Comments Add Comment

गोरखाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

फाइलसँगै कर्मचारी नपठाउँदा समस्या भएको जनप्रतिनिधीहरुको गुनासो

२९ चैत्र, गोरखा । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा मातहतका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण भएपनि कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको जनप्रतिनधिहरुले गुनासो गरेका छन् ।

यही चैत्र १२ गते कार्यालयले आफू मातहतका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

कार्यालयले संस्थाको फाइल दिएपनि कर्मचारी नदिदा समस्या भएको जनप्रतिनिधिहरुले बताएका हुन् ।

‘कर्मचारीसहित संस्थाहरु हस्तान्तरण गरेको भए हुन्थ्यो,’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘कर्मचारी नपठाउने तर कागज मात्र दिएर कार्यक्रम कसले गर्ने, यसरी त हस्तान्तरण अपुरो भयो ।’

कर्मचारी समायोजन हुने भने पनि कहिले हुने भन्नेमा अन्योल रहेको भन्दै स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा लापरवाही गर्न नहुने उनको भनाइ छ ।

स्वास्थ्य संस्था हस्तान्तरण भएसँगै कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता हुन थालेको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । ‘यस वर्षको बजेट गइसकेको छ, रकम कम छ, अब औषधिसँगै कर्मचारी कसरी व्यवस्थापन गर्ने ?,’ उनले प्रश्न गरे ।

कार्यालयले दरबन्दीमा रहेका कर्मचारीको सबै रेकर्ड हस्तान्तरण गरेपनि कर्मचारी नभएको उनको गुनासो छ । कर्मचारी व्यवस्थापन चुनौतीको विषय रहेको उनले बताए ।

गण्डकी गाउँपालिकामा भने कुनै समस्या नभएको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन् । ‘हामीले आठ वटै वडामा स्वास्थ्य इकाइ खोलेका छौ, आवश्यक कर्मचारी पनि राखिसकेका छौ, त्यसैले स्वास्थ्य क्षेत्रमा हामीलाई खासै समस्या छैन,’ उनले भनिन् ।

तर, अन्य गाउँपालिकामा भने समस्या रहेको जनप्रतिनिधिहरुले बताएका छन् । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा नगर क्षेत्रको तुलनामा गाउँपालिकामा बढी समस्या भएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment