१३ वैशाख, काठमाडौं । नयाँ विधानअनुसार क्रिकेट संघको चुनाव भएपछि मात्र नेपालको निलम्बन फुकुवा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि मात्र निलम्बन फुकुवा हुने बताएको हो । कोलकाता बोर्ड बैठकपछि आईसीसीले भनेको छ, ‘संशोधित विधानअनुसार निर्वाचन भएपछि निलम्बन फुकुवाको दिशामा आगामी कदम चालिनेछ ।’
यससँगै आगामी जुनमा आईसीसीको साधारणसभाबाट नेपालको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ ।
राखेपबाट विधान अनुमोदन
निर्वाचित क्यानको विशेष साधारणसभाले पास गरेको विधान राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन गरेको छ । राखेपले बिहीबार मात्र विधान अनुमोदन गरेको हो ।
यसअघि ६ वैशाखमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समूहले बनाएको विधान हुबहु अनुमोदन गरेको थियो । अब यो विधान आईसीसीमा पठाइनेछ ।
अबको प्रक्रिया केके हुन्छ ?
राखेपले अनुमोदन गरेको विधानलाई आईसीसीले स्वीकार गरेपछि मोनिटरिङ कमिटी गठन गर्नु पर्नेछ । विधानअनुसार यो कमिटीमा तीन जना आईसीसीको हुनेछ भने राखेप र निर्वाचित क्यानबाट एकएक जना प्रतिनिधि रहनेेछन् ।
यो कमिटीले चुनाव भएका ३७ जिल्ला संघमा फेरि चुनाव गर्नुपर्ने नपर्ने हेर्नेछ ।
तर, यसक्रममा विवाद हुने खतरा पनि छ । नयाँ विधानले सदस्यताको मापदण्ड फराकिलो बनाएको छ । क्रिकेट खेलाडीले पनि संघको सदस्यता लिन पाउँछन् ।
तेस्रो संशोधनअनुसार सदस्यता दिएर ३७ जिल्लामा चुनाव गर्नुपर्छ भन्यो भने के गर्ने भन्ने प्रष्ट छैन । निर्वाचित क्यानको तर्क छ, हामीले दोस्रो संशोधन अनुसार चुनाव गरेका हौं । तेस्रो संशोधनमा के मापदण्ड हुन्छ भनेर कसरी सदस्यता दिनु ?
तर, सल्लाहकार समूहका अरु सदस्यहरुले सदस्यहरुले मागे चुनाव हुन सक्ने बताउँछन् ।
३७ जिल्लाबारे मोनिटरिङ कमिटीले निर्णय लिएपछि बाँकी दुई जिल्ला भक्तपुर र लतिपुरको चुनाव हुन्छ । त्यसको ३० दिनभित्र प्रदेश चुनाव गर्नुपर्छ । प्रदेश चुनावको ३० दिनभित्र केन्द्रको चुनाव हुनुपर्ने विधानमा व्यवस्था छ ।
यो सबै प्रक्रिया पूरा गर्दा जुनमा बोलाइएको आईसीसीको साधारणसभा टरिसक्ने खतरा छ ।
प्रतिक्रिया 4