+
+
Shares

पूर्व प्रहरी अधिकारीको सुरक्षार्थ खटिएका ३१५ प्रहरी फिर्ता बोलाइयो

'सुरक्षा बाहेकका प्रायोजनमा खटिएका प्रहरीलार्इ ७ दिनभित्र फिर्ता बाेलाउनू'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १४:५४

३० चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।

पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो ।

गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभई खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् ।

सशस्त्र प्रहरी बलका पनि करिब पाँच सय सुरक्षाकर्मी बहालवाला विशिष्ठ व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् ।

सुरक्षा बाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच, मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बललाई पनि निर्देशन दिएको छ ।

सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहेपनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् ।

बहालवाला अति विशिष्ठ एवम् पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भए भन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।

दुबै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिव लगायतका घरमा सहयोगीको रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?