Comments Add Comment

पार्टी एकता हुँदा को व्यक्ति कहाँ रहन्छ टुंगिएको छैन : रावल

'एकता समानताकै आधारमा'


२९ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले-माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले भने, ‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन ।’ रावलले संख्यात्मक रुपमा को व्यक्ति कहाँ रहन्छन् भन्ने विषयमा भने छलफल गर्न बाँकी नै रहेको बताए ।

‘संख्यात्मक दृष्टिकोणले को व्यक्ति कहाँ, कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ’ रावलले भने ‘तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केही पनि होइन भनेर एकता हुँदैन कहिल्यै पनि ।’

रावलले को व्यक्ति कहाँ रहने भन्नेबारेमा पार्टी एकता संयोजन समितिमा छलफल हुने बताए ।

उपाध्यक्ष रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भए पनि संस्थागत निर्णय नभएको जिकिर गरे ।

उनले भने, वैशाख ९ गते नै एकता घोषणा गर्ने भन्नेबारे पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी छ, त्यो निर्णय बमोजिम हामीले आ-आफ्नो पार्टीको उपल्लो निकाय केन्द्रीय कमिटिमा आएर छलफल गरेर अनुमोदन गर्ने प्रक्रिया पनि बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment