Comments Add Comment

ओली र प्रचण्डले गल्ती स्वीकारे, दुईवटा ब्यानरमा कार्यक्रम हुने


९ वैशाख, काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र प्रचण्डले स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् ।

आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् ।

एमालेका एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।

एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको छ ।

काठमाडौंका सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका तस्वीर नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि अढाइ बजेसम्म कार्यक्रम हुन सकेन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

सुरुमा बोर्ड फेर्न माग गरेका कार्यकर्ताहरुले छिटो कार्यक्रम गर्न भन्दै कार्यक्रमस्थलमा नाराबाजी र होहल्ला गरेका छन् भने दुबै पार्टीका नेताहरु ब्यानरको विवाद हल गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

बेग्लाबेग्लै ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएकाले अब माओवादीको ब्यानर तयार हुनासाथ कार्यक्रम सुरु हुने एक नेताले बताए ।

यसैवीच कार्यक्रमस्थलबाट बोर्ड हटाइएकोमा माओवादी नेता एवं उर्जामन्त्री वर्षमान पुनले गुनासो व्यक्त गरे ।
पुनले भने- ‘त्यसरी मञ्चमा राखिएको बोर्ड निकाल्नुहुँदैनथ्यो । त्यहाँ माओवादी नेताहरु नभएकाले एमालेका साथीहरुले बोर्ड निकाल्नुभएछ, ननिकालेको भए हुन्थ्यो ।

नाराबाजीपछि हटाइएको बोर्ड पुन राख्ने सहमति भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो पनि पढ्नुहोस्

लेनिनकै फोटो छुट्यो ! एमाले-माओवादीको संयुक्त कार्यक्रममा लफडा (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment