Comments Add Comment

गाउँको सिंहदरबारले देखेन हात्तीपीडितको दुःख

गुनासोको पोको बिसाउन प्रधानमन्त्री भेट्ने इच्छा

हात्तीले भत्काएको कोशी टप्पु छेउको दुर्गीदेवी यादवको घर ।

१३ वैशाख, सप्तरी । सप्तरीको कोशी टप्पु आरक्ष छेउका बासिन्दा हात्ती आतंकबाट आजित छन् । मान्छे मार्ने, अन्नबाली सखाप पार्ने, घर भत्काइदिने जस्ता क्रियाकलाप दिनहुँजसो हुन्छ तर, सरकारी निकायले समस्याको स्थायी समाधान खोज्नेतर्फ ध्यान दिएको छैन ।

मान्छेको ज्यान जानासाथ बैठक, भेला गरेर काम गर्न थालेजस्तो गर्ने तर स्थायी समाधान ननिकाल्ने सरकारी निकाय र जनप्रतिनिधिहरुबाट स्थानीयबासी रुष्ट छन् । यसअघि पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका सप्तरीबासी अब फेरि एकपटक काठमाडौंमै पुगेर केन्द्र सरकारलाई घच्घचाउने तयारीमा छन् ।

पछिल्लो ६ वर्षयता सप्तरी, सुनसरी र उदयपुरका १७ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

मानवीय क्षतिको श्रृंखला

१ माघ २०७४ मा सप्तरीको कन्चनरुप नगरपालिकाका दुई जना महिलाको ज्यान हात्तीको आक्रमणबाट गयो । कन्चनरुप नगरपालिका ५ कि ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मन्जुदेवी साहको हात्ती आक्रमणबाट मृत्यु भएपछि कोशी टप्पु वन्यजन्तु आरक्षसहित केही सरकारी निकाय जाग्यो ।

यो घटनालगत्तै सरकारी निकाय हात्ती नियन्त्रण गर्ने सवालमा प्रवचन गर्न अगाडि बढ्यो । जनप्रतिनिधिहरुले पनि तत्कालै हात्तीको आक्रमणबाट जनतालाई बचाउन बिभिन्न किसिमको उपायमुखी भाषण गरे ।

कोशी टप्पु वन्यजन्तुको सुनसरी कुसहास्थित सप्तरी, सुनसरी र उदयपुरका सांसद, प्रदेश सांसद, राष्ट्रियसभाका सांसददेखि स्थानीय तह प्रमुखसम्म भेला भए हात्तीसहित टप्पुका वन्यजन्तुबाट मानवको ज्यान बचाउने सन्दर्भमा । १२ फागुन २०७४ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कासहित सप्तरीका सांसद डा. सुर्यनारायण यादव, उदयपुरका सांसद डा. नारायण खड्का, सुनसरीका सांसद ज्ञानेन्द्र बहादुर कार्कीसहित तीनै जिल्लाका प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुखहरुको सहभागितामा भेलाको आयोजना गरियो । भेलाले एउटा कार्यदल बनायो । वन्यजन्तुबाट हुने क्षति, कोशी टप्पु वन्यजन्तु आरक्षको घेराबेरा, आरक्षको सुदृढीकरण गर्ने, बन्यजन्तुको आतंकलाई न्यूनीकरण गर्ने जिम्मेवारी दिँदै चाँडै पूरा गर्ने प्रतिबद्वतासहित निर्माण भएको कार्यदल कता हरायो, कसैलाई थाहा छैन । कार्य दल त हरायो, तर हात्ती आक्रमणबाट मान्छेको ज्यान जानेक्रम भने रोकिएको छैन ।

कोशी टप्पु वन्यजन्तु आरक्षको हात्ती आक्रमणमा मंगलबार पुनः एक महिलाले ज्यान गुमाएकी छन् । जिल्लाको कन्चनरुप नगरपालिका ११ ठेलिया निवासी ४५ वर्षीया दुर्गीदेवी यादवको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । घरमा सुतिरहेका बेला उनको घर भत्काउँदै हात्तीले आक्रमण गरेपछि घटनास्थलमै उनको मृत्यु भयो । यो घटनापछि यस क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।

‘जब मान्छेको मृत्यु हुन्छ, अनि मात्रै सम्बन्धित निकाय कोशी टप्पु र यसको वन्यजन्तुको बारेमा बोल्न शुरु गर्छन्,’ कन्चनरुप नगरपालिकाका उत्सव आचार्य भन्छन्, ‘सबैले वन्यजन्तुलाई नियन्त्रण गर्ने, कोशी टप्पुलाई घेरबार गर्ने बताएको केही दिनमै सबै पुनः सुत्छन् ।’

सांसद र सम्बन्धित निकायका प्रतिनिधिहरु भेला हुनुभन्दा एक महिनाअघि ७ माघ २०७४ मा सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुले सप्तरीको पूर्वी भेगमा गएर जंगली जनावरको आतंक रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यो प्रतिबद्धता पनि सेलाइसकेको अवस्था छ ।

कोशी टप्पु वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने यी तीन जना महिला मात्र छैनन् । पछिल्लो ६ वर्ष यता सप्तरी, सुनसरी र उदयपुरका १७ जनाले ज्यान गुमाइसकेका छन् । उसो त प्रत्येक वर्ष हात्तीले यी तीन जिल्लामा बितण्डा मच्चाउँदै व्यक्तिको ज्यान लिनुका साथै घर तोडफोड गर्दै आएका छन् । यसका साथै अन्नबाली समेत सखाप पार्दै आएका छन् कोशी टप्पुका हात्ती, अर्नासहितका जंगली जनावरले ।

काठमाडौंले देखेन दुःख

कोशी टप्पु वन्यजन्तु आरक्षको छेउँमै रहेको सप्तरी जिल्लामा हात्तीको आतंक प्रायः नियमित नै देखा पर्दछ । रातिको समयमा मात्रै होइन दिउँसो पनि हात्ती मानव वस्तीमा पसेर ठूलो जन–धनको क्षति पुर्‍याउँदै आएको छ ।

२२ चैत २०७३ को दिउँसै हनुमाननगर–कंकालनी नगरपालिकाको हनुमाननगरमा हात्ती प्रवेश गरेको थियो । यो हात्तीले स्थानीय रोशन झा र संजय साफीको ज्यान लिनुका साथै थप पाँच जनालाई गम्भीर घाइते बनायो । बजारमै पसेको हात्तीलाई धपाउन स्थानीय र प्रहरीलाई झण्डै आधा दिन नै लागेको थियो ।

‘हात्ती आतंकको घटना भएपछि मात्रै सरकारी निकाय र जनप्रतिनिधि जाग्ने परम्परा बनेको छ,’ कांग्रेसका युवा नेता ललन गुप्ताले भने, ‘यसको स्थायी समाधान खोज्न सम्बन्धित निकायले अबिलम्ब ध्यान दिनु जरुरी छ ।’

उनका अनुसार यस क्षेत्रका जनताले पटक–पटक स्थानीय प्रशासनलाई गुहार लगाउनेदेखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदासमेत कुनै सुनुवाइ हुन सकेको छैन ।

कन्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र पटक–पटक जनतालाई वन्यजन्तुले दुःख दिएको सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि केही प्रगति हुन नसकेको बताए । उनले यो समस्याको समाधान गर्नका लागि काठमाडौं नै जाने बताए । ‘हामी एउटा टोली बनाएर चाँडै काठमाडौं जान्छौं,’ उनले भने, ‘अब जंगली जनावरले दिँदै आएको दुःखलाई स्थायी रुपमा जसरी पनि समाधान गराउनेतर्फ ध्यान दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment