Comments Add Comment

अनमोलका ४ यूवती फ्यान, जो भारतबाट भागेर नेपाल आए


केहि समय अगाडि नायक साहरुख खानलाई भेट्न भन्दै चीनबाट ४ जना चिनिया नागरिक भारतको बोर्डरमा आए । उनीहरुले भारतको बोर्डरमा सुरक्षाका लागि तैनाथ भारतीय जवानलाई साहरुख खानको फ्यान भएको र उनलाई भेट्न भारत जान लागेको बताएका थिए । बलिउडका कलाकारको यस्तो क्रेज गज्जबैले देखिन्छ ।

तर, यस्तो क्रेज अब नेपालमा पनि देख्न थालिएको छ । भारतको कालिङ्पोङ्गबाट ४ जना स्कुले किशोरीहरु नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाण्डौ आइपुगे ।

कालिङ्पोङ्गबाट नेपाल र भारतको सिमाना काँकडभिट्टामा आइपुगेका उनीहरु त्यहाँबाट गाडी चढेर कोटेश्वर आइपुगे । कोटेश्वर आइसकेपछि मात्र उनीहरुले आफ्नो परिवारलाई सम्पर्क गरेका थिए । परिवारले २ दिनदेखि आफ्ना बच्चाहरु हराएपछि कालिङ्गपोङ्गको एउटा संस्थालाई खबर गरेका थिए । त्यसपछि, त्यो संस्थाले काठमाण्डौको माइती नेपाललाई खबर गर्‍यो ।

माइती नेपालले ती ४ जना किशोरीलाई आज बिहान कोटेश्वरमा फेला पार्‍यो र आफ्नो संरक्षणमा राख्यो । माइती नेपालका निर्देशक विश्व खड्काले अनलाइनखबरसँग भने-‘हो, १४ देखि १६ बर्ष उमेरका ४ यूवती नायक अनमोल केसीलाई भेट्न भन्दै आएका रहेछन् । हामीले उनीहरुलाई कोटेश्वरमा फेला पार्‍यौ ।’

माइती नेपालको संरक्षणमा ती ४ यूवती पुगेपछि नायक अनमोल केसीका पिता भूवन केसीसँग माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले कुरा गरिन् । भूवनले अनलाइनखबरसँग भने-‘हामीले त्यो सुनेपछि अनमोल पनि फोटो खिचाउन तयार भएका थिए । तर, उनीहरुको बाबुआमा आएर लिएर गैसकेका रहेछन् ।’

नायक अनमोल केसीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई माया गर्ने फ्यानलाई धन्यवाद दिएका छन् । साथै, उनले चाडै नै ती ४ जना फ्यानलाई भेट्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment