Comments Add Comment

फेसबुकलाई लिएर जुकरबर्ग नै अन्योलमा !

२९ चैत, काठमाडौं । फेसबुकका सीईओ मार्क जुकरबर्ग गएको सोमबार र मंगलबार अमेरिकन कंग्रेस सिनेटमा सुनुवाइका लागि पुगे । जहाँ फेसबुमाथि लागेको आरोपलाई लिएर उनको कडा आलोचना भयो ।

सुनुवाईको बेला गम्भीर देखिएका उनले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी मागे पनि सुनुवाईमा एउटै कुरा दोहोर्‍याए । उनले भने, ‘मेरो टिम छ, म तपाईंहरुलाई यसबारे बताउने छु ।’

सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । उनले ‘प्रयोगकताको रुची नभई कुनै कुरा नपुग्ने’ बताए पनि डिलिट भइसकेको सूचना बाहिरिनु र प्रयोगकर्ताको सम्पूर्ण व्यक्तिगत जानकारी तेस्रो पक्षले थाहा पाउनु निकै भयानक भएको कुरा बहसमा थियो ।

उनले फेसबुक प्रयोगकर्ताको डाटा सुरक्षित राख्न कुनै ठोस काम नभएको स्वीकारे । यसको लागि आफूहरु जिम्मेवार रहेको पनि बताए । ‘हामीले हाम्रो जिम्मेवारी राम्ररी निभाएनौं, जुन एकदमै ठूलो गल्ती हो’ उनले भने ।

केही विषयहरु यस्ता थिए, जसमा जुकरबर्गले उत्तर दिन चाहेनन् वा उनलाई त्यसबारे जानकारी नै थिएन । ‘तपाईको भर्चुअल दुनियाँमा कसको नियन्त्रण रहन्छ ?’ भन्ने प्रश्नमा जुकरबर्गले सबै कुरा प्रयोगकर्तामा निर्भर हुने बताएर पन्छिए ।

तपाईंको फेसबुकमा लगातार आइरहने जस्तो पनि विज्ञापनमा तपाईंको कन्ट्रोल रहदैन र त्यसलाई तपाईंले चाहेर हटाउन पनि सक्नुहुन्न ।

जस्तो सिनेटमा जुकरबर्गलाई बिल नेल्सनले सोधेका थिए, ‘म फेसबुकमा मेरो साथीसँग कुरा गरिरहेको थिएँ । मैले आफूलाई केही चकलेट मनपर्ने बताइरहेको थिएँ । त्यसको लगत्तै मैरो फेसबुकमा अनेक किसिमको चकलेटको विज्ञापन आउन थाल्यो । यदि मलाई त्यस्तो विज्ञापनसँग रुची नै छैन भने नि ? यो कसरी भयो ?’

जुकरबर्गले क्याम्बि्रज एनालिटिकामार्फत भइरहेको गलत कामको थप अनुसन्धान हुनुपर्ने बताए । ‘क्याम्बि्रज विश्वविद्यालयमार्फत के गलत भइरहेको हो त्यो राम्ररी बुझ्नुपर्छ, यदि हामीले केही कदम उठाएर त्यसमा रोक लगाउन सक्छौं भने यो अवस्थाबाट बाहिर निस्कन सकिनेछ’ उनले भने ।

झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग भएको हुन सक्ने आकँडा बाहिर आएको थियो । ८ करोड ७० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्बि्रज एनालिटिकाले अवैध रुपमा प्रयोग गरेको तथ्य बाहिरिएको थियो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्बि्रज एनालिटिकाले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको उनको भनाइ छ ।

फेसबुकमाथि प्रयोगकर्ताको जानकारीको सुरक्षा वा अरु विभिन्न विषयमा रहेर आरोप आएको यो पहिलो पटक भने होइन ।

तर, यसपटक जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि भएको आरोपले जुकरबर्ग बयानका लागि सिनेटसम्म पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment