Comments Add Comment

सर्पका साथी मण्डल, जसले १४ वर्षमा ३२ सय सर्पको उद्दार गरे

१२ वैशाख, जनकपुरधाम । धनुषा र उदयपुर जिल्लाबाट दुई ओटा राजगोमन (किङ कोब्रा) सर्पको उद्दार गरिएको छ । किंग कोब्रा (राजगोमन) लाई दुर्लभ र विषालु सर्प मानिन्छ । यो सर्प अन्य सर्पको तुलनामा दुई गुणा बिषालु हुन्छ ।

मिथिला वाईल्डलाईफ ट्रष्टले धनुषाको मिथिला नगरपालिका र उदयपुर कटारी नगरपालिका १ बेलसोतबाट राजगोमन (किङ कोब्रा) सर्पको उद्दार गरेको हो । राजगोमन (किङ कोब्रा) लगभग १० फिट ४ ईन्च र १२ फिट ५ ईन्चको रहेको ट्रष्टले जनाएको छ ।

जिल्ला वन कार्यालय धनुषा मार्फत मिथिला नगरपालिका ११ को बाहुनमाराबाट १० फिट ४ इन्च लम्बाई र ५ किलो तौल रहेको र कटारी नगरपालिका १ बेलसोतमा रहेका नेपाली सेनाको ब्यारेकबाट १२ फिट ५ इन्च लम्बाई र ७ किलो तौल भएका अर्को सर्प उद्दार गरिएको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए ।

उद्दार गरिएको दुवै सर्पहरुलाई मानव बस्तीभन्दा टाढा जंगल क्षेत्रमा छाडिएको छ ।

विषालु सर्पबाट सामान्यतया सबै टाढा नै हुन खोज्छन् । मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष मिथिलाबिहारी निवासी देवनारायण मण्डलले विषालु सर्प उद्दार गर्दै आएका हुन् । उनले आफ्नोे सर्पसंग घनिष्ट मित्रता रहेको बताए ।

सर्पको संरक्षणमा विगत १४ वर्षदेखि लागेका मण्डलले हालसम्म ३२ सय भन्दी सर्पहरुको उद्दार गरेको बताए । सर्प र म घनिष्ट मित्र हो, सर्प देखिना साथ फोन आउँछ, उद्दार गर्न जाने गरेको छु’ उनले भने ।

मण्डलले उद्दार र संरक्षण गरेका सर्पमा लोपोन्मुख राजगोमनसहित अन्य विभिन्न प्रजातिका सर्पहरु छन् । सर्पलाई हेर्ने बित्तिकै त्यसलाई मार्न खोज्ने प्रवृत्ति पनि निकै बढेकोमा उनी दुखी छन् । त्यसैले उनी १४ वर्षदेखि सर्पको संरक्षणमा लागेका हुन् । भारतमा रहँदा बन्यजन्तु् संरक्षणको क्षेत्रमा काम गरेका मण्डल सन् २०१२ देखि धनुषा कार्यक्षेत्र बनाएर सर्पको जीवनरक्षामा जुटेका छन् ।

अहिले तराई मधेसमा गर्मी बढेसंगै विषालु सर्पको प्रकोप पनि बढिरहेको छ । चुरे क्षेत्रमा बढ्दो मानव अतिक्रमण र बन विनाशका कारण विषालु सर्पहरु मानव बस्तीमा देखापर्न थालेका छन् । चुरे क्षेत्र सर्पहरुको उचित बासस्थान रहेकामा पछिल्लो समय चुरे क्षेत्रको मानव बस्तीमा राजगोमन (किङ कोब्रा) सर्प देखिन थालेका हुन् ।

बढ्दो बनजंगल विनाशका कारण विषालु सर्पहरु मानव बस्तीमा देखापर्न थालेपछि जिल्ला वन कार्यालय र सामुदायिक वनमार्फत खबर हुन साथ उद्दार गर्ने गरेको मण्डलले बताए ।

मानवीय क्षति हुन नदिन र सर्पहरुको वातावरणीय महत्व र मानव र सर्पको सह अस्तित्वको संकटमा पर्न नदिन उद्दार गरी पुन बनमै छाडिने गरेको मण्डलको भनाइ छ ।

ट्रष्टले सर्पको उद्दार संगसंगै स्थानिय समुदायलाई सर्पदंशबाट जोगिन र प्राथमिक उपचारका बारेमा जनचेतना जगाउने गरेको छ ।

पछिल्लो समय चुरे क्षेत्रबाट दुर्लभ सर्पहरुको तस्करीसमेत हुने गरेको छ । राजगोमन (किङ कोब्रा) सर्प दुर्लभ भएको जिल्ला बन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment