Comments Add Comment

क्रिकेट संघको साधारणसभामा ‘अमेरिकी भूत’ !

६ वैशाख, काठमाडौं । विधान संशोधनका लागि नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा सुरु भएको छ । तर, विवाद समाधान हुने सम्भावना जति छ, झन् जेलिने खतरा पनि त्यतिनै छ ।

यदि विवाद समाधान भयो आईसीसीको आगामी जुलाईमा बस्ने बैठकले क्यानको निलम्बन फुकुवा गर्ने छ । तर, विवाद अझै बल्झियो भने नेपालको सदस्यता नै खारेज हुने स्थिति आउने छ र ‘अमेरिकी’ मोडल नेपालमाथि लादिन सक्छ ।

यदि विवाद समाधान हुन्छ भने नेपालमा रोकिएको क्रिकेटको गतिविधिले गति लिनेछ तर, बल्झियो भने नेपाल पाएको एकदिवसीय मान्यतालाई सदुपयोग गर्ने सम्भावना मात्र टर्ने छैन, नेपाली क्रिकेटको सम्पूर्ण लगाम आईसीसीको हातमा जानेछ ।

नेपाली क्रिकेट ‘दोबाटो’मा आइपुग्दा पनि क्रिकेट सम्वद्ध पक्षहरु भने दुई खेलामा छन् । र, दुवैलाई जसरी हुन्छ क्रिकेट संघको बागडोर आˆनो हातमा लिनुछ ।

दुई खेमा मध्येका एक हो, निर्वाचित क्यान । दोस्रो हो, निर्वाचित क्यान इतरको समूह ।

निर्वाचित क्यानका पदाधिकारीहरु जसरी हुन्छ विवाद सल्टाएर क्रिकेटको बागडोर आफ्नो हातमा कायमै राख्न चाहन्छ । तर, अर्को समूह उनीहरुलाई फेरि क्रिकेट संघको नेतृत्व देख्न चाहँदैनन्, कतिपय आफैं आउन पनि चाहन्छन् ।

यसका लागि उनीहरु कि त अहिले भएका जिल्ला संघको चुनाव समेत अबैध बनाएर आफू आउने र क्रिकेट संघ खारेज गर्ने अवस्था सिर्जना गरेर ‘अमेरिकी मोडल’ लागू गर्ने दाउमा रहेको क्यानको साधारणसभाका एक प्रतिनिधिले बताए ।

अमेरिकको क्रिकेट संघमा यहाँको जस्तै विवाद भएपछि आईसीसीले सदस्यता नै खारेज गर्‍यो र अहिले चाहेका व्यक्तिहरुको समूह बनाएर क्रिकेट चलाएको छ ।

निर्वाचित क्यानको साधारणसभामा भेटिएका एक प्रतिनिधिका अनुसार नेपालमा पनि त्यही मोडल लागू गराउने प्रयास भइरहेको छ । उनका अनुसार यसका लागि अहिले निर्वाचित क्यानका पदाधिकारीको भोटिङ राइट र उम्मेदवार हुने अधिकारीलाई विवाद बनाइयो भने कहिले जिल्ला संघहरुको चुनावको बैधता जाँच्ने मोनिटरिङ कमिटी गठनलाई अघि सारियो ।

अहिले भने क्रिकेट खेलाडीहरुले पनि क्रिकेट संघको सदस्य बन्न पाउनुपर्छ भन्ने मुद्दा बनाइएको छ ।

यस्ता मुद्दाहरुमा आईसीसीले भने कहिले मौन बस्ने त कहिले बन्द कोठामा सहमति गर्ने र, पछि अर्को समूहले मानेन भन्ने गरेको छ । साधारणसभाको उद्घाटन समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘अमर शेख यही हुनुहुन्छ, उहाँहरुसँग सहमति हालका केन्द्रीय सदस्य उम्मेदवार बन्न पाउने भनियो तर, पछि सल्लाहकार समूहले मानेन भनियो । अहिले पनि अर्को पक्ष खडा हुने त होइन ?’

के हो सदस्यता विवाद ?

विशेष साधारणसभामा १७ केन्द्रीय सदस्य र ३७ जिल्लाका प्रतिनिधि गरी ५४ प्रतिनिधि छन् ।

उनीहरुलाई हातहातमा विधान संशोधनको मस्यौदा थमाइएको छ । यसका अधिकांश विषयमा ठूलो विवाद छैन । क्यानका पदाधिकारीहरुले पनि हदैसम्म लचिलो हुने भन्दै सानातिना विषयमा विवाद नगर्न प्रतिनिधिलाई आग्रह गरेका छन् ।

यसका बाबजुद क्रिकेट खेलाडीको सदस्यता र अमेरिकी मोडलबारे भने धेरै बहस हुने देखिएको छ । प्रतिनिधिहरु पनि यसबारे नै कुराकानी गरिरहेका थिए ।

आईसीसीले नेपाली क्रिकेटमा सरकारी हस्ताक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेपछि विधानको मस्यौदा बनाउन गठन भएको सल्लाहकार समूहका कानुनी सल्लाहकार राजेश श्रेष्ठले बनाएको तेस्रो संशोधन मस्यौदामा क्रिकेट खेलाडीलाई क्रिकेट संघको सदस्य हुने बाटो खोल्ने प्रस्ताव गरिएको छ ।

यद्यपि विवाद समाधान हुन्छ भने यसलाई पनि पास गर्न तयार रहेको निर्वाचित क्यानाका पदाधिकारीहरु बताउँछन् । किनकी आईसीसीले विधान संशोधन प्रस्ताव ‘हुबह’ पारित गरे मात्र निलम्बन फुकुवा हुन सक्ने बताएको छ ।

तर, केही विषय नियतवस राखिएकाले विधान हुबहु संशोधन गर्ने अवस्था नरहेको एक प्रतिनिधिले बताए ।

विधान संशोधनको मस्यौदामा दोस्रो संशोधनअनुसार ३७ जिल्लामा भएको निर्वाचन विधिसम्वत भए नभएको हेर्न पाँच सदस्यीय अनुगमन समिति बनाउने व्यवस्था छ ।

त्यही समितिको क्षेत्राधिकार लेख्दा विधानको अंग्रेजी र नेपाली कपीमा फरक पारिएको भेटिएको छ ।

अंग्रेजी कपीमा अनुगमन समितिले वधानको दोस्रो संशोधन अनुसार सदस्यता वितरण तथा चुनाव नभएको भए पुनः चुनाव गराउन सक्ने भनिएको छ ।

तर, नेपाली कपीमा ‘तेस्रो संशोधन’ अनुसार भनिएको रहेछ । क्यानका एक प्रतिनिधिले भने, ‘हुँदै नभएको संशोधन, जसको मस्यौदा भर्खर हात परेको छ । त्यसअनुसार तीन महिना अघि भएको चुनावमा कसरी सदस्यता दिनु ?’

उनका अनुसार विशेष साधारणसभामा आएका धेरै प्रतिनिधि अन्यौलमा छन्, विधान संशोधन कसरी गर्ने ?

तेस्रो संशोधन हुबहु पारित गरौं, चुनाव भएका सबै जिल्लामा विवाद निकाल्ने खतरा छ । त्यसमा पनि मुख्य चासो काठमाडौं जिल्ला संघमा चुनाव गरेर अमुख व्यक्ति क्रिकेट संघमा ल्याउने भएको एक प्रतिनिधिले दाबी गरे ।

विधान हुबहु पास नगरौं, निलम्बन फुकुवा हुँदैन र अपजस आफैंमाथि आइलाग्छ । साथै विधान संशोधनलाई देखाएर अमेरिकी मोडल लागू गर्ने खतरा छ ।

अनौपचारिक कुराकानीमा निर्वाचित क्यानका पदाधिकारीहरु पनि यो आशंका रहेको बताउँछन् ।

त्यसैले उनीहरुले पर्यवेक्षकका रुपमा आएका आईसीसी प्रतिनिधि अमर शेखसँग प्रष्ट सम्वाद गर्न चाहेका छन् । एक प्रतिनिधिले भने, ‘हामी यसबारे प्रष्ट हुन चाहन्छौं । तेस्रो संशोधन अनुसार सदस्य बनेकाहरुले जिल्लामा विवाद गरे के गर्ने ?

अब भोलिसम्म थाहा हुनेछ कि दोबाटोमा रहेको नेपाली क्रिकेटले कुन बाटो लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment