Comments Add Comment

खेल्दाखेल्दै हराएका क्रिकेटर

१० वैशाख, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली क्रिकेट एकपछि अर्को सफलताको खुड्किलो उक्लिरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पछिल्लो कडी हो ।

नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन मैदानमा धेरै खेलाडीले आफ्नो पसिना बगाएका छन् । उनीहरुमध्ये केही अहिलेसम्म टिममा छन् भने केही बाटोमै छुटे । बाटोमै छुटेकामध्ये एक हुन् राहुल विश्वकर्मा ।

राहुलको हकमा अन्याय के भयो भने राम्रो खेल्दाखेल्दै राष्ट्रिय टोलीबाट ‘पन्छाइए’ । तर, कहिल्यै गुनासो गरेनन् ।

मेहनत गर्दा गर्दै पनि भएन भने के गर्ने त ? राहुलको उत्तर प्रेरणादायी छ, ‘अझै मेहनत गर्ने ।’

सुरु गर्दा उनले आशाको यात्रा सुरु गरे । सपनाको बाटोमा विपना बन्यो क्रिकेट । भारतको गल्लीमा बसेको बल-ब्याटको लतले नेपालको राष्ट्रिय टिममा ल्यायो ।

तर, चाँडै नै उनी परिदृष्यबाट ओझेल परे । आशा अझै मरेको छैन । सुरु गर्दाको आशा र अहिले मध्यतिर आएर बाँचेको आशाले देखाउने क्षीतिज भने फरक छ ।

राम्रो खेल्दाखेल्दै बेन्चमा

सन् २००७ मा एसीसी टटी-२० कपमा नेपालले मलेसियाविरुद्ध खेल्दा राहुलले डेब्यू गरेका थिए । उनले पहिलो खेलमै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

त्यसपछि नेपाली टिमबाट खेलेको अन्तिम खेलसम्म पनि उनले आफूलाई राम्ररी नै प्रस्तुत गरे ।

राष्ट्रिय टोलीमा उनको अन्तिम प्रतियोगिता २०१३ को आईसीसी क्रिकेट लिग डिभिजन ३ हो । जसमा उनी अघिल्लो ४ खेलमा अन्तिम ११ मा पर्न सकेनन् । पाँचौ खेलमा मैदानमा प्रवेश पाएका राहुल प्लेयर अफ द म्याच नै भए । इटालीविरुद्ध १० ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर ३ विकेट लिएका थिए ।

डिभिजन ३ को फाइनलमा पनि उनले १० ओभरमा ३४ रन दिएर महत्वपूर्ण २ विकेट लिए । जुन खेलमा १५२ रनको लक्ष्य पछ्याएको नेपाल १० ओभर बाँकी छँदै ५ विकेटले विजयी भयो । प्रतियोगिताको दुई खेलमा पाँच विकेट लिएका उनी अज्ञात कारणले त्यसपछि नेपाली टोलीमा पर्न सकेनन् । त्यसयता उनी यसरी हराए कि समर्थकहरुले पनि बिर्सिन थालेका छन् ।

आफू किन टिममा छैन भनेर उनी आफैलाई प्रश्न गर्छन् । अझै राम्रो गर्नुपर्छ भन्ने उनको भित्री मनले जवाफ दिन्छ । त्यही जवाफले क्रिकेटमै बाँधिरहन्छ

२०१४ को टी-२० विश्वकपमा अन्तिम १५ मा अटाए पनि राहुल प्लेइङ ११ मा परेनन् । धेरै समय बेञ्चमा रहनुपर्दा मनमा निराशा पस्यो । क्रिकेट नै छाडौं कि त भन्नेमा पनि पुगे ।

‘म पनि त मानिस नै हो । कहीँ न कहीँ त निराशा आइनै हाल्छ । म पनि निराश भएर क्रिकेट छाडौं भन्नेमा पुगेको थिएँ,’ उनी सम्झन्छन् । तर, त्यो धेरै समय टिकेन ।

राहुलले आफूलाई निराशामा बाँधिराखेनन् । खेलको मर्म बुझेका उनले जीवनमा आएका सबै परिस्थितिलाई खेलकै एक हिस्सा मानेर मेहनत गरिरहे । तर, त्यसले अझै परिणाम दिएको छैन ।

आफैंलाई प्रश्न

आफू किन टिममा छैन भनेर उनी आफैलाई प्रश्न गर्छन् । अझै राम्रो गर्नुपर्छ भन्ने उनको भित्री मनले जवाफ दिन्छ । त्यही जवाफले क्रिकेटमै बाँधिरहन्छ ।

एसिया कप, एसीसी ट्रफी, २००८ यू-१९ विश्वकप, २०१२ को यू-१९ विश्वकप जहाँ-जहाँ उनले खेल देखाए, त्यहाँ आफूलाई प्रमाणित गरे । ‘जबसम्म खेलेँ, राम्रै प्रदर्शन गर्थेँ । तर, त्यो बेला टिममा ठाउँ पनि भएन,’ उनी भन्छन्, ‘शक्ति (गौचन) दाइ, बसन्त (रेग्मी) दाइ एकदम फर्ममा हुनुहुन्थ्यो । उहाँहरुकै जस्तो बलिङ हो मैले गर्ने पनि । सायद त्यसैले मैले अवसर पाइनँ ।’

उनी अहिले नेपाल आर्मी टिममा रहेर अभ्यासमा व्यस्त छन् । केही घरेलु प्रतियोगिताहरु खेलिरहेका छन् ।

नेपालमा चलेको दुई टी-२० प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढी पि्रमियर लिग (डीपीएल) मा भने कसैले नपत्याउँदा उनलाई दुःख लागेको छ । ‘किन हो टिममा पर्दिनँ । सायद मेरो मेहनत अझै पुगेको छैन,’ भन्छन् ।

अगाडि थपे, ‘म त्यो प्रतियोगिताहरुको लागि योग्य छु भन्ने चाहीँ थाहा छ । नेपालमा हुने प्रतियोगिताहरु त जुन पनि लेभलमा होस् म योग्य छु भन्ने लाग्छ ।’

क्रिकेट र व्यवसाय ?

अवसर नपाउँदा उनको मनमा अनेक कुरा आउन थाल्यो । बुवा पहिलेदेखि व्यवसायमा थिए । यसैले घरबाट उनले पनि व्यवसाय गरोस् भन्ने थियो । घरबाट आएको कुरा र उनले मैदानमा खेल देखाउन नपाएको कुरा एकैपटक भइरहको थियो ।

परिवारले व्यवसायमा केही गरोस् भन्ने चाहना देखाएपछि उनी त्यतातिर पनि लागे । बुवा हार्डवेयरको व्यवसायमा भएकाले उनले त्यसैमा साथ दिए । व्यवसाय गरिरहँदा पनि क्रिकेट भने छाडेनन् । राहुल विजनेस र क्रिकेट दुवैमा पूरा अनुशासित भएर मेहनत गरिरहेको बताउँछन् । अहिले दुवैमा आधा-आधा जस्तो छ । क्रिकेट पनि खेलिरहेका छन्, व्यवसायमा पनि काम सघाइरहेका छन् ।

‘क्रिकेटको लागि अभ्यास त दिनदिनै गरिरहेको हुन्छु । अझै मेरो समय छ कमब्याक गर्न सक्छु भन्ने छ,’ उनले भने, ‘२५ वर्षको भएँ । अहिले झन् नेपालले एकदिवसीय मान्यता पाइसकेको छ । फेरि एकपटक राष्ट्रिय टिममा फर्केर खेल्ने लक्ष्य छ ।’

बुटवलमा वेस्टन क्रिकेट एकेडेमी पनि खोलेका छन्, जहाँ ससाना क्रिकेटरलाई सिकाउँछन् पनि ।

अब ब्याटिङमा जम्ने योजना

२०११ को डिसेम्बरमा कीर्तिपुर मैदानमा भएको एसीसी टी-२० कपमा हङकङविरुद्ध ब्याटिङ गर्दै राहुल । तस्वीरः क्रिकइन्फो

बलिङमा आफूलाई प्रमाणित गरिसकेका राहुल ब्याटिङमा पनि जम्ने दाउमा छन् ।

अलराउण्डर हुँदा राष्ट्रिय टिममा पस्ने सम्भावना बढ्ने उनको सोच छ । ‘नेपालको कमजोरी पनि ब्याटिङमा देखिएको छ । ब्याटिङ राम्रो गर्न सक्दा फाइदा धेरै हुन्छ’ उनले भने ।

उनले अहिले नेपालको बलिङ युनिटलाई राम्ररी नियालिरहेका छन् । राहुल भन्छन्, ‘नयाँ बलरहरुले राम्रो गरिरहेका छन् । सन्दीप छ, बसन्त दाइ खेलिरहनु भएको छ । शक्ति दाइ हुनुहुन्छ । अरु पनि राम्रा छन् । त्यसैले मैले आˆनो स्थानका लागि उहाँहरुभन्दा राम्रो गर्नुपर्छ । बलिङमा हुन्न भने म ब्याटिङमा गर्छु भन्ने सोचेको छ ।’

राहुल अबको लक्ष्य राष्ट्रिय टिमबाट एकदिवसीय प्रतियोगिता खेल्ने र विश्वकपसम्म पुग्ने छ ।

अमेरिकाको त्यो ७ विकेट

क्रिकेट जीवनमा उनलाई सबभन्दा धेरै याद आउने क्षण हो, डिभिजन ५ मा अमेरिकाविरुद्धको सात विकेट । उनको सम्झनामा सधैँ ताजा छ त्यो क्षण  ।

२७ फेब्रुअरी २०१० मा डिभिजन ५ मा अमेरिकाको ७ विकेट लिएपछि राहुल विश्वकर्मा । तस्वीरः क्रिकइन्फो

फाइनल खेलमा राहुलले ८ ओभर २ बलमा १५ रन दिएर ७ विकेट लिएका थिए । काठमाडौंमा ठूलो संख्यामा दर्शकको अगाडि एकदिवसीय क्रिकेटको पहिलो प्रतियोगितामा जे भयो, त्यो निकै खुशीको मौका थियो । नेपालले त्यो बेला नै पहिलो आईसीसी ट्रफी जितेको थियो ।

राहुल अहिले बारम्बार त्यही क्षण सम्झन्छन् । दर्शकले ‘नेपाल… नेपाल…’ भनेर गरेको हुटिङ उनको कानमा गुञ्जिरहेको छ ।

आफ्नो पहिलो एकदिवसीय प्रतियोगितामा नै देशका लागि जित दिलाउन सक्नु ठूलो उपलब्धि थियो । त्यसपछि नै राहुल को हुन् सबैले अझ राम्ररी चिने ।

मान्यतामा मात्रै रमाएर हुन्न

नेपाल डिभिजन पाँचदेखि डिभिजन दुईसम्म पुग्दा टिममा राम्रो योगदान गरेका राहुल अहिले पाएको सफलताले थप हौसिएका छन् । एकदिवसीय मान्यतापछि अब अझै नेपालका लागि खेल्नुपर्छ भन्ने सपना राहुलमा बढेको छ ।

तर, त्यसका लागि राम्रो योजनाको भने खाँचो देख्छन् उनी । एकदिवसीय मान्यता पाएर मात्रै त पुग्दैन, त्यसलाई जोगाइराखेर थप अगाडि बढ्न आवश्यक हुन्छ ।

नत्र त्यो पनि टी-२० मान्यता भन्दा फरक हुँदैन । क्रिकेटर राहुल भन्छन्, ‘हामीले एकदिवसीय मान्यता त पायौं । तर भएको केही छैन । गर्न बाँकी धेरै छ । केन्यालाई हेरेर पनि हामीले धेरै सिक्नुपर्छ । चार वर्षपछि फेरि ताल त्यही नबनोस् ।’

उपलब्धि त्यसबेला सफल हुन्छन्, जब त्यसको उपयोग गरिन्छ । यसै खेर जान दिइयो भने यो उपलब्धि मात्र केही हुँदैन । ‘नेपालभन्दा माथिका टिम धेरै राम्रा छन् । हामीले त्यहाँसम्म पुग्नका लागि राम्रो टिमसँग नै खेल्नुपर्छ । राम्रो खेलाडीसँग खेल्दा माथिल्लो लेभलमा सजिलो हुन्छ,’ राहुल भन्छन्, ‘चार वर्षपछिको विश्वकपमा कसरी नेपाललाई पुर्‍याउने भनेर काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment