Comments Add Comment

दीपक मनाङेले जितेको क्षेत्रमा हुदैछ चुनाव, कसले गर्ने भन्ने अन्योल


७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ ।

अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने भएको छ ।

प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी निर्वाचन आयोगमा पठाएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उपनिर्वाचनको लागि पत्राचार भने संघीय सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने प्रष्ट व्यवस्था छैन ।

कानुन अनुसार निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगसँगको परामर्शमा संघीय सरकारलाई मात्र रहेकाले प्रक्रियागत आधारमा संघीय सरकारले नै गर्नुपर्ने उनले बताए । संघीय संसदका कुनै सदस्यको निधन वा पदमुक्त भएमा सो पद खाली रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराउनुपर्छ ।

सोही प्रक्रिया अनुसार मनाङ ख बाट निर्वाचित सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योग अन्तर्गत जेल परेकाले सो निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी प्रदेश ४ को प्रदेशसभा सचिवालयले आयोगलाई गराउन सक्नेछ ।

मनाङे २०७८ वैशाख ६ गतेसम्म जेलमा रहनेछन् । उनले यसअघि २ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । निर्वाचन कानुन अनुसार अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

मनाङ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र उनी फौजदारी मुद्दाका फरार अभियुक्त रहेको अदालतको फैसलापछि खुलेको थियो ।

नत्र उनको उम्मेदवारीनै रद्द हुन सक्ने थियो । उनी राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भए पनि उपस्थित भएका थिएनन् भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता नामावलीबाटै उनको नाम हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment