+
+
Shares
भन्सारमा चरम बिकृति :

कात्रोको आडमा कालोबजारी, भन्सारमा आउन थाले ‘बेबी ब्रा’ !

रबिन्द्र घिमिरे रबिन्द्र घिमिरे
२०७५ वैशाख ४ गते १६:४०


४ बैशाख, काठमाडौं । सरकारले गरिबले प्रयोग गर्ने भन्दै सुती धागोमा भन्सार महशुल र कर छुट दिएको छ । सुती कपडा र धागो आयातकर्ताले १ प्रतिशत भन्सार शुल्क मात्रै तिरे पुग्छ ।

यसैकारण आयातकर्ता व्यवसायीले सबै किसिमका धागोलाई सुती भन्दै आयात गरिरहेको दावी धागो उद्योगीले गरेका छन् । अयातमा दिएको सुविधाको दुरुपयोगले सुती कपडामाथिको भन्सार नीति परिमार्जन गर्नुपर्ने अवस्था आएको छ ।

पछिल्लो सयममा विश्वबजारमा सुतीको धागो अन्यभन्दा महंगो भएको छ । कुनै बेला निम्न वर्गीयको कपडा भनिने सुती अब उच्च वर्गले मात्रै किन्न सक्ने भएको छ । बरु सेन्थेटिकको कपडा सुतीभन्दा सस्तो छ ।

त्यसैकारण सरकारले दिइरहेको भन्सार महशुल छुटको व्यवस्था अब पनि कायमै राख्न नहुने माग उद्योगीको छ । अहिले सुती धागोका नाममा सेन्थेटिक धागोको आयात उच्च रुपमा बढेको नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्याणले बताए ।

‘सेन्थेटिकको कपडा भन्दा सुतीको कपडा महंगो पर्छ । तर सरकारले सुतीलाई विशेष सुविधा दिँदा विकृति बढेको छ,’ उनले भने, ‘हामीले यसो भन्दा कात्रोमा पनि मूल्य बढाउन माग गरे भनिन्छ । तर, अहिले कात्रो पनि शुद्ध सुतीको आउँदैनन् । त्यसमा पनि सेन्थेटिक मिलाइएको हुन्छ ।’

उनले कात्रो (मान्छे मरेका बेला ओढाइने कपडा) को रुपमा आउने सुती कपडाबाहेकमा भन्सार महशुल र कर लगाउनुपर्ने माग गरे ।

उद्योग बचाउन माग

यस्तै धोगो उद्योगीहरुले अन्डरबिलिङ तथा चोरीपैठारी भएर कपडा र धागो आयात हुन नरोकिए आफूहरु पनि उद्योग बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले आफूहरुको १५ अर्ब लगानीको सुरक्षण नगरेको बताउँदै विदेशबाट आयात हुने कम भन्सार मूल्यको कपडा र धागोले लगानीलाई जोखिममा पारेको बताएका हुन् ।

अहिले नेपालमा ४ वटा मात्रै ठूला धागो उद्योग सञ्चालनमा छन् । यी कम्पनीले वार्षिक ५० हजार मेटि्रक टन उत्पादन क्षमता राख्छन् । तर, विविध कारणले ४० हजार मेटि्रक टनमात्रै उत्पादन गरिरहेका छन् ।

नेपाल धागो उद्योग संघका अध्यक्ष गोल्याण उद्योगमा विद्युत आपूर्ति नियमित भए यसलाई ६० हजार मेट्रिकटनसम्म पुर्‍याउन सकिने बताउँछन् ।

तर, सरकारले अहिले दिइरहेको निर्यात अनुदान एक प्रतिशतबाट १५ प्रतिशतमा पुर्‍याउनुपर्ने माग उद्योगीको छ । उनीहरुले कच्चा पर्दाथबाट धगो बनाउँदासम्म ५० प्रतिशत बढी लागत पर्ने भएकाले यो सुविधा दिनुपर्ने माग गरेका हुन् ।

विदेशबाट अन्डर बिलिङ भएर आउने धागोका कारण आफूहरुलाई स्वदेशी बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको गोल्याणको भनाइ छ ।

नेपालमा उत्पादन हुने धागोको प्रमुख बजार युरोपेली मुलुक टर्की हो । तर, टर्कीमा पनि निर्यातमा केही समस्या देखिएका छन् ।

उद्योगीले बंगलादेशले नेपालको धागो आयात राकेकाले समस्या भएको भन्दै त्यसलाई खुलाउने गरी पहल गर्न सरकारसँग माग गरेका छन् । बंगलादेशमा नेपाली धागोले प्रवेश पाए वर्षमा ५ अर्बभन्दा बढीको धागो निर्यात गर्न सकिने उद्योगी बताउँछन् ।

नेपाली उद्योगहरुले अहिले वर्षमा ३१ हजार टन धागो निर्यात गरिरहेका छन् । झण्डै ८ अर्बको धागो विदेश जाँदा त्यसले नेपालको कुल निर्यातको ११ प्रतिशत हिस्ससा ओगट्ने बताउँछन्, गोल्याण ।

तर, पछिल्लो सयमाम नेपालमा धागो आयात ह्वात्तै बढेको छ । त्यसका कारण आफूहरुलाई स्वदेशी बजारमा टिक्नै गाह्रो परेको गुनासो उद्योगीको छ । सन् २०१४मा नेपालमा ४ सय मेटि्रक टन मात्रै धागो आयात हुन्थ्यो, अहिले त्यो बढेर ११ हजार मेट्रिक टनमा पुगेको छ ।

उद्योगीकाअनुसार नेपालमा अहिले रहेका कपडा तथा गलैँचा उत्पादकले १५ सय मेटि्रक टनभन्दा बढी धागो खपत गर्ने क्षमता राख्दैनन् ।

‘तर, २०१७ को रेकर्डअनुसार आयातित ११ हजार मेट्रिक टन धागो कहाँ कसरी खपत भइरहेको छ ?’ गोल्याणले भने,’ नेपाल आउने धागो चोरी निकासी भइरहेको छ ।’

बेबी ब्रा पनि आउन थाले !

उद्योगीहरुले कपडाको आयातमा पनि चरम विकृति देखिन थालेको आरोप लगाए । तथ्यांकअनुसार अहिले नेपालमा वार्षिक झण्डै ४५ करोड मिटर कपडाको माग छ । कपडमा नेपाल लभगभ परनिर्भर नै बनेको छ । त्यसैकाराण विदेशबाट आउने कपडाले धै धानिएको छ, बजारको माग ।

ब्यापारीहरुले अहिले पनि कपडा आयात गर्दा न्युन बिजकीकरण गरिरहेका छन् । बेबी टिर्सट, बेबी पाइन्ट भन्दै कपडा भित्र्याउने गरेका छन् । जसले भन्सार मूल्यांकन सस्तो हुन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि सार्वजनिक कार्यक्रममै बजारमा आउने कपडा र स्टेशनरी भन्सारमा किन नदेखिएको भन्दै व्यवसायीलाई प्रश्न गरेका थिए । उद्योगीहरु भन्सारबाटै चोरी पैठारी हुँदा कपडा आयातमा विकृति देखिएको बताउँछन् ।

व्यवसायीले गलत विवरण पेश गरेर भन्सार छुटाउने क्रम झन-झन बढ्दो छ ।

‘बेबी टिर्सट, बेबी पाइन्ट भनेर अरु कपडा ल्याउनु त सामान्य भयो, अब त बेबी ब्रा भनेर पनि कपडा आयात हुन थालेछ, अचम्म छ । बच्चाले लगाउने ब्रा पनि हुन्छ ?’ अध्यक्ष गोल्याणले ब्यंग्य गरे,’त्यो कहाँ बिक्री हुन्छ ?’

‘तस्कर उद्येाग बन्द गर्ने भए’

उनले अहिले पनि भन्सारबाट साडीहरु २ सय रुपैयाँको मूल्य देखाउँदै २५ रुपैयाँ भन्सार तिरेर छुटिरहेको भन्दै यस्तो अवस्था कायम रहेसम्म स्वदशेमा उद्योगहरु नफस्टाउने दावी गरे ।

८ हजारको ज्याकेटको बिल ८ सयको देखाएर भन्सार डिक्लियर हुने समस्या नहटेसम्म स्वदेशी उत्पादन बढाउने अवस्था नहुने गोल्याणको भनाइ छ । त्यसले स्वदेशमा रोजगारी सिर्जना पनि हुन नदिने धागो उद्योगीहरुको तर्क छ ।

‘हामी एक कन्टेनर धागो ६० लाख रुपैयाँमा बेच्छौं,’ एक उद्योगीले प्रश्न गरे,’विदेशबाट आउने एक कन्टेनर कपडाले ६० लाखको मूल्य कहिले देखाएका छन् ? ५-७ लाखमा छुटायौं भनेर खुला रुपमै भन्छन् ।’

‘ट्रकका ट्रक अवैध कपडा भित्रिँदैछन् । यसलाई रोक्न सरकारले पनि खासै ध्यान दिएको छैन,’ अध्यक्ष गोल्याणले भने,’अवैध पैठारी हुनेमा सबैभन्दा बढी कपडा नै हो । यसले वर्षमा करिब ७० अर्ब राजश्व गुमेको छ । सरकारले याता ध्यान दिनुपर्छ ।’

यस्तो तस्करी बढ्दै गए उद्योग बन्द गर्नुको विकल्प नहुने व्यवसायीको भनाइ छ । व्यवसायीहरुले नेपालले एन्टी डम्पिङ र सेफ गार्ड ड्युटी नीति नलिएसम्म यस्ता समस्या कायमै नहरने व्यवसायीको भनाइ छ ।

‘चीन र भारतबाट कमसल र गुणस्तरहीन कपडाहरु नेपाल आउँदैछन्, सरकारले यसलाई रोक्न एन्टी डम्पिङ नीति लिनुपर्छ,’ अध्यक्ष गोल्याणले भने,’सस्ता र कमसल समान नेपाल आयात हुँदा उपभोक्ता मात्रै पीडित छैनन् । हामी उद्योगी पनि मारमा परेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?