Comments Add Comment

राराको यात्राः प्रधानमन्त्री आकाशबाट, हामी सडकबाट !

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने तयारी भइरहँदा पत्रकारसहितको हाम्रो एक टोली सडकमार्ग प्रयोग गरेर रारा तालसम्म पुग्यो । आखिर कसरी पुग्न सकिन्छ रारा ? यसको जानकारी लिन चाहने मित्रहरुलाई हाम्रो अनुभव काम लाग्न सक्छ ।

तल हेर्‍यो छाँगेभिर, माथि अग्लो पहाड ! भिरको वीचमा खोपिएको सडके । जति सवारी साधनको चौडाइ छ, त्यति नै बाटोको चौडाइ पनि । यही हो, रारासम्मको यात्रा गर्दा कालीकोट मान्मदेखि नाग्मसम्मको सडकको व्यथा ।

जब भिर सुरु हुन थाल्छ, गुरुजी हर्न बजाएको बज्यै गर्छन्  । गुरुजीलाई यति धेरै किन हर्न बजाएको भनेर सोध्दा भन्छन्, के गर्नु हजुर ? उताबाट अर्को सवारी साधन आयो भने साईड दिने ठाउँ छैन ।

करिब तीन दशकअघि कालीकोटको सदरमुकाम मान्म र अहिलेको मान्म निकै फरक भइसकेको छ । त्योबेला कालीकोट पुग्न एकमात्र उपाय पैदल यात्रा थियो । तर, अहिले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दैनिकरुपमा सार्वाजनिक बस नै कालीकोटका लागि छुट्ने गर्छ ।

तथापि पहिले पैदल यात्रा गर्दा शारीरक थकान हुन्थ्यो, अहिले सवारी साधनको यात्रामा गर्दा मानसिक थकानको अनुभूति हुन्छ ।

कसरी पुग्ने रारा ? बासको अवस्था के छ ?

कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि सवारी साधनमा दुई दिनको  यात्रापश्चात रारा पुग्न सकिन्छ ।

अर्को विकल्प, नेपागञ्जदेखि ४० मिनेटको हवाइ यात्रापश्चात मुगुको ताल्चा विमानस्थलमा उत्रेर दुईघण्टाको पैदल यात्रापश्चात रारा पुग्न सकिन्छ ।

रारातालको छेउमा डाँफे लज र भिलेज हिरिटेज होटल रहेको छ । राराताल नजिकै मूर्मा गाउँ रहेको छ । रारा आउने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालमा ल्याएको छ ।

तराईमा जन्मे-हुर्केका पत्रकार प्रकाश तिमिल्सिना पहिलोपटक पहाडको यात्रा गर्दै थिए, त्यो पनि नेपालको सबैभन्दा ठूलो ताल रारा तालसम्म । रारा यात्रा उनको जीवनको महत्वपूर्ण यात्रा थियो ।

यात्राका क्रममा उनी झ्यालको छेउमै बसेका थिए । जब कालीकोटदेखि जुम्ला सडक खण्ड आयो उनी निदाउन थाले । सँगै बसेका पत्रकार योगश ढकाल, रामकृष्ण अधिकारी प्रकाश निदाएका होलान् भनेर चुपचाप बसे । तर, जब भिरको बाटो सकियो उनी जर्याक जुरुक उठे । अनि साथीहरुले सोधे के हो तिमी त मस्तले सुत्यै त । प्रकाश तिम्सिनाले भने- म त भिरको बाटो डरले हेर्न नसकेर पो आँखा चिम्लिएको त ।’

नयाँ बर्ष रारामा मनाउने उद्देश्यका साथ हिँडेका हामीले त्यो दिन रारामा बास असहज हुने सहजै अनुमान गरेका थियौ । एक त रारा तालको छेउमा नयाँ बर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लाग्ने, अर्को प्रधानमन्त्री भएपछि पहिलोपटक रारातालको छेउबाटै नयाँ बर्षको दिन राष्ट्रका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी । यही कुरा मनमा लिएर हामी ०७४ को अन्तिम दिन रारा पुग्यौं ।

रारा ताल, रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिलीचौरमा सवारी साधन रोकेर हामी रारा तालतर्फ लाग्यौं । अघिल्लो दिन पानी परेर होला, मिलिचौरदेखि रारा तालसम्मको बाटो हिलाम्मे थियो । एक त बाटो हिलाम्मे, अझ त्यसमाथि रारा हेर्न आएका पर्यटकहरुलाई लक्षित गरेरका भाडाका घोडाहरुको बाक्लो आवत-जावत ।

करिब ३० मिनेटको कष्टकर यात्रा गरेर तालको छेउ पुगियो । त्यहाँ पुगेपछि पत्रकार योगेश ढकाल तालको सुन्दरता देेखर एकछिन अक्क न बक्क भए । उनले भने मैले त यात्राका सबै दुःखहरु बिर्सें । राजा महेन्द्रले त्यतिकै स्वर्गकी अप्सरासँग दाँजेका रहेनछन् ।

सडकको स्तरोन्नितबारे छलफल गर्दैछौं

नन्दसिंह बुढा

पर्यटन मन्त्री, कर्णाली प्रदेश सरकार

रारा ताल पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो । यही कुरालाई मध्यनजगर गरेर कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन बर्ष ०७५ घोषणा गरेको छ । रारा पुग्नका लागि कसरी सहज बनाउने भन्ने बिषयमा हामी छलफल गरिरहेका छौं ।

बाटोको स्तर उन्नतिका लागि छलफलका साथै योजनाहरु तयार भइरहेका छन् । कर्णाली प्रदेशको एकमात्र हवाइ विकल्प भएका स्थान हुम्ला र डोल्पाका साथै मुगुको ताल्चामा नियमितरुपमा हवाइ उडान कसरी गर्न सकिन्छ भनेर सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स र निजी हवाइ कम्पनीहरुसँग छलफल भइरहेको छ । सायद चाँडै नै केही नतिजा आउँछ ।

समग्र कर्णालीको पर्यटकीय गुरुयोजना बनाउन जरुरी छ । यसका लागि केही सुरुवात भइसकेको छ । राराको कुरा गर्ने हो भने राराताल वरिपरि केही गतिविधि बढाउन जरुरी छ । जसले गर्दा रारा पुगेका पर्यटकहरुले आफ्नो बासलाई लम्ब्याउन सकुन् । यसका लागि रारा ताल वरिपरि साइकलिङ र बोटिङका साथै हाइकिङका लागि पदमार्ग बनाउन जरुरी छ । यसका लागि पनि स्थानीय प्रतिनिधि तथा पर्यटन व्यवसायीसँग छलफल गर्ने सोच बनाएका छौं । चाँडै नै यसको मूर्तरुप आउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment