+
+
Shares

पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

बाल विवाहले निम्त्याएको दुर्दिन

एस.के. शान एस.के. शान
२०७५ वैशाख १६ गते १५:५८


१६ वैशाख, सप्तरी । सँगै जीउने सँगै मर्ने कसम खाएका श्रीमानले कहिल्यै माया गरेनन् । न त सासू-ससुराकै माया पाइन् । माइती घरमा त राम्रोसँग हुर्कनसमेत नपाई अन्माइएकी उनले श्रीमानको घरमा दासीको जीवन बिताइन् ।

पिरलो यतिसम्म भयो उनले मर्ने निर्णय गरिन् । मर्न भनेर आफ्नो शरीरमा आफैंले आगो लगाएकी उनी बाँच्न त सफल भइन् तर, त्यत्ति राम्रो अनुहार भने आफैं गुमाइन् । ‘त्यत्रो गाली, बेइज्जती र कुटपिट सहन नसकेर आफैं जीउमा आगो लगाएँ’ उनी भन्छिन्, ‘बाँच्न त बाँचे, तर अहिले कतैको छुइनँ ।’

उनी हुन् बिष्णुपुर गाउँपालिका जमुनी मधेपुराकी पार्वती दास । अहिले ३४ बर्षमा रहेकी उनको १२ बर्षकै उमेरमा विवाह भयो । त्यसबेला उनी कक्षा ५ उत्तीर्ण गरी ६ मा पुगेकी थिइन् ।

गाउँकै शम्भु दाससँग २०५५ सालमा उनको विवाह भयो । ‘विवाह गर्ने मन छँदैथिएन, पढ्ने मन थियो’ विगत सम्भिmदैं उनले भनिन्, ‘आमाबुवाले गरेको निर्णय मान्नैपर्ने भएकाले विवाह गरेँ ।’

बिहेपछि पढाइ छाडेर श्रीमानको घर सम्हाल्न बाध्य भइन् । ‘अहिले जस्तो बालअधिकारका कुरा नभएका कारण मेरो विवाह सानै उमेरमा नहोस् भन्न खोज्ने कोही देखिएनन्’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘मलाई त जन्म दिनेले नै यस्तो दलदलमा फस्न बाध्य पारे । अब यस्तो बाध्यता कसैलाई नहोस् ।’

भत्कियो सबै सपना

विवाहपछि घर गएकी उनी बालसुलभ चञ्चलताले गर्दा काम गर्न मन लागे गर्थिन्, नलागे गर्दिनथिइन् । तर, सासुले त्यसलाई गलत अर्थ लगाउन थालिन् ।

‘माइतमा जस्तै टोल, छिमेकका सबैसँग बोल्थे’ उनले भनिन्, ‘सासूले के गर्नुहुन्छ ? के गर्नुहुँदैन ? सम्झाउनुको सट्टा उल्टो ममाथि पटक-पटक चरित्रमाथि नै प्रश्न चिन्ह लगाउँदै जानुभयो । तिम्रो बाउआमाले यति चाँडै किन विवाह गरिदियो, कसैसँग लसपस थियो ? जस्ता कुरा दैनिक रुपमा सुनाउन थाल्नुभयो ।’

सासूले ‘तेरी स्वास्नी यस्ती रहिछे’ भन्दै कुरा लगाएपछि श्रीमानले पनि उनलाई कुटपिट गर्न थाले । घर परिवारका सदस्यबाट अपशब्द सुन्नु उनको दैनिकी जस्तै भयो ।

राम्रोसँग पढेर सरकारी सेवामा प्रवेश गर्ने इच्छा बुनेकी थिइन् उनी । तर यो सपना पूरा हुन सकेन् । भन्छिन्, ‘बिहेका कारण पढ्न नै पाइनँ । जागिर गर्ने कुरा त धेरै टाढाको भयो ।’

श्रीमानलाई पनि उक्साइयो

सासू-ससूराले जे भने पनि सुरुवाती दिनहरुमा श्रीमान्ले माया गरेको स्मरण छ उनलाई । ‘आफूलाई श्रीमानले माया गर्दा यस्ती आइमाईलाई माया गर्छस् ? जा घरबाट निक्ली र उसलाई पनि लिएर जा भन्दै सासू-ससूरा कराउनु हुन्थ्यो’ उनी भन्छिन्, ‘देवरले कठालो समाउँदै कुटपिट गर्थे ।’

दिन बित्दै जाँदा श्रीमान् पनि आफ्नो रहेनन् । दैनिक रुपमा श्रीमान्ले पनि गाली गर्न थालेपछि जीवन नै नर्क भएको जस्ता लाग्न थालेको थियो उनलाई ।

‘आफ्नो लोग्नेले समेत यस्तो गर्न थालेपछि कसको भरमा बस्ने ?’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘घरमा कोही नभएको मौका छोपी यस्तो जीवनबाट सदाका लागि मुक्ति पाउन जीऊमा मट्टतिेल खन्याई आगो लगाएँ । तर, माइती पक्षले त्यसो गर्न दिएन । आमाबुवाले उपचार गराएर बचाइहाल्यो ।’

आफैंलाई आगो लगाएकी उनको जीवन त बच्यो तर, आगोले अनुहार जलेको थियो ।

२०५८ सालको यो घटनापछि सासू-ससूरा र श्रीमान्लाई घरबाट निकाल्ने बाटो सहज भयो । ‘गाउँका भरभलादमीले श्रीमतीलाई आत्महत्या गर्न किन बाध्य बनाएको भनेर प्रश्न पनि गरे’ उनी भन्छिन्, ‘गाउँलेहरुले मेरो श्रीमानलाई घर लग्न पनि भन्यो तर, कुरुप भइसकेको भन्दै श्रीमानले लैजान मान्नुभएन ।’

त्यसको एक वर्षपछि शम्भु दासले अर्को श्रीमती भित्र्याए । ‘श्रीमानले अर्काे विवाह गरेपछि मर्नु न बाँच्नु भयो’ पार्वतीले सुनाइन्, ‘जति आफूलाई कुरुप भएकोप्रति दुःख लागेन त्यो भन्दा बढी दुःख श्रीमानले विवाह गरेपछि लाग्यो ।’

अहिले उनी माइतमै बस्दै आएकी छन् तर, माइती पक्षबाट माया नपाएको गुनासो छ ।

निःशुल्क सर्जरीमा पनि साथ पाइनँ

बाल्यकालमा सहेको मानसिक तनावका कारण आफैंले आफ्नै ज्यान लिने प्रयास गर्दा अनुहार गुमाएकी उनलाई सर्जरी गर्ने अवसर प्राप्त भएको थियो । २०६७ सालतिर सुष्मा ट्रस्टले भक्तपुर अनुहारको निःशुल्क सर्जरी गर्ने शिविरको आयोजना गरेको थियो । यस्तो जानकारी पाए लगत्तै पार्वती पनि उत्साहित थिइन् । ‘यस्तो सूचना पाएपछि एकदमै खुशी भएँ’ उनी भन्छिन्, ‘एक्लै सर्जरी गराउन जान सम्भव नभएपछि सहयोग मागेँ तर, कसैले मानेनन् ।’

एक जना फूपू पर्ने भक्तपुर गए पनि एक/दुई दिनमै र्फकेका कारण अनुहारको सर्जरी गराउने सपना अधुरै रहेको उनले बताइन् । ‘सर्जरीका क्रममा बस्ने र खाने समस्या पनि थियो’ उनले सुनाइन्, ‘आर्थिक अवस्था पनि राम्रो छैन् नि Û’

न्यायका लागि खुबै लडियो, अब थाकेँ

बाल्यकालमै विवाह भए पनि श्रीमान्लेे अहिले वेवास्ता गरेको भन्दै न्यायका लागि धेरै ठाउँमा पुगिन् पार्वती । छिमेकीदेखि प्रहरीसम्म गुहारिन् तर, केही हात लागेन ।

बाल्यअवस्थामै छोरीको विवाह गरिदिएका उनका पिता भने पश्चातापको आगोमा जलिरहेका छन् । पिता रामदयाल भन्छन्, ‘छोरीको सानो उमेरमा बिहे गरिदिँदा स्तो भयावह स्थिति आयो । पार्वतीको बाल विवाहको पश्चाताप गर्दैछु ।’

दाइजोकै कारण तीनवटी छोरीको विवाह नहुने हो कि भन्ने डरले भविष्य सोच्दै नसोची बाल विवाह गरिदिँदा छोरीको यस्तो दुर्दशा भएको बताउँछन् उनी । ‘पार्वतीको विवाहमा प्रशस्त दाइजो दिएको थिएँ, जुन समाजका लागि उदाहरण नै बनेको थियो’ रामदयाल थप्छन्, ‘तर, पनि मेरी छोरीले निकै दुःख पाइन् ।’

पार्वतीलाई गाउँकै एक महिलाले धरानमा लगेर केही दिन काममा लगाइन् । त्यो काम पनि सकिएको छ । उनी अहिले माइतमै बसिरहेकी छन् । भन्छिन्, ‘कुनै कुनै बेला अझै मर्न मन लाग्छ । तर, आमाले बाँच्न प्रेरित गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?