+
+
Shares

कांग्रेस नेतृत्व विधिसम्मत नचले परिवर्तन गराएरै छोडिन्छ: प्रकाशमान

अनिल खत्री अनिल खत्री
२०७४ चैत २७ गते १०:२४

२७ चैत, तम्घास। सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।’

कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउनका लागि श्वेत पत्र जारी गरिएको उनले दोहोर्‍याए । नेता सिंहले मुलुकको आर्थिक बिकाससाग सम्बन्धित भएका कारण निजी क्षेत्र र सहकारी क्षेत्रलाई साथमा लिनु जरुरी रहेको बताए ।

‘अहिले आर्थिक अवस्था स्थिर छ,’ नेता सिंहले भने, ‘यो समयमा अरु कुरामा ध्यान नदिइ, पूर्वाधार बिकास, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रमा केही बढी मिहिनेत गरेे समृद्धिको सपना साकार हुनेमा कसैको पनि दुई मत छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निरन्तरताबाहेक अरु केही नभएको सिंहले टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भारत भ्रमण पहिले-पहिले पनि हुने गरेकाले यसलाई चमत्कारको रुपमा बुझ्न जरुरी छैन,’ सिंहले भने, ‘यसपटक भएका कुरा कार्यान्वयन गराउन सकेमात्र उपलब्धिमुलक मान्न सकिन्छ ।’

कांग्रेस विधिसम्मत चल्न नसक्दा र लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्न नसक्दा नै निर्वाचनमा हारेको भन्दै उनले अब व्यापक सुधारको आवश्यकता औंल्याए ।

‘कांग्रेसलाई विधिसम्मत चलाउन सकेमा र सुधार गर्दै जान सकेमा मात्र कम्युनिस्ट गठबन्धनसँग प्रतिस्पर्धामा जान सकिन्छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले दुई महिनामा गर्नुपर्ने पदाधिकारी नियुक्ति अब गरेमा बिधानबिपरित हुने भएकाले आफूहरुलाई स्वीकार्य नहुने उनले स्पष्ट पारे । बिधिसम्मत तरिकाले नचले नेतृत्व परिवर्तन गर्ने उनले दावी गरे ।

‘कांग्रेस पार्टी प्रजातान्त्रिक पार्टी भएकाले विधीसम्मत चल्नुपर्छ,’ उनले भने, ‘नेतृत्व विधीसम्मत नचले विधीसम्मत तरिकाले परिवर्तन गराएरै छोडिन्छ ।’

पार्टीमा सुधार होस् भनेर आफूले यी सब कुरा गरेको भन्दै उनले यसलाई विरोध गरेको भनेर नबुझ्न आग्रह गरे । पार्टीलाई ठीक बाटोमा ल्याउनको लागि आफूले प्रयास थालेको र त्यो सफल हुने उनले दावी गरे ।

पार्टी कार्यकर्ताहरुलाई निराश नभइ संगठन सुधारमा लाग्न उनले निर्देशन दिए । गुल्मी कांग्रेसले बैशाख १ गतेबाट सुरु गर्न लागेको ‘गाउँ जाऔं, गाउँमै रमाऔं,’ अभियानमा सक्रियतापूर्वक सहभागि हुन उनले सबै नेता-कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।

यसैबीच कांग्रेस नेता खुमबहादुर खड्काको १२ औं दिनको पुण्यतिथीमा कांग्रेस गुल्मीले पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा नेता सिंहसहितका नेताहरुले खड्काको योगदानबारे चर्चा गरेका थिए ।

यही चैत १६ गते भारतको नयाँदिल्लीमा उपचारको क्रममा खुमबहादुर खड्काको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?