बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

स्टोरी अफ लाङटाङ एन्ड वियोन्ड्स

Suzuki
अशोक सिलवाल

दिन १: आकाशमा तारासमेत दंग !   

सर एडमन्ड हिलारीको देश न्युजिल्यान्डबाट आएका ल्यारी र डेभिडलाई लिएर म लाङटाङ जाँदै थिएँ ।

राम्चे पुग्दा एकै छिन हामीले ‘ब्रेक’ लियौं ।

जीपको पाँग्राको नट लुज भएको थियो । त्यसलाई कस्न ड्राइभरले जीप रोकेको थियो । जीपको साइडमा हामीले स्थानीय महिलाको एक हुल देख्यौं । उनीहरु बालुवा भरिएको टोकरी बोकेर उक्लिरहेका थिए । अलि माथि सम्भवत ‘पुनर्निमाण’को काम चलिरहेको थियो ।

हामीलाई देखेपछि अझ खासमा मसँग गएका ल्यारी र डेभिडलाई देखेपछि उनीहरु एक छिन अडिएर हामीतिर हेर्न थाले । उनीहरुको मुस्कान हाम्रा लागि लाङटाङ यात्राको लागि पहिलो हार्दिक स्वागत थियो ।

‘म उनीहरुको फोटो खिच्न सक्छु ?’, ल्यारीले मसँग अनुमति माग्यो ।

‘तपाईंहरुको फोटो खिच्ने रे’, मैले ती तामाङ्नी दिदीहरुलाई भनें ।

‘हामी राम्रो छैनौं’, किन फोटो खिच्नु ? उनीहरुले हाँस्दै भने ।

‘दे फिल द्याट, दे आर नट् व्युटिफुल । सो दे आर नट गिभिङ परमिसन टु यु टु टेक पिक्चर्स् अफ देम’, मैले भनें ।

‘नो, दे आर व्युटिफुल’, ल्यारीले भन्यो ।

‘तपाईहरु राम्रो हुनुहुन्छ’, मैले अनुवाद गरिदिएँ ।

‘हामी तपाईका विदेशीहरुजस्ता सेता छैनौं’, उनीहरुले भने ।

‘कलर डजन्ट म्याटस् । इट इज अन्ली द कलर एन्ड कलर इज नट व्युटी इट्सेल्फ  इफ दियर इज नट् लाइफ एन्ड सोल’, ल्यारीले भन्यो ।

मैले फेरि सजिलो गरी अनुवाद गरिदिएँ, ‘कालो वा सेतो भएर राम्रो वा नराम्रो हुने होइन । व्यवहार र सोच ठुलो कुरा हो ।’

‘हो त नि । काटे जसको पनि रातै रगत आउँछ’, उनीहरुमध्ये कोही एकजनाले भन्यो ।

त्यसपछि उनीहरुले फोटो खिच्न अनुमति दिएको अनुमान गर्दै मैले ल्यारीलाई भनें, ‘अब तिमी मजाले फोटो खिच्न सक्छौ । सुरुमै पनि उनीहरुले तिमीलाई फोटो खिच्न अनुमति नदिएकै चाहिँ थिएनन् । मात्र फोटोसँग जोडिएर उनीहरुले एउटा भावना पोखेका थिए ।’

ल्यारी त्यसपछि पनि फोटो खिचिरहेको थिएन । तर, उनीहरु आफ्नै पाराले पोज दिन थालिसकेका थिए ।

उसले त्यसपछि भटाभट फोटो खिच्न थाल्यो । मैले पनि फोटो खिचिरहेको ल्यारी र फोटो खिचाइरहेका ती दिदीहरु दुवै अटाउने गरी केही फोटो खिचें ।

दिदीहरुका मुस्कान अनेक भावसहितका ठुल्ठुला हाँसोमा बदलिसकेका थिए । स्माइल टन्र्ड् इन्टु लाफ विथ भेरियस मिनिङ ।

उनीहरुलाई मुस्कानसहितको बाइ गर्दै हामी जीपभित्र छिर्यौं । रसुवा सदरमुकाम धुन्चे नपुग्दै फोटो प्रसंगमा र्फकदै ल्यारीले भन्यो, ‘उनीहरु किन आफुलाई नराम्रो ठान्छन् ? दे आर नट् अग्ली । दे आर व्युटिफुल एन्ड दे आर व्युटिफुल फ्रम इन्साइड टु ।’

मैले भनें, ‘उनीहरु आफुलाई नराम्रो ठान्दैनन् । यत्ति हो, उनीहरु आफुलाई राम्रो भन्दैनन् । र, तिमीहरुलाई राम्रो भनिदिन्छन् ।’

‘यदि उनीहरु आफुलाई नराम्रै भन्ठान्थे भने किन जसको पनि रगत त रातै हुन्छ भन्थे त ?’, मैले ल्यारीलाई प्रश्न गरें ।

ल्यारी र मेरो कुरा सुनिरहेका डेभिडको आँखामा मैले आँशु देखें । केही नबोली  मनमनै निकै भावुक भइसकेको रहेछ ऊ ।

यस्तै भावुकता, संवेदनशीलता र लाङटाङप्रतिको स्नेहसहित म लाङटाङ जाँदै थिएँ, तेस्रो पटक ।

धुन्चे बजारको मुखैमा लाङटाङ राष्ट्रिय निकुञ्जको सैनिक चेकपोस्ट पुग्दा परमिट दस्तुर बुझाउन हामीले जीपलाई चेकपोस्ट गेटैमा साइड लगायौं । मैले परमीट लिएँ, ल्यारी र डेभिडका नाममा । टिम्स त काठमान्डुमै लिइसकेको थिएँ । टिम्समा परमिट थपेर जब हामी जीप चढ्दै थियौं, सिभिल डे्रसमा एउटा सैनिक जवान मछेऊ आयो र स्याप|mुबेसीसम्म लिफ्ट माग्यो । उसको विनम्र अनुरोधलाई मैले अस्विकार गर्न सकिनँ बरु ड्राइभरछेउको आफ्नै सीट छोडिदिएर दोस्रो लहरमा गेस्टसँगै बस्न गएँ ।

हेर्दा जवान देखिने सैनिक जवानकी छोरी १८ बर्षकी भइसकिछ । १८ बर्षअघिको त्यो समय उसको जीवनको एउटा यस्तो अध्याय रहेछ, जहाँ उसले सन्तान सुख मात्र होइन, सेनामा जागिर पनि पाएको थियो । त्यसको अघिल्लो साल उसले श्रीमती पनि पाएको रमाइलो बर्ष थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा आमा, श्रीमती र छोरी छन् रे ।

‘तपाई हतियार बोक्ने पेशामा हुनुहुन्छ । तर, तपाईंलाई पनि डरलाग्दो होला नि ?’, मैले सोधें ।

‘लाग्दैन’, उसले केही नसोची फ्याट्टै भन्यो ।

‘किन ?’, मैले सोधें ।

‘किनकी कहिल्यै एक्लै भइएन । सधैं ग्रुपमा भएकोले पनि डर नलागेको होला’, उसले भन्यो ।

‘सेनामा प्रवेश गरेपछि डर लाग्नु आफैमा नैतिक पतन होला’, मनमा आएको डाइलगलाई मुखमा ल्याइनँ ।

‘सेनामा जागिर खाइसकेपछि डराएर कहाँ हुन्छ ? सेवामा आउनुअघि बरु डर लाग्थ्यो’, उसले भन्यो ।

‘सैनिक रुपमा डर लाग्दैन कि कुनै पनि हिसाबले डर लाग्दैन ?’, मेरो प्रश्नमा ऊ निरुत्तर भयो । उसले नबोलेरै धेरै बोलिरहेको थियो वा केही नबोलिरहेको मात्र थियो ? मैले बुझ्न सकिनँ ।

दशक लामो माओवादी युद्धअवधिको स्मृतिमा उसलाई मैले एउटा ठाडो प्रश्न गरें, ‘तपाईंले कतिजनालाई सुट गर्नुभयो ?’

‘३०-४० जना त मारियो होला सर’, उसले पनि केही भुमिका नबाँधी सीधै भन्यो ।

यी सव सम्वाद अनुवाद गर्दै गेस्टहरुलाई बुझाउँदै थिएँ । उनीहरु नेपाल हेर्न होइन, बुझ्न आएका थिए । यसअघि सन् २०१७ को डिसेम्बरमा आएका उनीहरु तीन महिना नबित्दै दोस्रो पटक नेपाल आएका थिए ।

त्यो सैनिक जवानलाई मैले सोधेका कति प्रश्न मेरा थिए, कति प्रश्न ल्यारीको थियो ।

स्याफ्रुबेसी पुग्नै लाग्दा सोधें, ‘तपाईले आफ्ना साथीहरु पनि गुमाउनु भयो ?’

‘मेरै आँखा अगाडि मेरा चार जना साथी ढले । मैले उनीहरुलाई बचाउन सकिनँ । म चाहिँ बाचें । कत्ति पटक कानैछेउबाट गोली उडे पनि मलाई कहिल्यै छोएन ।’

‘तिमी घरपरिवारलाई निकै मीस गर्छौ होला । होइन ?’, ल्यारीको त्यो प्रश्नमा जवानको उत्तर निकै ‘राष्ट्रिय’ थियो, ‘म जहाँ भए पनि नेपालमै त छु ।’

अर्को शब्दमा मैले उसको उत्तरलाई यसरी मनन गरें, ‘म जहाँ भए पनि नेपाल आमाकै काखमा त छु ।’

उसको उत्तरलाई मैले श्रद्धा मिसाएर प्रेम गरें ।

काठमान्डुबाट बिहान आठ बजे टोखा-छहरे, विदुर-बेत्रावती र कालिकास्थान-धुन्चे हुँदै स्याफ्रुबेसी पुग्दासम्म हामीले लञ्च ब्रेक लिएका थिएनौं । बाटोमा उनीहरुले प्रशस्त प्रोटिनबार खाएका थिए र मैले ड्राइभरलाई पनि बराबरी बाँडेर स्निकर खाएको थिएँ ।

स्याफ्रुबेसीमा चार बजेतिर दालभात खानुअघि नै हामीले सैनिकलाई मात्र होइन, रिजभर्ड् जीप र ड्राइभरलाई छोडिसेकेका थियौं । त्यहाँबाट एक घन्टा हिँडेर तिवारी भन्ने ठाउँमा बास बस्न पुग्यौं । बुद्धिस्ट झन्डाहरुमुन्तिर स्थानीय टि हाउस फूल झैं हार्दिक थियो । साहुको पन्ध महिने छोरो मलाई उस्तै हार्दिक लाग्यो ।

आँगनबाट हामीले खोलापारीको भीरमा वन विरालो देख्यौं । मैले पहिलो पटक वन बिरालो देखेको थिएँ । ल्यारीले त्यो ठाउँमा ‘गुड इनर्जी’ अनुभुति गरेको बताउँदा डेभिडले भन्यो, ‘यस्, आइ एम अल्सो फिलिङ सेम ।’

उनीहरुको कुरा सुनेर म दंग परें । आकाशमा ताराहरु पनि दंग परेर चम्किरहेका थिए ।

दिन २: ‘अरुलाई बचाउने कुक हिमपहिरोमा पुरियो’

अघिल्लो रात तिब्बेतियन ब्रेड र पोट्याटो सुप खाएका उनीहरुलाई तिब्बेतियन ब्रेड मन परेको थिएन । त्यसैले ब्रेकफास्टमा उनीहरुले रेगुलर ब्रेड विथ अम्लेट अर्डर गरे । तर, रेगुलर ब्रेडको ठाउँमा नाममात्र फरक भएर तिब्बेतियन ब्रेड नै आइपुग्यो । हामी जोडजोडले हाँस्यौं । र, त्यसमा उनीहरुले हनी दलेर खाए ।

हामी आठ बजे खोलाको तीरैतीर अगाडि बढ्यौं । डोजरले अलि परैसम्म मोटरबाटो खनेको रहेछ । मोटरबाटो बनेकोमा मलाई किन हो, त्यति खुशी लागेन । अघिल्लो पटक त्यहाँ त्यो लेभलमा बाटोहरु बनेका थिएनन् ।

खोला, पुल, पुलमा बुद्धिस्ट झन्डाहरु, दुई टि हाउस र टि हाउसको छाना जस्तै उत्तरमा देखिने हिमशिखर । आहा दोमन !

दोमन (१६७२ मि.) मा आधा दर्जन केटाहरु हाँसखेल गर्दै चिया पिइरहेका थिए । टि हाउसपछाडि अजंगका सेता बोराहरु देखें । के रहेछ भनेर छामें । त्यहाँ एकै खालका सयौं प्लास्टिक बोतल रहेछन् ।

सोचें, लाङटाङ ट्रेकिङ रुटबाट बाटोमा असरल्ल फालिएका प्लास्टिक बोतलहरु संकलन गरेर तल स्याफ्रुबेसी वा अन्त कतै तिनलाई उचित विसर्जन गर्न लान लागिएको होला ।

गेस्टले सोधे, ‘के हो यो ?’

मैले अघिकै कुरा दोहोराउँदै थपें, ‘लाङटाङ ट्रेकलाई वातावरणीय दृष्टिले संरक्षण यसरी गरिदैछ ।’

एक छिनमा अघिका आधा दर्जन केटाहरु त ती ठुल्ठुला सेता बोरासहित हाम्रै पछि आइपुगे ।

असंख्य बोतलसहितका बोरा बोकेर लाङटाङ पो जाँदै रहेछन् उनीहरु । माथि पानी फ्याक्ट्री छ रे ।

‘इट्स नट् व्याड आइडिया’, डेभिडले भन्यो ।

‘यस्, इट इज गुड’, ल्यारीले थप्यो ।

उकालो, ठाडो उकालो, ठिकठिकै उकालो, सम्म, हल्का ओरालो हुँदै हामी हट स्पि्रङ पुग्यौं । जसलाई पहिरो पनि भन्ने गरिन्छ । पहिरोबाट थोरै माथि आएपछि थोरै अघिअघि हिंड्दै गरेको ल्यारीलाई वास्तै नगरी एक छिनका लागि म र डेभिड बाटोछेऊ एउटा ठुलो ढुँगामा बस्यौं ।

मतिर नजिकिदैं डेभिडले आफ्नो ध्यान अनुभव सुनायो, ‘वान डे, आइ वाज इन मेडिटेसन । सडेन्ली माई हार्ट मुभ्ड फ्रम चेस्ट टु माई राइट ह्यान्ड ।’

‘म छक्क परें । त्यो असीम आनन्दको अवस्था थियो र आफ्नो मुटु एक ठाउँबाट अर्को ठाउँमा पुग्दाको अनुभव निकै बेग्लै थियो । अनुवभको एउटा असाधारण अवस्था थियो, त्यो’, उसले आँखा चिम्लिएरै भन्यो ।

‘त्यो भनेको हामी हाम्रो मुटु एकअर्कामा साट्न सक्छौं भन्ने प्रमाणिकरण हो । म तिमीलाई मेरो मुटु दिन सक्छु र तिमी मलाई तिम्रो मुटु दिन सक्छौ । होइन त ?’, मैले डेभिडलाई भनें । ऊ आँखा चिम्लेर स्वाँस्वाँ गर्न थाल्यो । त्यो उसको मनैदेखिको स्वीकारोक्ति थियो ।

हामी बाम्बु पुग्यौं । दालभात पावर ट्वाइटी फोर आवर भन्दै खोलाको गडगडाहटबीच छेउमै रहेको टि हाउसमा तात्तातो दालभात खाएर रिम्छेतर्फ उक्लियौं । रिम्छे आइपुग्दा पौने तीन बजेको थियो ।

अघि रिम्छे आइनपुग्दै अलि तल हामीले त्यो यात्रामा पहिलो पल्ट लालीगुराँसको एउटा थुँगा देखेका थियौं । तर, त्यही बोटमा असँख्य कोपिला थिए । यदि त्यही बाटो फर्किए त्यही बोटमा असंख्य लालीगुराँस फुलेको हेर्न पाइने आशा गर्दै हामी उक्लिरहेका थियौं ।

रिम्छेबाट पन्ध्र मिनेटमा हामी लामा होटल पुग्यौं । लामा होटल ठाउँको नाम हो यद्यपि त्यही नामको होटल पनि त्यहाँ छ । त्यहीँको कुनै होटलमा रात बिताउने निधो गर्यौं ।

जुन होटलमा बस्यौं, साहुनीको कथा निकै रोचक रहेछ ।

उसकी १३ बर्षकी छोरी र १६ बर्षे छोरा काठमान्डुको बोर्डिंग स्कुल पढ्दारहेछन् । बिदा मनाउन लाङटाङस्थित घर आएकी छोरीको स्कुल सुरु भइसकेको थियो तर टुरिस्टक सिजनको बेला भएकाले उनीहरुले केही दिन ढिला उसलाई काठमान्डु पुर्याउनेबारे सोच्दै थिए । बिहानैदेखि छोरीले जसरी पनि त्यही दिन काठमान्डु जाने जिद्धी गरी । रोइकराई गरी । मान्दै मानिन । त्यसपछि कुकलाई होटलको जिम्मामा छाडेर साहुनी काठमान्डु हिंडी, बिहान नौ बजेतिर । साहुजी पेशाले ट्रेकिङ गाइड पनि भएकोले ऊ पनि संयोगले त्यही दिन बिहान बिदेशीहरुसहित क्यान्जीङतिर लागेछ ।

लामा होटल पुग्दै गर्दा भुकम्पसँगै आएको हिमपहिरोले लाङटाङ गाउँ ध्वस्त भयो । त्यसरी उनीहरु बाँचे । छोरीको कारणले साहुनी बाँची । तर, कुक हिमपहिरोले पुरियो ।

‘ऊ विश्वासिलो थियो । त्यसैले उसको जिम्मामा हामीले सिंगो होटल छोडेका थियौं । खासमा हामीलाई कुकले बचायो तर ऊ बच्न सकेन’, श्रीमानले भन्यो ।

भुकम्पपछि उनीहरु काठमान्डुमा रहे केही महिना । त्यसबीचमा उनीहरु बेकामे भए । बस्नु, खानु, मृत्यु भएका आफन्तलाई सम्झनु र ध्वस्त भएको आफ्नो सम्पतिलाई सम्झेर दुखी हुनुबाहेक उनीहरुसँग केही काम थिएन । निकै बर्षदेखि उनीहरु एक छोरा र छोरीबाहेक अर्को सन्तान जन्माउने मुडमा थिएनन् । तर, भुकम्पले विकसित उनीहरुको मनोविज्ञानले अस्थायी गर्भनिरोधको उपाय बिस्र्यो । काठमान्डुमै हुँदा साहुनीको पेटमा बच्चा बस्यो ।

त्यसरी अर्को छोरा जन्म्यो । छोरो दुई बर्षको भइसकेको रहेछ ।

‘अर्थक्वेक बेबी’, मैले त्यसो भन्दा दम्पति मात्र होइन, छेउछाउका अरु सँगै दुई बर्षे बच्चो पनि हाँसिरहेको थियो । हा हा हा ।

त्यही होटलमा अहिले अर्को कुक रहेछ । केही बर्षदेखि त्यहाँ कार्यरत ऊ एभेरस्टनजिकको ओखलढुँगाबाट आएको रहेछ । त्यहीँ काम गर्दागर्दै एक दिन उसको मोबाइलबाट अर्को अन्जान नम्बरमा कल गएछ । केही महिनाको मोबाइल अफयेर्स्पछि उसको त्यही केटीसँग बिहे भएछ । बिहेको डेढ बर्षपछि जन्मेको छोरो अहिले तीन महिनाको भयो रे । आजकल पनि ऊ पहिलेजस्तै उस्तै गरी घन्टौंघन्टा कुरा गर्छ रे । तर, यति बेला ऊ पहिलेकी फोनफ्रेन्ड र अहिलेकी श्रीमती मात्र होइन, दुई महिने छोरासँग पनि सिडिएमएको नेटर्वक लाग्ने होटल छेउको एउटा कुनामा गएर कुरा गर्छ रे ।

छेउको अर्को होटलवालाको दशवटा खच्चड रहेछन् । खच्चडको नाइके रहेछ, मुनिराम । खासमा उसको नाम रहेछ मनिराम । तर, सबैले उसलाई मायाले हो कि जिस्काएर हो मुनिराम भन्दारहेछन् । जसलाई मैले डंकी ड्राइभर भनेर सम्बोधन गरें । पश्चिम नेपालको सल्यानबाट आएको उसले लाङटाङ आउनुअघि मलेसियामा दुई बर्ष लिगल र एक बर्ष इलिगल रुपमा बसेको सुनायो । तेह्र लाख रुपियाँ लिएर नेपाल फर्केको ऊ त्यसअघि इन्डिया पनि बसेको रहेछ । केही बर्ष इन्डिया बसेर ‘बाठो’ भएको ऊ पछिल्लो चार महिनादेखि लाङटाङ क्षेत्रमा खच्चडहरुसँग जवानीका दिनहरु बिताइरहेको छ । अघिल्लो दिनमात्र उसले साठी हजार रुपियाँ घर पठायो रे । खाइवरी महिनाको पच्चीस हजार रुपियाँ उसले पाउने गरेको रहेछ । तर, चुरोट र मोबाइलमा उसको पैसा राम्रै गरी खर्च हुने गरेको उसको सहयोगीले सुनाउँदै थियो ।

दिन ३: वाह ! स्यान्ड्रा एन्ड अदर्स्

सुखदुखका कुरा गर्दै अघिल्लो रात अबेरसम्म नसुतेकोले बिहान रातो पिरो आँखा लिएर नदीको स्वरमा हिमालको उज्यालो मिसाएर हामी रिभर साइड हिंड्यौं । रिभर साइड पुग्दा हिमाल झन् उज्यालिएको थियो । त्यहाँबाट घोडा तबेला पुग्दा दिनको दुइ बजिसकेको थियो ।

दालभात खाएर घाम ताप्दै थियौं । एक्कासी कुहिरो जस्तो बादल वा बादलजस्तो कुहिरो आकाशमा फैलियो । हामी डाइनिङ हल छिर्यौं । बाहिरको अन्धमुष्टी भित्रको तातोले एकै छिनमा कता हरायो कता ! अघि भर्खरको जस्तै स्पस्ट परपरसम्म देखियो । पर लाङटाङको मुख्य पहिरोमाथि लाङटाङलिरुङ सेतो अनुहारसहित उस्तै गरी मुस्कायो ।

रिभरसाइड आइपुग्दा ल्यारी एउटा टि हाउसको कुनातिर लाग्यो । ऊ त पिसाब फेर्न पो गएको रहेछ । मैले उसलाई एक छिनपछि सर्तक गराएँ, ‘आइन्दा अरुको करेसामा पिसाब नफेर्नु । नराम्रो हुनसक्छ ।’

उसले मसँग एक्सक्युज माग्यो र आइन्दा त्यसो नगर्ने वाचा गर्यो ।

अलिकति अगाडि बढिसक्दा नसक्दै डेभिडले पनि पिसाब आएको बतायो । मैले एक छिनपछि झाडीतिर गएर गर्दा हुन्छ भनें । हामी अगाडि बढ्दै थियौं । घोडातबेला आइपुग्नुअघि बाटामा अनेक देशबाट आएका अनेक यात्रु भेटिए । कोही उक्लँदै थिए कोही झर्दै । बाटोमा एउटी केटी तल झर्दै रहिछ । डेभिड ऊसँग हल्काफुल्का गफिन थाल्यो । सुरुमा दुवैलाई दुवैले हेलो भने ।

त्यसपछि डेभिडले सोध्यो, ‘ह्वेर आर यु फ्रम ?’

‘बेल्जियम’, केटीले भनी ।

‘ओ !’, डेभिडले त्यति भनेकों मैले सुनें ।

म नरोकिई हिंडिरहेकोले अलि अगाडि पुगिसकेको थिएँ । त्यसपछि पनि उनीहरु गफिदै थिए । मैले बाँकी कुरा सुनिनँ ।

म निकै माथि पुग्दासम्म पनि उनीहरु जहाँको तहीँ उभिएर गफिइरहेको देखें । एक छिनमा डेभिड मछेऊ आइपुग्यो । मैले उसलाई पिसाब फेरे हुन्छ भनें ।

‘हो त । मलाई अघिदेखि पिसाब चापिरहेको थियो । तर, अहिले पिसाब कता हरायो कता ? के भयो मलाई ? के भयो मेरो पिसाबलाई ? कहाँ गयो मेरो पिसाब ?’, आफैले आफैलाई प्रश्न गर्दै ऊ अलमलियो ।

‘केटी देख्यो, त्यसमाथि अझ गफ पनि गर्यो भने डेभिडको पिसाब हराउँदो रहेछ’, मैले ल्यारीलाई भनें ।

‘त्यस्तो पनि हुन्छ त ?’ आश्चर्य मिसाएर ल्यारीले मलाई सोध्यो ।

‘भइसक्यो । डेभिड त्यसको ज्वलन्त प्रमाण हो’, डेभिडलाई देखाउँदै मैले भनें ।

‘त्यस्तो नहुनुपर्ने हो तर भयो’, डेभिडले पनि सही थाप्यो ।

हामी तिनै जना पहाडै थर्कने गरी एकसाथ हास्यौं । पहाडचाहिँ थक्र्यो कि थर्केन ? कुन्नि !

त्यसअघि बिहान लामा होटलबाट हिंड्नुअघि किचेनमा आगो ताप्दै म हटलेमन पिउँदै थिएँ । जर्मनको म्युनिकनिवासी कार्ल मेरै छेऊ आइपुग्यो ।

‘पहिलो पटक हो ?’, मैले सोधें ।

‘होइन । दोस्रो पटक हो’, उसले भन्यो ।

‘पहिलो पटक कहिले आयौ ?’, मैले सोधें ।

‘तिमी जन्मिएका थिएनौ होला’, उसले भन्यो ।

सन् १९८५ मा ऊ पहिलो पटक नेपाल आएको रहेछ ।

‘म एभरेस्ट बेस क्याम्प गएको थिएँ’, उसले सम्झ्यो ।

‘दोस्रो पटक आउन निकै समय लगायौ त । किन सन् २०१८ नै कुर्न परेको ? निकै लामो ग्याप भयो त’, मैले भनें ।

‘नेपालबाट फर्केपछि म व्यस्त भएँ । काम, श्रीमती, बच्चाबच्ची ! तर, हरेक दिनको सुरुवात म नेपालको मुस्कान र बुद्धिस्ट पेन्टिङ हि्वल अफ लाइफ हेरेर सुरु गर्थें’, उसले भन्यो ।

‘एभरेस्ट जाँदा मैले हाँस्दै गरेकी एउटी नेपाली बालिकाको फोटो खिचेको थिएँ । त्यो फोटोलाई मैले ठुलो बनाएर फ्रेममा हालेर घरको भित्तामा झन्ड्याएको छु । त्यसैको छेऊमा पेन्टिङ झुन्डिएको छु । तेत्तीस बर्षदेखि यो मेरो नियमिमता हो’, उसले थप्यो ।

२५ अपि्रल २०१५ (१२ वैशाख २०७२) को विनाशकारी भुकम्प र हिमपहिरोले लाङटाङलाई कहिल्यै नपुरिने चोट दिएको समाचार सुनेपछि समय मिलाएर उसले लाङटाङ आउने निधो गरेको उसले बताइरहँदा ऊ निकै भावुक देखिन्थ्यो ।

‘लाङटाङ आउनु पदयात्रामात्र होइन, यो क्षेत्रको लागि अनेक प्रकारले योगदान पनि हो’, मैले भनें ।

त्यो त बिहानको कुरा हो । बेलुकी डाइनिङ हलमा ल्यारी, डेभिड र ममात्र होइन, अरु पनि थिए ।

अनुहारले कालो एकजना स्कटिस मलेसियाको एउटा स्कुलको अंग्रेजी शिक्षक रहेछ । अर्को एकजना डच केही समयअगाडि जागिर छाडेर यात्रामा निस्केको रहेछ । ‘म स्थानीय कम्पनीमा मार्केटिङको काम गर्थें । मैले एक बर्षको बिदा मागें । कम्पनीले बिदा दिएन । मैले कम्पनीलाई बिदा गरिदिएँ’, उसले हाँस्दै भन्यो ।

दुई जर्मन केटी थिए । एउटी अनुहारले युरोपियन मूलकी देखिन्थी ।

‘माइ मम इज कोरियन एन्ड ड्याड इज जर्मन’, अर्कीले भनी ।

‘सो प्रडक्ट इज गुड’, मैले त्यसो भन्दा पढाई सकेर घुम्न निस्केका ती दुई मात्र होइनन्, छेउको जोडीसहित सबैले खित्का छाडे ।

जोडी पनि संयोगले जर्मन नै परेछन् । पेशाले दुवै मेडिकल डाक्टर रहेछन् । सन् २००८ मा एक बर्षे प्रेमपछि उनीहरुले बिहे गरेका रहेछन् ।

निकै बेरको अनेक कुराकानीपछि मैले नाम सोधें ।

‘स्यान्ड्रा’, उसले भनी ।

‘डा.स्यान्ड्रा’, मैले भनें ।

‘अन्ली स्यान्ड्रा’, उसले भनी ।

‘होइन, मैले तिमीलाई डाक्टर स्यान्ड्रा नै भन्नुपर्छ । किनकी विषय नै त्यस्तै छ, जो म भन्न गइरहेको छु’, मैले भनें ।

‘हाइस्कुलपछि मैले साइन्स ज्वाइन गरें । तर, त्यो मेरो विषय रहेनछ । दुई बर्ष नपुग्दै छाडिदिएँ । र, आर्टस् ज्वाइन गरें । आज मलाई लाग्यो, मैले साइन्स छोडेर ठिक गरिछु । म डाक्टर त भइन तर डाक्टर भएको भए म यति बेला यहाँ हुने थिइनँ र तिमीसँग भेट हुने थिएन । त्यसैले बर्षौंअघिको मेरो त्यो निर्णयप्रति आज म निकै खुशी छु’, मैले थप जोड दिँदै थपें ।

‘तिम्रो नाम के हो ?’, उसले सोधी ।

‘अशोक’, मैले भनें ।

‘यु आर सो चार्मिङ अशोक’, आँखा चम्किलो पारेर उसले त्यति भनेपछि मैले दश औंला जोडर उसलाई नमस्कार गरिदिएँ ।

‘यस् ! हि इज’, डेभिडले भन्यो । ल्यारीले पनि त्यसमा सही थाप्यो ।

स्याफ्रुबाट खाम्जीङ हुँदै शेर्पा गाउँमा एक रात बिताएर रिम्छे-लामा होटल र रिभर साइड हुँदै घोडातबेला आइपुगेका उनीहरुले खाम्जीङ-शेर्पागाउँ हुँदै रिम्छे आउँदाको माउन्टेन भ्यु निकै आकर्षक रहेको बताए ।

‘उच्च पहाडी श्रृंखलाको मोहक दृश्यले उकाली अप्ठ्यारो बिर्साइदियो’, डा. स्यान्ड्राले भनी । तर, ऊ खासमा डाक्टरमात्र होइन, असल मानिस बढी थिई । रोइहाल्थी । हाँसिहाल्थी ।

विश्वका अनेक देशका अनेक प्रसंगबारे गफिदै कोही भेजिटेवल सुप खाइरहेका थिए । कोही ब्रेड विथ अम्लेट खाइरहेका थिए । कोही चीज मम खाइरहेका थिए । म दालभात नै खाइरहेको थिएँ । डाइनिङ हलमा अनेक खानाको मीठो बासना चलिरहेको थियो ।

स्यान्ड्रा घरी तिब्बतको कुरा गर्थी । घरी इन्डियाको कुरा गर्थी । घरी नेपालको कुरा गर्थी । स्यान्ड्राको यो पाचौं नेपाल यात्रा रहेछ ।

‘किन पटक-पटक नेपाल ?’, मैले सोधें ।

‘म यहाँ मानिस र भूगोलमा ती चीज पाउँछु, जो पश्चिममा पाउँदिन । नेपालमा मात्र होइन, इन्डिया र तिब्बतमा पनि म त्यस्तै केही पाउँछु, जो मैले मेरो समाजमा पाइरहेको छैन । मलाई लाग्छ, जहाँ म छु अहिले, यो पो हो मरो समाज हो’, भावुक भएर उसले भनी ।

‘तिमी मेडिकल डाक्टर हौ । तर, तिमी तिम्रो पेशासँग खुशी छैनौ’, मैले भनें ।

‘हो, ममा प्रश्नहरु छन्’, उसले भनी ।

‘कस्तो प्रश्न ?’, म थप जिज्ञाशु भएँ ।

‘त्यही थाहा पाउन त दक्षिण एशियाली देशहरु पटकपटक आइरहेको छु । प्रश्नमात्र होइन, कताकता उत्तर पनि पाइरहेको अनुभव गर्छु म यहाँ । कुनै त्यस्तो चीज छ यहाँ । यहाँ आएपछि मभित्रको प्रश्नले उत्तर पाएजस्तो लाग्छ’, ऊ अझ भाकु भई ।

टेबल फिलोसफिकल हुँदै गइरहेको थियो । अरु सबै आ-आफ्नो कोठातिर गइसकेका थिए । ल्यारी, डेभिड, स्यान्ड्रा दम्पति र म बाँकी थियौं ।

उसले सोधी, ‘तिमी पुर्नजन्ममा विश्वास गर्छौ ?’

‘कति प्रश्न छन्, जसको उत्तर हुँदैन र यो कठिन प्रश्न हो’, मलाई जे लाग्यो त्यति बेला, त्यही मैले भनें ।

ल्यारी, डेभिड र स्यान्ड्राको एउटै स्वर थियो, ‘प्रश्न कठिन छैन ।’

‘ठिक छ । मैले मानें । त्यसो भए उत्तर कठिन छ’, मैले भनें ।

‘छैन’, फेरि पनि तिनै जनाको स्वर एउटै थियो, ‘दियर इज रिबर्थ ।’

छेउमा अघिदेखि सरदर सबै कुरा सुनिरहेको स्यान्ड्राको पति एन्ड्रयु फेरि पनि केही बोलिरहेको थिएन ।

डाक्टर स्यान्ड्रा भन्दै थिई, ‘एउटा समय थियो, हामी तोकिएका समय त काम गथ्र्यौं नै, त्यसबाहेक घन्टौघन्टा विना तलव पनि खट्थ्यौं । तर, अहिलेका डाक्टरहरु पैसा अनुसारको डाक्टरीमात्र गर्छन् । अझ त्यति पनि गर्दैनन् । यो पेशामा मानवता हराइरहेको छ ।’

‘सबै डाक्टरहरु साँच्चिकैका डाक्टर हुँदैनन्’, मैले पनि भनें ।

रात अबेरसम्म यस्तै यस्तै वा योभन्दा अनेक रोचक र गहिरा कुरा भए । भोलिपल्ट फेरि उक्लिनु त छँदै थियो । तर, हामीले हाम्रो सम्वादको उचाइ पाइसकेका थियौं । त्यसबारे स्यान्ड्रा, ल्यारी र डेभिड झन् बढी सहमत थिए ।

ओहो ! एउटा कुरा त भन्नै छुटेको । रिभरसाइडबाट उकालो लाग्दै गर्दा लालीगुराँस वनैभरी फुलेका थिए । त्यसपछि त मनैभरी पनि फुलिदिए ।

रातको एघार बजिसकेको थियो । म आँखाभरी लालीगुराँसहरु राखेर सपनीमा तिनलाई स्वागत गर्दै सुतें ।

दिन ४: डिटोल भर्सेस आँशु

ब्रेड विथ एग र हट लेमन खाएर हामी विस्तारै अघि बढ्यौं । उचाइले गर्दा हावा पातलिएको थियो । तर, हावामा हिमालको सुवास अझ बाक्लिएकोले हामी लामो-लामो सास तान्दै विस्तारै-विस्तारै पाइला चाल्दै थियौं ।

वातावरणमा हिमाली चराहरुको चिरबिर सुनमा सुगन्ध भइरहेको थियो । आफ्नै आँगनछेऊ उभिएजस्ता हिमालहरु हेर्दै हिंड्नुको मजाले प्रकृतिप्रतिको प्रेम अझ प्रगाढ हुँदै थियो ।

हामी थाङस्याप् पुग्यौं । तलबाट आउँदा भेटिने पहिलो होटलमा एकजना बुढो विदेशी कफी पिइरहेको थियो । डेभिड ऊनजिक पुगेर गफिन थाल्यो । संयोगले ऊ पनि न्युजिल्यान्डकै रहेछ । उनीहरु गफिरहँदा हातको घाउ देखाउँदै उनीहरु नजिक आएर होटल्नीले ह्यान्डीप्लास्ट मागी । बुढो विदेशीले आफ्नो फस्र्ट् एड बक्सबाट एउटा ह्यान्डीप्लास्ट दियो । संगैको डेभिडले मेरो औंलाबाट हिजोदेखि निकाल्न नसकेको काठे काँडा सम्झेछ । ढोकाको चुकुल लगाउँदा गडबडबस् मरो औंलामा मसिनो काठ छिरेको थियो ।

ऊ दौडिएर मतिर आयो । र, भन्यो, ‘औंलाको काँडा झिक्ने होइन ?’

त्यसपछि उसले मलाई भर्खरै परिचय भएको उसको देशको मानिस भएतिर लग्यो । विनम्रतापूर्वक मेरो परिचय गराउँदै भन्यो, ‘तिम्रो फस्र्ट् एड बक्समा मेरो साथीको औंलाको काँडा झिक्ने कुनै अस्त्र छ कि ?’

बुढो विदेशीले सेफ्टी पिन दियो । मैले काँडा झिकें । डेभिडले मेरो औलामा डिटोल हालिदियो । काडाँ झिकेर औंलामा डिटोल हालेपछि मेरो आँखामा आँशु टलपलायो । त्यो आशुँ दुखाई र चहराइको थिएन । स-साना कुरालाई पनि ख्याल गरेर सकेको सहयोग गर्ने डेभिडको मानवताप्रतिको प्रेमको अभिव्यक्ति थियो, सायद ।

गुम्बाडाँडा पुग्दा क्यान्जीङको ग्लेसियरबाट झर्दै गरेको पानीबाट उत्पादित बिजुली खम्बा-खम्बा हुँदै तारैतार त्यहाँ आइसकेको झन्डै तीन महिना भइसकेको रहेछ । बिजुलीको उज्यालो घरघरमा कति थियो, त्यो त रात नपरी थाहा हुने कुरा थिएन तर त्यहाँ भेटिएका स्थानीयका अनुहारमा बिजुलीले दिएको चम्किलो उज्यालो प्रस्ट देखिन्थ्यो ।

गुम्बाडाँडा सकिनेबित्तिकै त्यो ठाउँ सुरु भयो, जहाँ २०७२ वैशाख १२ को भुकम्पसँग मिसिएर आएको हिमपहिरोले लाङटाङ गाउँको कुनै निशानी बाँकी राखेको थिएन । विगतको झिलिमिली गाउँ तर अहिले सुन्दर लाङटाङलिरुङको ठिकमुन्तिरको त्यो बगर काट्दा मैले केही सोच्न चाहिनँ । हामी हिंडेको झन्डै एक किलोमिटर बगरमुन्तिर अहिले पनि कति शवहरु होलान् !

बगाएको लाङटाङ गाउँछेऊ पुरानैजस्तो बनिसकेको नयार्ँ लाङटाङ गाउँको एउटा होटलमा बस्ने निधो गरेर हामी सिधै कोठामा गयौं । एकछिनमा कोठाबाहिर निस्कँदा चौरतिर फुरुरु हिउँ झरिरहेको रहेछ । म डबल डाउन ज्याकेट लगाएर एक छिनमै हिउँसँग खेल्न थालें । हत्केला आकाशतिर फैलाएर हिउँका स-साना टुक्राहरु समात्दै मन हुलुका भएको महसुस गरें ।

होटलवालाले चिया अफर गर्यो । किचेनमा चिया पिउँदै उसले लाङटाङको थुप्रै कथाकहानी भन्यो, ‘हामी साना थियौं । जीवन कठिन थियो । हामीलाई खानै पनि समस्या थियो । चामलको भात हाम्रो लागि असम्भव थियो । तर, पनि हामीले हाम्रो संस्कृति जोगाएका थियौं । पर्यटक आउन थाले । पर्यटनले हामीलाई पैसा दियो । तर, हामीले परम्परालाई जोगाउन सकेनौं । संस्कृति धनले होइन, मनले जोगाउने चीज रहेछ ।’

‘त्यो हाम्रो कुल देवता हो । तर, हामीले त्यसलाई श्रद्धा गर्न छाड्यौं । पुजा गरेनौं’, बगाएको लाङटाङ गाउँमाथिको लाङटाङलिरुङको चुचुरो देखाउँदै उसले भन्यो ।

अरु थुप्रै कथा जोडेर उसले निष्कर्ष सुनायो, ‘त्यसैले पर्यटन र परम्परालाई सँगसँगै लैजान सकेमात्र हाम्रो कुभलो हुने छैन ।’

उसले त्यसरी त्यति गम्भीर कुरा गर्ला भन्ने मैले सोचेकै थिइनँ । हिमाल मात्र होइन, लाङटाङसँग त्यस्ता बौद्धिक मानिस पनि छन् ।

डेभिड र ल्यारीलाई डिनरमा दालभातको सट्टा भेजिटेबल सुप र ब्रेडविथ अम्लेट खाएर स्वाद फेर्न भनें । उनीहरु केही दिनपछि स्वाद फेर्न पाएर दंग भए ।

एक छिनमा अर्को होटलवालासँग भेट भयो । उसको दृष्टिकोणको कोण निकै फरक रहेछ, ‘म बुद्धिस्ट हुँ । म सबै धर्म र भगवानलाई उत्तिकै श्रद्धा गर्थें । लाङटाङ क्षेत्रको वस्ती-वस्तीलाई माओवादीले ऊ बेलामा ताकीताकी हाने झैं गरी भुकम्प र हिमपहिरोले हामी स्थानीय र अरु थुप्रैलाई ध्वस्त बनाएपछि भगवानप्रति मेरो विश्वास छैन । यदि भगवान हुन्थ्यो भने त्यस्तो त नहुनुपर्ने हो ।’

‘नेपालमा भुकम्प गएकै लाङटाङलाई ध्वस्त बनाउन हो’, उसलाई त्यस्तो लाग्छ रे । ‘हो, देशमा अरु थुपै्र मानिस मरे तर लाङटाङ त पुरै ध्वस्त भयो । म जब त्यो समय सम्झन्छु, म ती मृतहरु सम्झन्छु, जो असाध्यै असल र उत्तिकै मिहनेती थिए । मलाई म बाँचेकोमा पिडा हुन्छ । जीवन बेकार लाग्छ’, उसले थप्यो ।

उसको निराशा भावनात्मक थियो, जो पुरिन धेरै समय लाग्नेछ तर मर्नेहरुले बाँचेकाहरु यसरी दुखी भएको देख्न चाहँदैनन् होला, यदि उनीहरुको आत्मा कतै छ भने । तर, त्यो त्यही गाउँ र ठाउँ हो, जसले लगभग पछिल्लो तीन बर्षमा कसरी ध्वस्त गाउँ पुनर्निमाण र विकासका दृष्टिले एउटा नमुना गाउँ हुन सक्छ भनेर प्रमाणित गरिसकेको छ । बिजुली, होटल, बाटोघाटो, पुलपुलेसो, मुस्कान र मीठो बोलीसहितको अतिथी सत्कार अनि त्यसमाथि ठट्टा खेल्ने यहाँको जीवनशैलीले मलाई भुकम्पपछि लाङटाङ र लाङटाङवासीको ‘आशुँ र आशाको साथी’ बन्न पाएकोमा झन् बढी गौरव प्रदान गर्छ । आम लाङटाङबासीहरुको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले मलाई लाङटाङ सद्भावना दुतको उपाधि, जिम्मेवारी वा सम्मान गर्दा दिएको फ्रेममा ‘यु आर आवर फ्रेन्ड अफ टियर्स् एन्ड होप’ उल्लेख छ ।

दिन ५: ब्ल्याक ‘सीप !’

ल्यारी र डेभिडको जुत्ता साटासाट भएछ । एकजनाको हरियो र अर्कोको कालो रंगको जुत्ता किन साटियो न उनीहरुले थाहा पाए न मैले सोधें । थाहा पाएपछि जोडजोडले हाँस्दै फेरि आ-आफ्नो जुत्ता साटेर लाए र बिहान नौ बजे लाङटाङबाट क्यान्जीङको लागि हिंड्यौं । मुन्डुबाट थोरै अगाडि बढेपछि प्रशस्त याक, नाक र चौरीहरु भेटिए । ल्यारीले हिमाललाई पृष्ठभुमि बनाएर थुपै्र फोटो खिच्यो ।

सिन्धुम नपुग्दै फेरि एउटा घटना घट्यो । डेभिडले थाहा पायो, ल्यारीको हातमा स्टिक थिएन । अघि उसले फोटो खिचेको ठाउँमा स्टिक बिर्सेछ । केही छिन अघि भर्खर हिंडेको बाटो फर्केर मैले उसको स्टिक ल्याइदिएँ । दृश्य नै यस्तो थियो जहाँ उसले स्टिक बिर्सनु स्वभाविक थियो । प्रकृतिमा कतिपय यस्ता ठाउँ हुन्छन्, जहाँ कुनै स्मृति बाँकी रहँदैन । धन्न Û उसले स्टिक मात्र बिस्र्यो ।

सिन्धुम कटेर केही अगाडि पुग्दा डेभिडले क्यान्जीङबाट झर्दै गरेको स्पेनिस् जोडीसँग हाइ हेलो गर्यो । उनीहरु क्यान्जीङले दिएको उत्साह मिसिएको खुशी बोकेर फर्किरहेका थिए । स्पेनिस केटाले के के न भनुँला झैं गरी डेभिडलाई भन्यो, ‘केही बर्षअघि मैले न्युजिल्यान्डको एउटा मान्छे भेटेको थिएँ, जोसँग हजारवटा सीप -भेंडा) थियो ।’

‘तिमीसँग कतिवटा सीप छ ?’, उसले सोध्यो ।

‘मसँग एउटा पनि सीप छैन’, डेभिडले भन्यो ।

‘होइन, ऊसँग एउटा सीप छ । त्यो म हुँ’, मैले भनें ।

‘ओ यस् । ब्ल्याक सीप’, उसले स्वरमा स्वाद मिसाएर भन्यो ।

हामी सबै हाँस्यौं । र, एक अर्कालाई यात्राको शुभकामना दिंदै आ-आफ्नो बाटो ततायौं ।

बाटामा भेटिने प्राय प्रत्येकलाई डेभिडले एउटै प्रश्न गथ्र्यो, ‘प|mम ह्वेर यु आर ।’

कतिले भने, क्यान्जीङबाट ।

कतिले भने, घोडा तबेलाबाट ।

कतिले भने, मुन्डुबाट ।

कतिले भने, थाङ्स्यापबाट ।

कतिले भने, स्युाफ्रुबेसीबाट ।

कतिले भने, लामा होटलबाट ।

कतिले भने, रिभर साइडबाट ।

कतिले भने, शेर्पा गाउँबाट ।

कतिले भने, रिम्छेबाट ।

अझ अरु कत्ति ठाउँका नाम लिए ।

फेरि ऊ भन्थ्यो, ‘होइन, तिमी कुन देशबाट आएका हौ ? त्यो साधेको ।’

त्यसपछि कतिले जर्मनी भने ।

कतिले फ्रान्स भने ।

कतिले नेदरल्यान्डस् भने ।

कतिले स्कटल्यान्ड भने ।

कतिले स्पेन भने ।

कतिले जापान भने ।

कतिले साउथ कोरिया भने ।

कतिले अमेरिका भने ।

कतिले अष्ट्रेलिया भने ।

अरु पनि थुपै्र देश भने ।

ऊ यात्रामा अनेक मानिसलाई एउटै प्रश्न किन सोधिरहेको थियो भने त्यो असाध्यै सजिलो र स्वाभाविक प्रश्न थियो । तर, कुरा त्यति मात्र थिएन ।

हिमाली बाटोमा अनेक देशका मानिसबीचका ती क्षणिक कुराकानीहरुमा हार्दिकता र हाँसो हुन्थ्यो । तर, त्यो भन्दा पनि महत्वपूर्ण केही थियो ।

डेभिडले भन्यो, ‘यसरी कुरा गर्दा कुरा मात्र होइन, अनेक भुगोल र संस्कृतिको इनर्जी आदानप्रदान भइरहेको अनुभव गर्छु म ।’

मलाई उसको तर्क असंगत लागेन ।

हामी एक नबज्दै क्यान्जीङ पुग्यौं । हावा बेस्सरी चलिरहेको थियो । जब गेस्ट हाउस छिर्यौं, न्यानोले हामीलाई कुरिरहेको थाहा पायौं । चारैतिर हिउँसहितका पहाडहरुबीच हामीले थकाई बिस्र्यौ तर भोक बाँकी नै थियो । पेटको भोक त एक छिनमा आइपुगेको दालभातले साम्य भयो । तर, आँखा र मनको भोक जारी थियो ।

एक छिनमा म हातमा एक कप तातो पानी लिएर क्यान्जीङबाट क्यान्जीङरीतिर उक्लिएँ । परबाट एउटी सिंगल केटी झरिरहेको देखें ।

‘बाटोमा भेटिएकी टुलुसकी प|mेन्च केटी जेसिका पो रहिछ कि ?’, मनमनै यस्तै सोच्दै ऊतिर नजिकिएँ । ऊ एउटा ठुलो ढुँगामा उभिएर हात फैलाइरहेकी थिई । मानौ चारैतिरका सबै हिमाल अंगालोमा बेर्दै छे ।

नजिक पुग्दा उसले मलाई पनि चिनिहाली । पछिल्लो दुई बर्षदेखि यात्रामा निस्केकी ऊ इन्डिया हुँदै नेपाल आएकी रहिछ । रोचक त के भने सुनौली नाकाबाट नेपाल छिरेकी ऊ काठमान्डुसम्म इन्डियामा किनेको मोटरबाइक आफैले चलाएर एक्लै आइपुगेकी रहिछ । इन्डियन प्लेटको उसको बाइक ऊ काठमान्डुमै छाडेर लाङटाङका पहाडहरुमा हावा झैं उडिरहेकी थिई ।

‘तिमी के गर्छ्यौ ?’, मैले सोधें ।

‘आइ एम अ फार्मर’, उसले भनी ।

‘त्यो तिम्रो उद्यम हो कि पेशा ?’

‘त्यो मेरो पेशा हो । म अरुकोमा फार्मिङ गर्छु ।’

‘तिम्रो परिवारमा अरुले पनि त्यही काम गर्छन् ?’

‘म शहरी परिवारकी छोरी हुँ । र, मैले किसान हुन घरसँग विद्रोह गरें । परिवार वा कृषिमध्ये मैले कृषिलाई महत्व दिएँ ।’

छेउमा केही चांैरी थिए । एउटा छोर्तेन थियो । त्यसबाहेक चीसो हावाले हामीलाई काँडाले जस्तै घोचिरहेको थियो । तर, ऊ फूलजस्तै सुन्दर कुरा गरिरहेकी थिई, ‘म यसरी नै जीवन चलाउँछु, जसरी मलाई मन लाग्छ तर मलाई थाहा छ, सधैं यसरी चल्दैन । एक दिन म सेटल हुनेछु । तर, कहिले ? कहाँ ? कसरी ? मलाई थाहा छैन ।’

दिन ६: हिमालमा हावाको ‘छोइडुम’

झन्डै ५ हजार उचाई मिटरको उचाइमा पुगेपछि अविश्वसनीय आनन्दको सास फेर्यौं । ६४ बषिर्य डेभिड, ६८ बषिर्य ल्यारी र झन्डै आधा उमेरको म । हामी तिनैजनाले  जीवनमा पहिलो पटक त्यति उचाई हाँसिल गरेका थियौं । उचाईमा प्रकृतिको हिमाली सौन्दर्य मिसिएको थियो । त्यसमा हामीले एक अर्कासँग बधाई पनि मिसाइदियौं ।

कतिले अलि तलको चुचेरोलाई नै क्यान्जिङरी भन्दा रहेछन्, जसको उचाई त्यहाँ एउटा ढुँगामा लेखिए अनुसार ४ हजार ४ सय मिटर थियो । कतिले त्यसमाथिको अर्को चुचुरोलाई चाहिं क्यान्जिङरी भन्दारहेछन् । केही स्थानीयले त्यसलाई मेनछयाम्सा पनि भन्दारहेछन् । हामीले त्यहाँ दुईटा ढुँगामा त्यो चुचुरोको उचाई ४ हजार ६ सय ५० लेखेको देख्यौं । त्यो ढुँगा समातेर मैले फोटो पनि खिचें । तर, म्यापमा ४ हजार ७ सय ७३ लेखेको मलाई सम्झना छ । कुनलाई सही मान्ने मैले ठम्याउन सकिन ।

बिहान ८ बजे हिंडेका हामी ११ नबज्दै त्यहाँ पुगिसकेका थियौं । ग्लेसियरले उसको आँखै अगाडि हामीलाई हेरिरहेको थियो । हिमालहरुको हालत पनि त्यस्तै थियो । प्रकृतिको हिमाली लीलालाई त्यति नजिकबाट मैले पहिलो पटक अनुभव गरें । आँखाले त्यस्तो शान्ति पहिलो पटक पाएको थियो । मन प्रकृतिसँग एकाकार भइसकेको थियो ।

हामी त्यहाँ पुगेको केही क्षणमा बादललाई डाह लागेछ । उत्तरका हिमाललाई छपक्कै छोपे पनि बादलको क्षेत्रफल सानो भएर हो कि सबै दिशामा फैलिएको हिमालको ‘थ्री सिक्स्टी डिग्रीको पानारोमिक’ आयतनले हो, अरुतिरबाट हिमालहरु हामीलाई हेरेर हाई भन्दै थिए । म पनि के कम ! चर्को स्वरमा भनिदिएँ, ‘हेलो ! हिमाल ।’

हावालाई पनि डाह लागेछ क्यारे । हिउँका स-साना असंख्य टुक्राहरुसहित हावा पनि बेस्सरी चल्न थाल्यो ।

उचाईको उपलब्धता यदि स्थायी हुने हो भने त्यसको सौन्दर्यचाहिँ स्थायी हुने थिएन होला । हामी तल र्झन सुरु गर्यौं । हिमाली सुख्खा घाँस र हिमाली हावा निकै चर्को स्वर निकालेर खेलेको देखें । एउटा घासको गाँजबाट फड्केर अर्को र फेरि अर्को गाँजसँग हावाले ‘छोइडुम’ खेलेको त्यस्तो दुर्लभ दृश्य मैले कहिल्यै देखेको थिइनँ । जीवनभरलाई एउटा सुन्दर सम्झना बनेर बस्नेछ मसँग त्यो क्षण ।

अझ तल झर्दै गर्दा हिमाली चराहरु कहिले भुई नै छोइएला झैं गरी त कहिले धेरैधेरै माथि आकाशतिर अनेक स्टाइलले उडेको देख्दा म पनि तिनै चरासँग उडिरहेको थिएँ । केही चरा त झन्डै एक मिनेटसम्म आकाशमै स्थिर देखिन्थे । मलाई त्यसरी नै जहाँ म थिएँ, त्यसरी नै स्थिर भइरहने मन थियो ।

दिन ७: चौंरी जिन्दगी

टाढा कतै गइएन । क्यान्जीङ र वरपर दिन त्यिो । अलि पर नगएको होइन, जहाँबाट चेरकोरी, यलापिक र लाङसिसा जाने बाटो सुरु हुन्थ्यो । त्यहीँसम्म मात्र गएर फक्र्यौं हामी । जहाँ मानिसको होइन, प्रकृतिको राज्य थियो ।

र्फकंदा हामीले थुप्रै याक भेट्यौं । ल्यारी याकको वानसाइडेड प्रेमी थियो, मजस्तै । ऊ जतिबेला पनि याककै कुरा गथ्र्यो । जब याकहरुको बथान देख्थ्यौं हामी, ऊ प्रशस्त फोटो खिच्थ्यो । ‘नजिकै गएर फोटो खिचे हुन्छ’, म भन्थें ।

‘होइन, म उनीहरुको लयलाई भत्काउन चाहन्न’, ऊ भन्थ्यो । र, टाढैबाट याकहहरुको आफ्नै गति र मतिको थुप्रै फोटोहरु खिचिरहेको थियो ।

अलि पर पुग्दा क्यान्जीङ गुम्बाको छेउमा हामीले तीन जना स्थानीय बुढीहरु देख्यौं । तीनमध्ये एकले एउटा हातमा मालाका गेडीहरु गनिरहेकी थिइ भने अर्को हातमा माने घुमाइरहेकी । चाउरीका असंख्य रेखाहरुबीच ऊ जीवनका विस्मातहरुलाई अध्यात्मको यात्रामा डोर्याउँदै थिई । तीमध्ये अर्की बुढी त्यति कम्युनिकेटिभ देखिन्थिन । ऊ चुपचाप सायद आफैसँग मात्र सम्वाद गर्दै थिई । तेस्रीचाहिँ अरु दुईभन्दा नितान्त फरक देखिन्थी ।

म उनीहरुतिर बिस्तारै बिस्तारै नजिकिएँ । केही फोटोहरु खिचें । र, तेस्रीसँग गफ गर्न थालें । ऊ पनि मसँग गफिन निकै हौसिएकी थिई ।

त्यसअघि अलि तल रहेको उसको चिया होटलमा चियाको निम्तो दिई उसले ।

‘समय मिले आउँला’, मैले भनें ।

उसले उसको शरीर पोल्ने अनि घुँडा र पिडुँलामा बेलाबेला समस्या आउने गरेको बताई ।

मैले त्यसको लागि आफुले जानेको नशासम्बन्धि समस्याविरोधी तरिकाहरु उसलाई बताइदिएँ । ऊ तत्कालै ‘इन्टर्न’ गर्न थाली ।

त्यसरी हामी एकअर्कासँग नजिकियौं । त्यसपछि उसले भुकम्प सन्दर्भ सुनाई, ‘मैले छोराछोरी गुमाउन नपरे पनि भुकम्पले मेरी बहिनीलाई छाडेन । त्यति मात्र होइन, मेरा नजिकका थुप्रै आफन्तलाई भुकम्पले निल्यो’, अनुहारमा भावुकता मिसाएर उसले भनी ।

‘अनि तपाईंको बुढा ?’, मैले सोधें ।

‘ऊ भुकम्पअघि नै बितेको हो’, उसले भनी ।

‘उसलाई सास फेर्न गाह्रो हुने रोग (दम) थियो । त्यसमाथि सुगर पनि थपियो’, उसले थपी ।

‘ए साँच्ची सुगर भनेको के हो ?’, उसले निकै उत्सुक भएर सोधी ।

मैले जानेको भनिदिएँ ।

‘अनि प्रेसर भनेको कस्तो रोग हो ?’, उसले फेरि सोधी ।

मैले फेरि जानेको भनिदिएँ ।

‘झन्डै दश बर्षअघि मैले उसलाई गुमाएँ’, सुस्केरा हाल्दै आफैलाई सम्झाई, ‘जीवन सधैं अजम्बरी कहाँ छ र ?’

‘तर, जे छु ठिकै छु । मर्नेलाई सम्झेर किन रोएर बस्ने ?’, उसले मृत्युलाई सहज रुपमा लिदै वर्तमानमा शतप्रतिशत बाँच्दै गरेको अनुभव सुनाई ।

‘मर्ने त मरी गए । अब चिन्ता गरेर के काम । होइन त सर ?’ उसले प्रश्न गरी ।

‘हो त । तपाईंले ठिक भन्नुभयो’, मैले भनें ।

कानै झार्लाजस्तो कडा बतासबीच बादलहरुले चारैतिरबाट हिमाललाई छोप्न थाल्यो । बताससँगै हिउँ पनि बषिर्न थालेपछि एकै छिनमा क्यान्जीङ भ्याली सेताम्मे भयो । आहा ! ह्वाइट क्यान्जीङ ।

‘यो पो हो त खास क्यान्जीङ’, मनमनै त्यसो भन्दै दंग परेर चीसो हावा र हिउँसँग खेल्न थालें । नजिकै एउटा चौंरी गोठ रहेछ । रमाइलोलाई चीसोले जितेपछि त्यतै छिरें । छिरिङ आगो फुकेर आफैलाई तताउँदै रहेछ ।

‘आगो नजिक आउनोस्’, उसको स्वागत निकै न्यानो थियो । त्यसमा आगोको तातो थपिएपछि बाहिरको चीसो बाँकी थिएन । त्यसमाथि उसले तात्तातो चौंरीको दुध दियो ।

बीसवटा चौंरीको मालिक छिरिङको बाह्र महिने आइटेनरी जाडोमा तल स्याप|mुबेसी हुँदै गर्मीमा माथि लाङसिसाखर्क रहेछ । त्यसरी नै बर्षौंदेखि हरेक बर्ष छिरिङसँग चौंरी र चौंरीसँग छिरिङको जीवन चलिरहेको छ ।

ऊ र चौंरीहरु दुवै मेरा लागि उत्तिकै पि्रय विष बने । छिरिङले कथाजसरी उसको जीवन सुनायो, ‘म जन्मेको आमा बुवाको धर्मले होला । तर, आमा सानैमा बित्नुभयो । बुवाको चौंरी गोठ थियो । म बुवासँगै गोठमा बस्न थालें । स्याप|mु हुँदै लाङसिसाखर्कसम्म र लाङसिसाखर्क हुँदै स्याप|mुसम्म चौंरी चराउँदै म हुर्के । एक दिन बुवा पनि बित्नुभयो । मैले उहाँको जिम्मेवारी सम्हालें । चौंरी चराउने कामबाहेक मैले अरु केही जानेको छैन । अहिले त म पनि बुढो भइसकें ।’

‘कति बर्ष हुनुभयो ?’

‘चवन्न’, त्यति भनेर छिरिङको कथा फेरि कन्टिन्यु भयो, ‘मैले नजानेर जीवनमा धेरै गल्ती गरें हुँला । त्यसैले अब मैले पनि धर्म गर्नुपर्छ ।’

‘कस्तो धर्म ?’

‘चौंरीको जस्तै ।’

‘भन्नाले ?’

‘चौंरीले हामीलाई दिनुसम्म दिएको छ । कसैको बिगार गर्दैन । दुध दिन्छ । होटल र चीज फ्याक्ट्रीमा दुध बेचर पैसा पाउँछु । चौंरीको गोबरले हिमाली माटो मलिलो बनाएको छ । गोबरलाई सुकाएर आगो बाल्न मिल्छ । त्यसले गर्दा जंगलको दाउरा कटनीमा कमी हुन्छ । हो, म चौंरीजस्तै असल काम गरेर सानोमा मैले आनअन्जानमा गरेका गल्ती पखाल्दै मर्न चाहन्छु’, उसले भन्यो ।

रात पर्दै गर्दा क्यान्जीङ अझै सेतो थियो । हिउँको सेतोमा क्यान्जीङ निकै सफा देखिएको थियो ।

दिन ८: जीवनकै सुन्दर स्लिप

लाङटाङ फर्किंदै गर्दा क्यान्जीङ अझै सेताम्मे थियो । हिउँले ढाकेको बाटोमा पाइलाका डोबहरु छोड्दै हामी तल झर्दै थियौं ।

केही दिनअघि क्यान्जीङ उक्लिँदै गर्दा तल झर्दै गरेकाहरुले हाम्रा अनेक प्रश्नहरुको उत्तर दिएका थिए । तर, हामी फर्किदै गर्दा क्यान्जीङ उक्लिरहेकाहरु त्यति खुलेर कुरा गरिरहेका थिएनन् । कारण के थियो भने, उनीहरुलाई क्यान्जीङ पुग्न हतार थियो । क्यान्जीङको मोहनीले उनीहरुका मुखभन्दा पनि खुट्टाहरु बढी उत्साही थिए ।

दुईजना जर्मन भेटिए । हामीसँगको सम्वाद तन्काएर अरुभन्दा उनीहरु फरक रहेको उनीहरुले पुष्टि गरे । ल्यारीले सोध्यो, ‘तिमीहरु के गर्छौ ?’

‘म सरकारी सेवामा छु’, एकजनाले भन्यो ।

‘अनि ऊ चाहिं आकाशको ताराहरु हेर्ने टेलिस्कोप बनाउँछ’, साथीलाई देखाउँदै फेरि उसैले भन्यो ।

आकाशका ताराहरुको कुरा गरेपछि म त्यसैत्यसै रोमाञ्चित भइहालें । तर, त्यतिमै मात्र सिमित भइनँ ।

भनें, ‘हिमालय र हिमाली उपत्यकाबाट ताराहरु टेलिस्कोप बिना पनि निकै सुन्दर देखिन्छन् । आज राती याद गर है ।’

उनीहरु पनि निकै उत्साही देखिए ।

बिस्तारै बिस्तारै हिंड्दै लगभग तीन घन्टामा हामी लाङटाङ पुग्यौं । र, त्यहीँ रोकियौं । सोलारको तातो पानीले नुहाइधुवाई गरेपछि डाइनिङ हलमा बस्दै थियौं । एउटी आइपुगी । किताब पढ्न थाली । जसलाई न्युयोर्क टाइम्सले बेस्ट सेलर र वासिङट्नपोस्टले स्पेलबाइन्डिङ भनेको भनेको थियो । त्यो किताब थियो, जापनीज लेखक मुराकामीकृत ‘एन्ड हिज इयर्स् अफ पिलगि्रमेज ।’ मैले यो पटकको लाङटाङ यात्रामा देखेको किताब पढ्दै गरेको पहिलो दृश्य थियो, त्यो ।

मैले किताब पठनसँग जोडेर पाठकको प्रशंसा गरें ।

‘पहाडमा आएर के किताब पढ्नु ? यो यात्रा असंख्य किताबभन्दा कति महत्वपूर्ण छ, त्यो तिमीलाई नै थाहा छ । यो त किताब लेख्ने ठाउँ पो हो, जुन तिमी गरिरहेका छौ’, डेभिडले मलाई खुसुक्क भन्यो ।

छेउमा ल्यारी र डेभिड तास खेलेर इन्जोई गरिरहेका थिए ।

‘तिमी फ्रेन्च हौ ?’, ल्यारीले हातमा तास लिएरै कर्ली कपाल भएकी चश्मा लगाएकी अग्ली त्यो एउटीलाई सोध्यो ।

‘होइन । म इजरायली हुँ’, उसले भनी ।

‘पहिलो पटक हो ?’, डेभिडले पनि तास हातैमा लिएर सोध्यो ।

‘होइन । दोस्रो पटक । पहिलो पटक २७ बर्षअघि म आएको थिएँ । त्यस बेलाको नेपाल अर्कै थियो’, हातमा किताब समाएरै उसले भनी ।

ऊ इजरायलको एउटा कम्नीमा प्रोजेक्ट मेनेजर रहिछ  ।

‘अहिले कसरी आइपुग्यौ ?’, डेभिडले सोध्यो ।

‘छोरी । उसको काम नै यात्रा गर्नु हो भने पनि हुन्छ । म छोरीले गर्दा यहाँ आएको हुँ’, उसले भनी ।

छोरीचाहिँ नुहाइवरी एकछिनमा चीसो कपाल लिएर आइपुगी । ऊ अघिल्लो बर्ष पनि  नेपाल आएर एभरेस्ट बेसक्याम्प गएकी रहिछ । उसलाई नेपालले यसरी मोहनी लगाएछ, अब ऊ हरेक बर्ष नेपाल आउने रे ।

‘त्यसैले यस पटक पनि आएको हुँ’, त्यति भनेर उसले मलाई सोधी, ‘तिमी कहाँबाट आएका हौ ?’

‘काठमान्डुबाट’, मैले भनें ।

‘मैले त तिमी इन्डियाबाट आएको हौ भन्ठानेको !’ आमाचाहिँले आश्चर्य प्रकट गरी ।

‘नो, आइ एम माउन्टेन ब्वाई’, मैले भनें ।

उनीहरु आश्चर्यमा परे ।

रात पर्दै थियो । ल्यारी र डेभिडले सदा झैं दालभात खाए । इजरायली आमा छोरीले फ्राइड राइस र करी शेयर गरे ।

अघाएपछि ओछ्यानको कुरा निक्ल्यो ।

‘मैले जीवनकै सुन्दर स्लिप पाइरहेको छु यो ट्रेकमा’, आमाचाहिँले भनी । छोरीचाहिँ अघि नै सुत्न गइसकेकी थिई । भन्ठानेको त ओन्डीले बेरिएर फेरि हामीतिरै आई । र, गफिन थाली ।

दिन ९: लाङटाङ पश्चिम 

लाङटाङ छोड्नुअघि होटल मालिक पूर्वतिर हेरेर बसिरहेको थियो । क्यान्जीङ जाँदा पनि ऊ त्यसरी नै पूर्वतिर हेरेर नै बसिरहेको थियो । ल्यारीले पनि मार्क गरेको रहेछ ।

‘किन’, उसले सोधिहाल्यो ।

‘पश्चिमपटि्ट पुरानो लाङटाङ थियो, जो हिमपहिरोले बाँकी राखेन । भित्र जमिनमा अझै पनि कति शवहरु होलान्’, होटलवाला भन्दै थियो, ‘पश्चिम फर्किँदा त्यो समय सम्झन्छु । आफन्त सम्झन्छु । मेरो ठुलो होटल थियो । होटल सम्झेर म दुखी छैन । किनभने मैले फेरि यो होटल बनाइसकें । तर … ।’

उसले त्यति मात्र भनेन । अरु थुप्रै कुरा भन्यो । भन्यो, ‘भुकम्पले गदौ हाम्रा धेरै बुढापाका धर्मशाला पुगे । दलाई लामालाई भेट्न पाए । कति त काठमान्डु पनि गएका थिएनन् । उनीहरुले केही महिना काठमान्डुमा बिताए । कतिले हेलिकप्टर उडेको त देखेका थिए तर चढेका थिएनन् । चढ्न पाए ।’

लाङटाङलिरुङ, लाङटाङ टु, लाङसिसालगायत थुप्रै हिमालका नामहरु मात्र होइन, हिमालका अरु थुप्रै कथा कहानी पनि उसले सुनायो ।

लाङटाङ क्षेत्रका केही पिकहरुको अर्कोपटि्ट तिब्बत रहेको बताउँदै कहीँकतैबाट तिब्बतमा भाले बासेको आवाज नेपाली हिमालको पाखाबाट सुनेको कुसैले सुनाएको उसले बतायो ।

त्यति नै बेला टुलुसकी जेसिका झर्दै गरेकी भेटिई । ऊ हामीभएतिर आई । ऊसँगको यो तेस्रो भेट थियो । पहिलो भेटमा उक्लँदै थिई । दोस्रो भेट क्यान्जीङमा भएको थियो ।

उसले भनी, ‘फ्रेन्चहरुले नेपालीबाट सिक्न सक्छन् । तर, त्यसको लागि उनीहरुले आफ्नो मनलाई फराकिलो बनाउनु पर्छ र फरक तरिबाट सोच्न थाल्नुपर्छ । मलाई बुद्धिजम मन पर्छ र म निकै बदलिएर फ्रान्स जाँदै छु । मैले जीवनलाई सजिलो बनाउने विधि सिकें । जे छ ठिकै छ भनेर सोचे जीवन सजिलो हुने रहेछ ।’

‘म यहाँ किन आएँ भने म नेपाल आउन चाहन्थें । यो एउटा पि्रय देश थियो मलाई । तर, त्यसभन्दा बढी नेपाल भन्ने बित्तिकै मलाई शान्ति भन्ने लाग्थ्यो । मलाई यहाँ हुँदा निकै सुरक्षित भएको अनुभुति पनि भयो’, ऊ भन्दै थिई ।

हामी अगाडि बढ्दै गर्दा एक जोडी स्वीस भेट्यौं । उनीहरु दुवै गफी रहेछन् । क्यान्जीङबाट हिंडेका उनीहरुको लक्ष्य लामा होटल रहेछ । उमेरले परिपक्व देखिए पनि भर्खर वैवाहिक जीवनमा बाँधिएका रहेछन् । बाटामा भेटिएका प्लास्टिक बोतलहरु देखेर उनीहरु दिक्क थिए । ‘प्रकृतिलाई फोहोरी बनाउनु ठुलो अपराध हो’, केटीले भनी ।

केटो भन्दै थियो, ‘यहाँको प्रकृति सफाईको लागि म मेरो सरकारलाई चिठी लेख्छु ।’ उसको विश्वास थियो, स्वीस सरकारले उसले दिएको सुझावमा आधारित भएर लाङटाङमा क्लिनिङ प्रोजेक्ट पठाउनेछ । पेशाले ऊ उसको देशमा सिकर्मी हो रे ।

सरकारप्रति एउटा सामान्य स्वीस नागरिकको त्यस्तो विश्वास देख्दा मलाई हाम्रो सरकारको खुवै याद आयो ।

केटीले भनी, ‘यो मेरो पहिलो पटक हो ।’

केटोले भन्यो, ‘यो मेरो दोस्रो नेपाल यात्रा हो । सानो देश तर ठुल्ठुला पहाड र हिमालजस्तै सुन्दर मुस्कानका धनी नेपाली । यस पटक नेपालमा म मेरो जन्म दिन मनाउन आएको हुँ । तर, मेरो उद्धेश्य त्यति मात्र होइन, मैले थुप्रै काम गरें । मैले क्यान्जीङमा एकजना स्थानीयको बगैंचा गोडमेल गरिदिएँ । अर्को घरमा तारहरुको कनेक्सन नमिलेर बत्ती बलेको रहेनछ । मैले केही छिन आफुले जानेको सीप लगाएर त्यहाँ उज्यालो बनाइदिएँ ।

ऊ अझ उत्साहित भई भन्दै थियो, ‘स्थानीयहरु पुनर्निमाणका लागि दुई हातले हम्मर समाएर ठुल्ठुला ढुँगाहरु फुटाइरहेका छन् ।’

स्वरमा निराशा थप्दै थियो ऊ, ‘तर, जब म युरोप पुग्नेछु, मेरो यति महान अनुभव मेरा मानिसले बुझ्ने छैनन् । किनभने, अधिकाँश पश्चिमाको आँकाक्षा र चाहना फरक छन् । हजुरआमाको पालामा हामी पनि नेपालीजस्तै थियौं । हामी पनि सामाजिक थियौं । सामुहिक भावना थियो । तर, अहिले हामी बदलिएका छौं । हामीलाई सेलफोन भए पुगेको छ । के त्यो जीवन हो ? मलाई लाग्छ, होइन । मैले मेरो सेलफोन काठमान्डुमै छाडिदिएँ । तर, म जेनेभा र्फकंदा काठमान्डुमा छाडेको सेलफोन सँगै लैजान्छु र फेरि भौतिक जीवनमा फर्किन्छु । मलाई थाहा छ, हामीले परिवार र छिमेकीलाई एउटा लयमा राख्नुपर्छ तर हामी त्यसा गर्न सक्दैनौं । एक्लै बाँच्न कति निरश छ भनेर हामी बिर्सन्छौं ।’

‘आइफोन, आइप्याड र टिभीभन्दा मानवता धेरै ठुलो कुरा हो’, उसले भन्यो,  ‘पहाडको यात्रा गर्नु आफुलाई पवित्र बनाउने एउटा माध्यम हो । प्रेम र मानवतातिर हाम्रा आकाँक्षालाई रुपान्तरण गर्ने प्रकृया हो ।’

‘यसरी हामी सधैं सधैं यस्तै मीठामीठा कुराकानी गरिहन सक्छौं यहाँ’, उभिएरै केटीले भनी ।

उनीहरुसँग गफिदै गर्दा हामीले एउटा जोडी माथि उक्लिदै गरेको भेट्यौं । उनीहरु म्युजिक मस्तीमा थिए । स्पिकरबाट बज्दै गरेको डान्सिङ नम्बर सुनेर हामीले पनि हल्का नाच्दै उनीहरुलाई हाई भन्यौं । तर, केटी हामीसँग नराम्ररी जंगिई । हामीले छेऊ लागेर बाटो दियौं । उनीहरु बिना मुस्कान अगाडि बढे । स्वीस जोडी भन्दै थिए, ‘यो यात्राको यो एउटा तीतो अनुभव हुने भयो ।’

हामी तीन घन्टामा घोडातबेला पुग्यौं । दिउँसै हामीले आ-आफ्नो व्यागप्याक आ-आफ्नो कोठामा बिसायौं र बाहिर खुला आकाशमुनि थकाई मार्न थाल्यौं । थकाई त खासै लागेको थिएन ।

तर, छेउमै लामा होटलबाट लाङटाङ उक्लँदै आएका केही ट्रेकर हामी छेउ थकाई मार्न आए । उनीहरु रसियन रहेछन् । उनीहरुमध्ये एकजना हामीसँग गफिन थाल्यो । ऊ इमरजेन्सी डाक्टर रहेछ ।

‘नेपालामा यो मेरो दोस्रो पटक हो’, उसले भन्यो ।

‘किन ?’

‘थाहा छैन । मलाई थाहा छैन किन म नेपाल भनेपछि हुरुक्कै हुन्छ । सायद यहाँको पहाडले मलाई मोहनी लगाएको छ ।’

‘पहाड त यहाँ मात्र छैन नि ?’

‘यहाँको उचाई । भयानक उचाइसहितका पहाड । तिनले पो मलाई आकषिर्त गरेका हुन् कि ? अझ यहाँका मानिसले पो मलाई आकषिर्त गरेका हुन् कि ? म काठमान्डु र हिमालयहरुमा अत्यन्त सुरक्षित महसुस गर्छू । मस्कोमा मानिसमा रिस छ । भन्नाले मस्कोमा हामी चाँडै रिसाउँछौं । यहाँ पनि मानिस रिसाउलान् तर सिधै रिस देखाउँदैनन्’, त्यति भन्दै उसले आफ्नी श्रीमतीलाई सम्झ्यो, ‘ऊ एउटा कम्पनीमा मार्केटिङ मेनेजर छे ।’

ऊ भ्लादि्मर पुटिनतिर पुग्यो, ‘धेरै रसियन पुटिनका अन्धभक्त छन् भने कतिपय रसियन उसलाई मन पराउँदैनन् । तर, पुटिन निर्विकल्प छ । ऊ पदको लागि भन्दा पनि पद उसको लागि जस्तो भएको छ । पुटिनको ठाउँमा हामी अरु कुनै नाम कल्पनै गर्न सक्दैनौं । जनतामा पुटिनको त्यस्तो प्रभाव छ ।’

छेउबाट फेरि अर्को रसियन हाम्रो नजिक आयो । ऊ अनेक काम गर्ने रहेछ । रियल स्टेट, स्टक एक्सचेन्ज, जोयलरीलगायत अरु थुप्रै प्रोजेक्ट छ रे उसका ।

‘म रसियन हुँ तर मस्कोमा भन्दा युरोपका शहरहरुमा बढी हुन्छु । र, फुर्सद मिल्यो कि नेपाल आइहाल्छु । नेपाल विश्वकै सबैभन्दा सुन्दर देश हो’, उसले भन्यो ।

‘किन ?’

‘थाहा छैन’, अघिको इमरजेन्सी डाक्टरले झैं उसले पनि उही कुरा दाहोरायो ।

सन् २००० मा पहिलो पटक ऊ नेपाल आएको रहेछ ।

‘त्यसपछि हरेक बर्ष कम्तीमा एक पटक र बढीमा तीन पटकसम्म नेपाल आउने गरेको छु । मेरो नेपाल मोह देखेर मेरा कतिपय साथीहरु मलाई बहुला पनि भन्छन् । तर, मलाई नेपालमा म यात्रु होइन, यही माटोको अंश हुँ जस्तो लाग्छ । मलाई लाग्छ, म मेरो घरमा आइपुगेको छु । हो, कतिपय देशहरु नेपाल जस्तैजस्तै छन् । जस्तो कि भुटान, तिब्बत, इन्डिया । तर, मलाई नेपाल नै आफ्नो लाग्छ । यो अर्को प्लानेट हो । यो मेरो प्लानेट हो’, उसले भन्यो ।

‘नेपाली पनि मलाई आफ्नै परिवारका खुला मन भएका सदस्य झैं लाग्छन्’, ऊ त्यतिमै रोकिएन, ‘यहाँ हुँदा म आफ्ना काम, तनाव र थकानहरुबाट मुक्त, स्वतन्त्र र रिल्याक्स्ड् भएको अनुभव गर्छु । म जब यहा हुन्छ, मलाई म हुनुको अनुभुति हुन्छ । म रसियन भए पनि नपालीले जस्तो अनुभव गर्छन्, म त्यस्तै अनुभव गर्छु । यहाँको मौसम र पानी पाए मलाई अरु केही चाहिँदैन । नेपालमा पनि खासगरी डोल्पा एकदम मन पर्छ । यदि जीवनमा केही अनौठो भएन भने म अर्को नोभेम्बर वा अक्टोबरमा नेपाल आउँछु ।’

‘म झन्डै पच्चीस पटक नेपाल आएँ हुला । उसको चाहिँ यो अठारौं नेपाल यात्रा हो’, छेऊको अर्को साथीलाई देखाउँदै उसले भन्यो ।

त्यति भनेर उनीहरु बाटो लागे । हाम्रो टेबलमा लन्च पनि आइसकेको थियो ।

त्यसरी नै हामीले अनेक देशका अनेक मानिससँग नेपालप्रेमका कथाहरु त्यो दिन निकै बेरसम्म सुन्यौं । साँझ डाइनिङ हलमा फेरि अरु साँझजस्तै शेयरिङक्रम सुरु भयो ।

अमेरिकाको कोलोराडोबाट आएको जोडीलाई एकजनाले सोध्यो, ‘बच्चा छैनन् ?’

‘छैनन्’, श्रीमान स्मिथतिर देखाउँदै श्रीमती स्मिथले भनी, ‘ऊ बिहेलगत्तै बच्चा चाहन्थ्यो तर त्यही बेला के थाहा भयो भन मलाई क्यान्सर भएको रहेछ । त्यसपछि मैले बच्चा जन्माउनेबारे सोच्नै सकिनँ । हामीले बिना बच्चा नै जीवन चलाउने सोच बनायौं ।’

हेर्दा भर्खरैका देखिने उनीहरु रिटायर्ड जोडी रहेछन् ।

‘आमाको मृत्यु हुँदा म ३५ बर्षको थिएँ । त्यति बेला आमा ५२ बर्षको हुनुहुन्थ्यो । मैले सोचें, आमाकै उमेरमा मेरो मृत्यु हुने हो भने मेरो आयु अब १७ बर्षमात्र बाँकी छ । त्यसपछि मैले चाँडैभन्दा चाँडै जागिर छाड्ने निणर्य गरें । म ४२ बर्षको हुँदा जागिर छाडें । त्यसपछि यात्रामा छौं’, अन्तिममा श्रीमतीको हात समाउँदै स्मिथले भन्यो ।

अमेरिकाका स्मिथ दम्पति नेपाल आउनुअघिसम्म भियतनामका स्कुलहरुमा अंग्रेजी शिक्षक रहेछन् ।

‘हामीले त्यहाँ १४ महिना पढायौं । त्यहाँ हाम्रो आम्दानी निकै उनन्त थियो र खर्च निकै कम । अमेरिकामाभन्दा त्यहाँ हाम्रो वचत राम्रो थियो’, उनीहरुले भने ।

डेभिड र ल्यारी तास खेल्दै थिए । छेउमा बेल्जियमको राजधानी ब्रसेल्सबाट आएको अधवैंशे जाभेय स्लो मोसनमा बियर पिउँदै आफुलाई चार्ज गर्दै थियो भने उसको सेलफोन सोलार व्याट्रीमा चार्ज भइरहेको थियो । स्मिथ दम्पतिमध्ये श्रीमती किताब पढ्दै थिई र श्रीमान आइप्याड चलाउँदै थियो । तर, त्यति हुँदाहुँदै पनि त्यहाँ कुराकानी भइरहेको थियो ।

जाभेय एक्लो थिया तर मस्तीमा थियो । ऊ झन्डै दुई महिनाको लागि नेपाल आएको रहेछ । मेडिकल स्टोरमा काम गर्ने ऊ लाङटाङपछि गोसाईंकुन्ड पुगेर हलेम्बु हुँदै हिंडेरै काठमान्डु पुग्ने रे । त्यसपछि एभरेस्ट बेसक्याम्प उसको लक्ष्य रहेछ । उसको अंग्रेजी राम्रो थिएन । एकाधबाहेक उसले अंग्रेजी शब्द जानेको पनि रहेनछ । तर, ऊ हात, हाँसो र हाउभाउबाट अरुभन्दा झन् बढी बोलिरहेको थियो । यसअघि उसले तान्जानियको किलोमन्जारो चढिसकेको रहेछ ।

‘पच्चिस बर्षपछि म केही दिनका लागि इमेल, इन्टरनेट र सेलफोनरहित छु’, ल्यारीले हातमा तास मिलाउँदै भन्यो ।

‘अचम्म !’ स्मिथले भन्यो ।

 

दिन १०: फ्रेन्च गर्ल एन्ड फ्रेन्च फ्राई

घोडातबेलाबाट रिभरसाइड झर्दै गर्दा लालीगुरासँहरुमात्र भेटिएनन् । स्पेनिस जोडी पनि भेटिए । उनीहरु नुवाकोटको एउटा गाउँमा केही दिन बिताएर यता आएका रहेछन् ।

‘हामीलाई त्यो गाउँमा एउटा बुढो मान्छेले उसको घरमा स्वागत गर्यो । र, आफैले भुटेर तात्तातो मकैको फूलहरु खुवायो । हामीले पैसा दिन खोज्यौं । उसले लिन मानेन । हामीले मानिसका घरका मुख्य ढोकाहरु दिनभर खुल्लै देख्यौं । उनीहरु डरबिनाको जिन्दगी बाँचिरहेका छन् । तर, हामीकहाँ मानिससँग मनिस डराउँछन् । डरबिनाको नेपाली जिन्दगी देखेर मलाई डाड लाग्यो । भयबिना बाँच्नु कत्ति सुन्दर होला Û म अनुमान मात्र गर्न सक्छु’, स्पेनिस केटीले भनी ।

‘एरिक भ्यालीको हनी हन्टर हेरेर म नेपाल आएको हुँ । प्रकृति, जीवन र साहसको कथा हो त्यो, जो नेपालको विशेषता हो’, केटोले भन्यो ।

उसले मात्र होइन, क्यान्जीङबाट क्यान्जीङरी जाँदै गर्दा भेटिएको एउटा सोलो ट्रेकरले एरिक भ्यालीकै क्याराभान हेरेर नेपालको आएको सुनाएको मैले सम्झें ।

लञ्चआवरमा हामीले दुई फ्रेन्च केटीहरु भेट्यौं । रिभरसाइडमा उनीहरुले नेपाल र नेपालीको प्रशंसा सुरु गरे ।

‘नेपाली डाउन टु अर्थ हुन्छन्’, एउटीले भनी ।

‘उनीहरु रियल र हेल्पफुल हुन्छन्’, अर्कीले थपी, ‘म नेपालमा आफुलाई सुपरसेफ अनुभव गर्छु । फिजिकल्ली मात्र होइन, मनदेखि नै ।’,

‘काठमान्डुदेखि स्याफ्रुसम्म लोकल बसमा आउँदा अरु पेसेन्जरले मेरो झोला खुशीसाथ आफ्नो सीटमा राखिदिएर मलाई सहयोग गरे । हामीकहाँ त्यस्तो सहयोग असम्भव छ’, पहिलीले सुनाई ।

उनीहरुले मगाएको फ्रेन्च फ्राई आयो ।

‘फ्रेन्च गर्ल एन्ड फ्रेन्च फ्राई ! पर्फेक्ट कम्बिनेसन । तर, किन आैंला आकारमा काटेर फ्राई गरेको पोटेटोलाई फ्रेन्च फाई भनेको होला ?’, मैले सोधें ।

हाँस्दै थाहा नभएको उनीहरुले बताए ।

तर, नेपालबारे निकै थाहा पाएजसरी पालैपालो ती दुई फ्रेन्च सुन्दरीहरु बोलिरहे ।

‘दुख वा सुख दुवैलाई समान जस्तै ठानी चल्न सक्छौ तिमी नेपाली । हो, यहाँ युरोपमा जस्तो सम्पन्नता छैन तर तिमीहरु हामीभन्दा धेरै खुशी छौ । र, त्यो नै सबैभन्दा ठुलो कुरा हो’, उनीहरुले भने ।

रिभरसाइडको होटलको टेबलमा यात्रा अनुभुतिका केही बुँदाहरु टिप्दै थिएँ, एउटा इटालियन युवा मरो छेऊमा आएर सोध्यो, ‘के तिमी लेखक हौ ?’

‘तिमीलाई के लाग्छ ?’ मैले सोधें ।

‘मलाई लाग्छ, तिमी लेखक हौं’, अनुमानबाट उक्लिएर उसले भन्यो ।

‘म लेखक हुँ भन्ने लाग्छ भने किन मलाई तिमीले लेखक हौ भनेर सोधेको त ?’, सेन्स अफ ह्युमर मिसाएर मैले सोधें ।

त्यसपछि ऊ आफ्नो पेशा, जीवन र रुचिबारे गफिन थाल्यो ।

‘म अर्थोपडिक नर्स हुँ’, उसले भन्यो ।

‘डाक्टरी प्राविधिक काम हो । जस्तो कि रोग पत्ता लगाउनु, औषधी लेखिदिनु वा अपरेसन गर्नु । तर, नर्सिङ भनेको भावना, सेवा र मानवता हो । एउटा उच्च तपस्या हो । मेरो लागि यो अति माथिल्लो स्तरको सुन्दर पेशा हो’, मैले भनें ।

‘म कहिलेकाँही मेरा अन्य सहकर्मी नर्स साथीहरुलाई कराउँछु । किनभने, धेरै नर्सहरु यो पेशालाई केवल पेशा मात्र ठान्छन् । र, यसको गहिराई नबुझी झारा तिर्ने किसिमले काम गर्छन्’, उसले भन्यो ।

एउटा इजरायली केटोले मोबाइलमा मीठो गीत बजाइरहेको थियो । खुला आकाशमुनिको टेबलमा चार इजरायली र एक इटालियन नर्स तास खेलिरहेका थिए । तास खेल्दै सबै त्यही गीत गुनगुनाउँदै थिए । नदीको संगीत झन् मीठो लाग्दै थियो । पहाडले ढाकेको रिभर साइडमा नदीको स्वर सुन्दै हिमाल हेर्नुको आनन्दबीच म अक्षरहरु लेख्दै थिएँ ।

छेउको किचेनबाट खाना पकाउँदै गरेको आगोको धुँवा उडिरहेको थियो । पकवानको सुगन्ध मिसिएको धुवाँ त्यसैत्यसै मीठो लाग्दै थियो ।

अलि उताको एउटा कोठाको बाहिरपटि्ट दुई जर्मन आइमाई थिए् । एकजना शिक्षक रहिछ । अर्की एउटी टेलिभिजनमा काम गर्छे रे । सँगसँगै उसको माउन्टेन ब्लग पनि छ रे ।

साँझको ६ बजेको थियो । होटलवाला अलि परबाट दाउरा बटुल्दै किचेनतिर लम्किरहेको थियो । दिउँसो के भएको थियो भने, त्यही बाटो हुँदै राम्चेको भीमबहादुर क्यान्जिङ उक्लिदै थियो । संगै आएको डब्लुडब्लुएफको स्थानीय कर्मचारी विनोदले भने अनुसार भीमबहादुर राम्चेतिर नर्सरी म्यानको रुपमा चिनिन्छ रे । एक छिन थकाई मार्न उनीहरु हाम्रै टेबलमा आए ।

भीमबहादुर गीति रहेछ । उनीहरुले थकाई मात्र मारेनन्, चिया र बिस्कुट खाँदै गीत पनि गाए । होटल्नी पनि गीतमा गीत जसरी नै मिसिई । होटलवाला परबाट श्रीमतीको स्वर मिसिएको गीत सुनेर मुस्कानसहित मख्ख देखिन्थ्यो । शब्द मैले बुझिन ।

‘पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका देउताहरुको सेवाको गीत हो यो’, उनीहरुले मलाई गीतको सन्दर्भ र सन्देश सुनाए, ‘यो घामको गीत हो । सुर्यको गीत हो । यो लाङटाङको गीत हो ।’

त्यसपछि उनीहरुले मलाई नै बुझाउन भनी अर्को गीत गाए ।

‘हिमालचुली पल्लोपटि्ट

छ्याङ्छयाङ् बग्ने खोला ।

माइती होला, चेली होला

सरम राखी बोल ।’

होटल्नीले भीमबहादुरको साथ लाएर गाएको गीत साँझ पर्दै जाँदा ल्यारीले डाइनिङमा सुन्न मन गर्यो । बेलुकीको खानापछि होटल्नीले दिउँसोको उही गीत त दोहाराइन । तर, स्थानीय भाकामा अझ उच्च स्तरको गीत गाई ।

लय र स्वर बुझे पनि गीतको अर्थ र भाव बुझिनँ ।

‘यो लाङटाङको गीत हो’, उसले गाउँदै भावानुवाद गरी,

‘सबैभन्दा पहिले पहेंलो छ । त्यहाँ लामा बस्छन् । उनलाई हाम्रो श्रद्धा छ ।

दोस्रोमा हरियो छ । त्यहाँ अगुवा बस्छन् । उनलाई हाम्रो श्रद्धा छ ।

तेस्रोमा सेतो छ । त्यहाँ बाबुआमा बस्छन् । उनीहरुलाई हाम्रो श्रद्धा छ ।

चौथोमा एउटा गोलो घेरा छ । सबैजना गाइरहेका छन् । सबैजना नाचिरहेका छन् ।’

गीत सुन्दासुन्दै होटलवाला बाहिर गयो । तत्कालै भित्र आयो र भन्यो, ‘बाहिर निकै चीसो छ ।’

‘भित्र निकै तातो छ’, ल्यारीले भन्यो ।

‘र, बीचमा के छ ?’, मैले सोधें ।

‘बीचमा ढोका छ’ मैले नै उत्तर दिएँ ।

‘ढोका खुलै राखे हुन्छ’, डेभिडले भन्यो ।

‘होइन, ढोका बन्द गरे हुन्छ’, ल्यारीले भन्यो ।

‘होइन, ढोका खुले राखे हुन्छ’, डेभिडले भन्यो ।

‘होइन, ढोका बन्द गरे हुन्छ’, डेभिडले भन्यो ।

ढोका अर्थात भित्र र बाहिरको सीमा । बाहिर र भित्रको सीमा । भित्र र बाहिर अर्थात एक जना खोल्ने र अर्को बन्द गर्ने पक्षमा थियो । बीचमा ढोका जस्तै म थिएँ । खोल्दा वा बन्द गर्दा केही फरक नपर्ने मिडिलपाथमा म थिएँ ।

गीतमा गफ थपिएको थियो ।

मेरो टाउको झ्यालको सीसामा पर्यो । झ्यालको चुकुल खुल्लै रहेछ । झ्याल खुल्यो । बाहिर लाङटाङ खोला गीत जसरी गुन्जिरहेको थियो ।

यस्तै र अनेक गीत र गफमा हामीले रात निकै छिप्पिएको बिर्सियौं । हामी बेडरुम नगएसम्म होटलवाला र वाली डाइनिङ हलमा हामीसँगै बसिरहे ।

 

दिन ११: ‘गाँस छोड्नु, साथ नछोड्नु’

रातभर पानी पर्र्यो । खोलाको गीत र गतिमा झरीको संगीत मिसिएको थियो । मीठो निन्द्रापछिको बिहान रिभरसाइडमा घाम निकै न्यानो र पारिलो थियो । जब घाम जमिनमा ठोक्कियो, भिजेको जमिनबाट बादलजस्तै बाफ उडिरहेको थियो ।

लामा होटलबाट बिहानै क्यान्जीङ उक्लदै गरेका थुप्रैलाई हामीले रिभरसाइडमा भेट्यौं । तीमध्ये एकजना मैले मेरो जीवनमा भेटेको बर्मुदाको पहिलो मान्छे थियो । ‘तर, म अचेल भारतको नयाँ दिल्लीमा बस्छु’, उसले त्यति भन्दानभन्दै उसका साथीहरु अघि लागे । तत्कालै पनि ऊ उनीहरुको पछि लागिहाल्यो । म ऊसँग बुर्मदाबारे अरु थुप्रै कुरा गर्न चाहन्थें । स्कुलमा छँदा धेरथोर पढेकोले होला, मेरा लागि बर्मुदा ट्रयाङ्गल मात्र नभएर बर्मुदा पनि निकै रुचिको विषय थियो ।

सात जनाको अर्को समुह आयो र उनीहरु चाइनीज जस्ता देखिन्थे ।

‘यो यात्रामा पहिलो पटक चाइनीज देखियो’, डेभिडले भन्यो ।

तर, उनीहरु साउथ कोरियन रहेछन् ।

रिभरसाइडमा हामी डे अफ रिल्याक्सेसन मनाउँदै थियौं ।

नीलो आकाश ।

न्यानो घाम ।

सेता पहाड ।

फाट्टफुट्ट सेता बादल ।

सेतो पानी बगिरहेको हिमाली खोला ।

हरिया रुख ।

लटरम्मै राता लालीगुराँस ।

केही खच्चडहरु ।

चराका चिरबिर ।

बेलाबेला देखिने लङ्गुर ।

प्रकृतिमा यी सब आनन्दित थिए । हामी पनि त्यसमा मिसिएका थियौं । र, आनन्दित थियौं । आनन्दको चुलीमा थियौं ।

इजरायली केटाहरु पनि ढिलो गरी उठे । बे्रकफास्ट टेबलमा ल्यारी उनीहरुसँग निकै बेर गफियो । जियुस र क्रिश्चियानिटीबारे कुरा भए । इजरायल र युद्ध अनि थुप्रै अनेक विषयमा कुरा भए । शान्ति र आतंकवादका कुरा भए ।

ब्रेकफास्टपछि उनीहरु चारमध्ये दुई जना उकालो लागे र दुई जना स्याफ्रुबेसीतिर झरे । दुई जनालाई हाई अल्टिच्युड सिक्नेस भएकोले फर्केको उनीहरुले हामीलाई बताए ।

इजरायलबाट नेपाल यात्राको लागि संगै हिंडेको साथी रिभरसाइडमा छुटि्टएको देखेपछि मैले नेपाली उखान सम्झें, ‘गाँस छोड्नु, साथ नछोड्नु ।’ यदि ती चार जना नेपाली भइदिएको भए या त उनीहरु सबै संगै क्यान्जीङ उक्लन्थे कि सँगै स्याफ्रुबेसी झर्थे । सायद त्यसैलाई भन्छन्, कल्चरल डिफरेन्स ।

दिउँसो हामी हिमालको दृश्यसहित घामको मजा लिदै थियौं । एक जोडी क्यान्जीङ नपुगी लाङटाङबाटै फर्केको भेट्यौं । कारण रातको झरीले गर्दा बाक्लो हिउँले पोतिएको जमिन थियो । उनीहरुसँग हामीले भन्यौं, ‘तिमीहरुको लागि क्यान्जीङ नै लाङटाङ झरेछ । त्यसैले तिमीहरु लाङटाङबाटै फक्र्यौ ।’

उनीहरुले के सोचेछन् भने, यहाँ त यति बाक्लो हिउँ छ भने क्यान्जीङमा डबल होला । त्यसमाथि अल्टिच्युट सिक्नेसको आशंकाले पनि उनीहरुलाई र्फकन प्रेरित गरेको उनीहरुले बताए ।

दिन १२: स्याफ्रुमा क्यान्जीङरी

उठ्नेबित्तिकै डाइनिङ हलमा ल्यारी र डेभिड मग्न भेटिए । उनीहरु ‘ऊँ माने पेमे हुँ’को धुन र ध्वनि सुन्दै आँखा चिम्लिरहेका रहेछन् । म पनि त्यसमा मिसिएँ । एक छिनमा हामीले आँखा खोल्यौं ।

एउटा कुनाको बुद्धको तस्विरअगाडि होटल्नीले जल भरी र दियोमा बत्ती बाली । जिज्ञाशासहित त्यो सब हेरिरहेको ल्यारीलाई होटल्नीले बुझाई, ‘हरेक दिन भगवानको अगाडि बत्ती बाल्यो भने मरेपछि हिंड्नुपर्ने अध्याँरो बाटो उज्यालो हुन्छ । पानी चढाए मरेपछिको तिर्खा मेटिन्छ ।’

हामी बिहानै स्याफ्रुबेसीतिर तन्कियौं । लामा होटल आइपुग्दा एउटी साहुनीले मलाई जुस पिउन भनी । मैले पिइदिएँ । उसले फेरि रोटी खानु भनी । मैले मानिनँ । त्यसपछि शेर्पा गाउँबाट ल्याएको ‘मीठो रक्सी’ तताएर दिई । मैले एक गिलास पिइदिएँ । आधा घन्टा लामा होटलमै अलमलिएको म त्यसपछि रनक्क रन्केर एकैछिनमा रिम्छे आइपुगें ।

रिम्छेमा ल्यारी र डेभिड मलाई कुरिरहेका थिए । त्यसपछि म अघिअघि उनीहरु पछिपछि तलतिर झर्यौं । अनेक देशका मानिस माथि उक्लँदै थिएँ । उनीहरुमा क्यान्जीङ र क्यान्जीङ वरपरका चुचुरा पुग्ने उत्साह र भोक देखिन्थ्यो । हामी क्यान्जीङ मनभरि बोकेर फर्किरहेका थियौं ।

बाम्बुमा दिउँसोको खाना खाएर हामी छिट्छिटो तलतिर तन्किरह्यौं । स्टिकले हामीलाई निकै आड दिएको थियो । दोमान आइपुग्दा स्याफ्रुबेसीको आकाशमा बादल कालो देखियो । झरी पर्नुअघि नै स्याफ्रुबेसी पुग्ने उद्धेश्यले हामीले पाइला अझ चाँडो चाल्यौं । तर, ४ बजेतिर स्याफ्रु आइपुग्दा अघिको कालो बादल गायव भयो । र, घाम चरक्क चर्कियो । क्यान्जीङरीको दिव्य चीसो सम्झँदै मलाई काठमान्डु आउनै मन लागेन ।

(अशोक सिलवाल लाङटाङ सद्भावना दूत हुन् । १२ वैशाख ०७२ को विनाशकारी भुकम्प र हिमपहिरोपछि मानवविहिन बनेको लाङटाङ क्षेत्रमा पैदलै पुग्ने पहिलो पत्रकार एवम् लेखक सिलवालले लाङटाङ उत्थानका लागि ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकका दुईटा वृत्तचित्र बनाएका छन् । तेस्रो पटक त्यहाँ पुगेर भर्खरै फर्केका सिलवालले आफ्नो १२ दिने लाङटाङ टे्रकिङका अनेक भेटघाट, सम्वाद, घटना र अनभुवलाई जोडेर निकै सुक्ष्म र संवेदनात्मक सिरिज् तयार गरेका छन् । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम)का ट्रेकिङ इन्स्ट्रक्टर समेत रहेका उनले यो सिरिज्मार्फत लाङटाङमात्र होइन, विश्वका असँख्य मानिसका मनमा नेपाल कसरी बसेको छ भन्ने सुन्दर चित्र पनि कोरेका छन् ।)

२०७५ वैशाख ११ गते १८:४१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Sapana Basnet लेख्नुहुन्छ    |   २०७५ वैशाख १८ गते १३:०७

    Very nice article sir……good to see you.

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this