Comments Add Comment

निर्माणाधीन विद्यालय भवनहरु अलपत्र

२७ चैत्र, डोटी । डोटी शिखर नगरपालिका-४, मुड्भरामा रहेको शारदा माबिमा दुई कोठे भवन निर्माण सुरु भएको चार वर्ष बित्यो ।

चार वर्षको अवधिमा जग हाल्ने र पिल्लर ठड्याउने बाहेक अरु कुनै काम भएको छैन । भवन कुन निकायबाट, कसरी निर्माण हुँदैछ भन्ने बारेमा विद्यालयलाई आधिकारिक जानकारी छैन ।

यस्तै के आईसिंह गाउँपालिका-४ वायलमा रहेको झिमेमालिका माबिमा ०७०/७१ देखि निर्माण सुरु भएको दुई कोठे भवनले पनि पूर्णता पाएको छैन । अधुरो उक्त भवन कसरी निर्माण हुन्छ भन्ने विषयमा विद्यालयलाई जानकारी छैन ।

वायल र मुड्भरा जस्तै जिल्लाका बिभिन्न विद्यालयहरुमा बन्दै गरेका भवनहरु पूर्ण हुने कुरामा स्थानीयवासीमा शंका बढ्न थालेको छ ।

जिल्ला प्राबिधिक कार्यालयबाट सम्झौता भइ निर्माण कार्य सुरु भएका यी भवनहरु राज्यको पुनरसंचनासँगै अलपत्र परेका छन् ।

साविकका गाउँ बिकास समितिहरुको पहलमा उपभोक्ता समिति गठन गरी काम सुरु भएका भवनहरु बजेट अभावका कारण पूर्णता पाउन सकेका छैनन् ।

‘म विद्यालयमा आउनु भन्दा अगाडीदेखि नै भवन निर्माण कार्य सुरु भएको थियो, म आएको पनि चार बर्ष पुग्न लाग्यो’ २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी शिक्षक भएर आएका झिमेमालिका माबि वायलका प्राचार्य नन्दराम पुन भन्छन् ‘कहिले दुई लाख, कहिले तीन लाख आउँछ, थोरै काम गर्‍यो, फेरी रोक्यो ।’

अब के हुने भन्ने बिषयमा फेरि अन्यौलता छाएको प्राचार्य पुन बताउँछन् । उनी भन्छन् ‘यो भवनको शीर्षकमा बजेट आएको छैन ।’

गाउँपािलका र जिल्ला प्राबिधिक कार्यालय दुवैमा बुझ्दा भवन निर्माणका लागि बजेट नआएको पुन बताउँछन ।

शारदा माबि मुड्भराका प्राचार्य लोकेन्द्र नायकलाई आफ्नै बिद्यालयको भवन कसरी बन्दैछ भन्ने कुरा जानकारी छैन । ‘गाविसको पहलमा उपभोक्ता समिति गठन भएर काम भइरहेको भन्ने सुनेको छु’ कुन निकायबाट हो, कति बजेट आउँछ भन्ने एकिन जानकारी छैन ।’

उनले पहिलो किस्ताका रुपमा दुई लाख पचास हजार रुपैयाँ आएको भन्ने मात्रै सुनेको तर कति रकम आयो र त्यसपछि अर्को किस्ता आयो कि आएन भन्ने कुनै जानकारी नभएको बताए ।

भवन निर्माणको बिषयमा बिद्यालय व्यवस्थापन समिति समेत अनविज्ञ रहेको छ । शारदा माबि मुड्भराका विद्यालय व्यवस्थापन समिति सदस्य सुदर्शन शर्मा भन्छन् ‘के कारणले निर्माण कार्य रोकिएको हो, यसको अनुमगन गर्ने निकाय को हो भन्ने वारेमा हामीलाई केही जानकारी छैन ।’

निर्माणकाधीन भवनहरुको अवस्था के हुने भन्नेवारे जिल्ला प्राबिधिक कार्यालय पनि अनबिज्ञ छ । ‘केही योजनाहरु शान्ति अन्तरगत र केही योजना पुनर्निमाण अन्तरगत छन’ प्राबिधिक कार्यालयका सव ईन्जिनियर लोक खड्का भन्छन् ‘कुन आधारमा बजेट निकासा हुन्छ भन्ने कुरा हामीलाई थाह हुँदैन, आएको बजेट अनुसार हामीले काम गराउने मात्रै हो ।’ उनले आफुलाई योजनाका बारेमा जानकारी नभएको बताउँदै लेखापालसंग सोधेर पछि जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment