Comments Add Comment

नेपाल भित्रिने ८० प्रतिशत विषादी तरकारीमा प्रयोग

११ वैशाख, पोखरा । नेपालमा खपत हुने बिषादीको पाँच भागको चार भाग बिषादी तरकारीमा प्रयोग हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

बाली संरक्षण निर्देशनालय, बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ पोखरा र ब्यबसायीक कृषि तथा ब्यापार आयोजना (प्याक्ट)को संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजित ‘तरकारी र फलफुलमा बिषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नेपालमा प्रयोग हुने बिषादीको ८० प्रतिशत भन्दा बढी बिषादी तरकारीमा मात्र प्रयोग हुनेगरेको तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालले नेपालमा हरेक वर्ष ६९ करोड बराबरको बिषादी खपत हुने गरेको जानकारी दिए । उनका अनुसार सन २०१५/१६ मा ५७५ टन बिषादी खपत भएको थियो ।

ढकालले नेपालमा एक हेक्टर जमिनमा प्रति वर्ष ३९६ ग्राम बिष प्रयोग हुने गरेको पनि जानकारी दिए । तर, तरकारीमा मात्र गणना गर्ने हो भने १ हेक्टर बराबर प्रति वर्ष १ केजी ६ सय ५ ग्राम बिषादी प्रयोग गर्ने गरिएको छ । यो दर हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ ।

यद्यपि, अन्य देशको तुलनामा नेपालमा प्रयोग भइरहेको विषादीको मात्रा न्यून रहेको उनको दावी छ । ढकाललका अनुसार एक हेक्टर जमिनमा प्रति वर्ष जापानमा ११ केजी, कोरियामा १६ केजी, इटालीमा साढे १३ केजी र छिमेकी देश भारतमा साढे ४ केजी बिषादी प्रयोग गर्ने गरिएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक ढकालले बिषादी औषधि नभएको बताए । उनले भने,’बिषादी औषधि होइन, बिष हो, त्यसैले यसको प्रयोगमा सचेत हुनुपर्छ ।’

बिषादीले वातावरण र पानीलाई दूषित बनाउँदै पशु, पन्छी र मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने बताए ।

बिषादीकै कारण परागसेचनमासमेत नकारात्मक प्रभाव परिरहेको र त्यसको उदाहरण माहुरीको संख्या घट्नुलाई लिन सकिने उनको भनाइ छ ।

बिषादी प्रयोगका कारण क्यान्सरसमेत हुन सक्ने र मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर गर्ने उनले उल्लेख गरे ।

बिषादीको प्रयोग न्यूनिकरण गर्नुका साथै यसको वैकल्पिक उपायको रुपमा गैररासायनिक तथा जैविक बिषादी प्रयोग गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उनले बताए । त्यसका लागि बिषादीको प्रभावबारे सचेतना जगाउन आवश्यक रहेको र त्यसमा निर्देशनालय लागिरहेको उनको भनाइ छ ।

रासायनिक बिषादी रक्सीजस्तै भएको बताउँदै उनले भने,’रासायनिक बिषादी रक्सीजस्तै हो, यसले तत्कालै काम गर्छ तर क्षेतिपनि उत्तिकै गर्छ, तर जैविक बिषादी घ्यूजस्तै हो, यसले बिस्तारै सकारात्मक काम गर्छ र दीर्घकालीन पनि, त्यसैले रासायनिक बिषादी सकभर नगरौं, गरेपनि कम गरौं ।’

उनले बिषादीको मात्रा ३५ प्रतिशतसम्म भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत सम्मलाई केही दिन राखेर खान योग्य र ४५ प्रतिशत भन्दा माथी बिषादी भएमा त्यो खान अयोग्य अर्थात नष्ट गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ४ का कृषि, वन, वातावरण तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले उपभोक्ता सचेत भएर अत्यधिक बिषादी प्रयोग भएका वस्तु प्रयोग नगरिदिए किसान र ब्यबसायीलाई बिषादी प्रयोग नगर्न मनोवैज्ञानिक दवाब दिने बताए ।

उपभोक्ता सचेत हुने वित्तिकै उत्पादक किसान र ब्यबसायी जैविक बिषादी प्रयोग गर्न बाध्य हुने उनको जिकिर छ । उनले बिषादी मापक मेसिन ल्याएपनि दक्ष जनशक्ति नहुँदा प्रयोगमा आउन नसकेको तितो यथार्थ जानकारी गराए ।

अब प्रादेशिक क्वारेन्टाइन र त्यो सँगसँगै प्रयोगशालासमेत राख्ने प्रयास भइरहेको उनले जानकारी दिए । उनले भारतबाट आयातित वस्तु नेपाल भित्राउँदा वा अर्को प्रदेशबाट प्रदेश नम्बर ४ मा खाद्य वस्तु भित्राउँदा प्रमाणिकरण गरिएको मात्र भित्राउनका लागि ब्यबसायीलाई आग्रह गरे ।

बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुबेदीले बिषादी प्रयोग गर्नै नहुने वस्तु नभएको बताउँदै बरु यसको प्रयोग गर्दा कुन समयमा हाल्ने, कति हाल्ने, कति पटक हाल्ने तथा बिषादी हालेको कति समयपछि मात्र खान योग्य हुन्छ भन्नेबारे जानकारी लिएर मात्र बिषादी प्रयोग गर्नुपर्ने बताए ।

कृषक चित्रनाथ पौडेलले कानूनमा बिषादी छर्न लाइसेन्स चाहिन्छ भनेपनि सरकारले लाइसेन्स नभएका कृषकलाई बिषादी छर्न प्रोत्साहित गर्न अनुदानमा ट्याङ्की र स्पे्र दिनेगरेको बताए ।

उनले कृषकले नाफालाई मात्र ध्यान दिएर बिषादीको मात्रा धेरै प्रयोग गर्नेगरेको, राज्यले पनि नियन्त्रणका लागि ध्यान नदिएको र उपभोक्ताले पनि अर्गानिक भन्दा सर्लक्क परेको सिधा र चिल्लो तरकारी खोज्दै हिंड्दा बिषादी प्रयोगकर्ता हौसिदै गएको विश्लेषण सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment