउको एक सैन्य अड्डामा रहेका जीतुलाई शुटिङ खेलप्रति रुचि थिएन तर उनको निशाना निकै सटिक थियो । यो देखेर सैन्य अधिकारीहरुले जीतलाई मउको आर्मी मार्कमेन युनिटमा पठाए । तर नायब सुबेदार पदमा रहेका जीतु लगातार फेल भएको भन्दै फिर्ता गरियो ।

यहीँबाट जीतको जीवनकथामा बदलाव आयो । उनले निशानाबाजीमा कडा मेहनत गर्न शुरु गरे ।

भारतीय सेनामा रहेकै बेला सन् २०१३ मा जीतुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले र एक वर्षभित्रै उनी विश्वभर चिनिन थाले । जीतुले सन् २०१४ मा कमनवेल्थ गेम्समा ५० मिटर पेस्तोल वर्गमा स्वर्णपदक जिते । सन् २०१४ को एशियन गेममा पनि भारतलाई पहिलो स्वर्णपदक जीतुले नै दिलाएका थिए ।

सन् २०१४ मा नै जीतले शुटिङमा नौ दिनभित्र तीन वर्ल्ड कप मेडल जितेर रेकर्ड बनाएका थिए । जसमा १० मिटर एयर पेस्तोलमा स्वर्ण र ५० मिटर एयर पेस्तोलमा रजत सामेल छ ।

ओलम्पिक पदक जीतुको सपना

तर सबै कुरा सधैं सहज हुँदैन । सन् २०१६ मा ओलम्पिकमा पदक जित्न नसक्नु उनका लागि ‘लो प्वाइन्ट’ रह्यो किनकी ओलम्पिकमा पदक जित्ने उनको सपना थियो ।

तर सन् २०१८ मा जीतुले कमव्याक गरे । यसै वर्ष मेक्सिकोमा भएको वर्ल्ड कपमा जीतुले कास्य पदक जिते ।

यद्यपि धेरै वर्षसम्म जीतुको घर परिवारलाई थाहा थिएन कि उनी दुनियाँभर पदक जित्दै आएका छन् भन्ने कुरा । जब जीतुलाई ‘अर्जुन पुरस्कार’ मिल्यो र उनको आमा नयाँदिल्ली आएपछि थाहा भयो कि जीतु कति ठूलो खेलाडी बनिसकेको छ भनेर ।

कहिलेकाहिँ जब जीतु आफ्नो घर जान्छन् । उनको गाउँ पुग्न जीतुलाई धेरै दिन लाग्छ । पहिले दार्जिलिङमा बागडोगरासम्म उनी रेलमा जान्थे । गाउँसम्म पुग्न करिब दुई दिन लाग्छ । तर अब जीतु हवाइ जहाजबाट जान्छन् यद्यपि गाउँको घरमा पुग्न अझै पैदल हिँड्नुपर्छ ।

करिब चार वर्षअघि उनको गाउँमा बिजुली पुग्यो । त्यसअघि उज्यालो कसैले देखेका थिएनन् तर गाउँका जीतुले दुनियाँभर आफ्नो नामको रोशनी फैलाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment