Comments Add Comment

राजनीतिक विचौलियाबाट मार्क्सवादलाई जोगाऔं

विकासोन्मुख देश नेपालले विश्वमा गरिवीको ७ औं स्थान कटाउन थालेको छ । नेपालको कुल भूभागमध्ये १७/१९ प्रतिशत मात्र भूभागमा निर्वाहमुखी कृषि खेतीमा आधारित छ, अरु सबै भुभाग उच्च हिमाली, मध्य पहाड र सिवालिक पहाडले ओगटेको छ ।

नेपालको कृषि उत्पादन निर्वाहमुखी प्रणालीमा आधारित छ । अनि नेपालमा ८०/९५ प्रतिशत जनता कृषिमा आश्रति भए पनि वैज्ञानिक खेती प्रणालीको विकास गर्न नसक्नु, परम्परावादी कृषि प्रणालीमा कृषकहरुको विश्वास रहिरहनु आदि कारणले नेपालीहरु अति विपन्न, गरिव र मध्यमवर्गीय चरित्रका छन् । यस्तो प्रकारको परआश्रति मानसिकता, रुढीवादी सोचाइ र ढुलमुले चरित्रले नेपाली अर्थ व्यवस्थामा उल्लेखनीय विकास हुन सकेको छैन ।

भौगोलिक विकटता, दुर्गमता, अनुत्पादकत्व भुभागको बढोत्तरी, पछौटेपन, अशिक्षा, गरिवी, पिछडिएका चिन्तन र सोचाई, राज्यको उपल्ला निकायहरुमा सभ्रान्त वर्गहरुको संस्थागत विकास, राजनैतिक विचौलियाहरुको घेराबन्दीमा सरकार र पार्टीहरु परेका छन् ।

राजनैतिक भ्रटाचार व्याप्त छ । वर्ग, जाति र समुदायवीचको संर्कीण विभेद त्यसभित्रको आर्थिक र सामाजिक शोषण, विभेद आदि र संसदीय विसगतिपूर्ण क्रियाकलाप नेपालको आर्थिक विकासमा अवरोध बन्न पुगेका छन् ।

नेपाली जनताको गरिवी, अशिक्षा र पराश्रति मानसिकताबाट नेपालका राजनेताहरुले समुहगत अर्थात दलगत स्वार्थ लिइरहेका छन् । अभाव र गरिवीको फाइदा नेपाली दलहरुले उठाउने गरेका छन् अर्थात नेपालमा बढ्दो गरिवीको फाइदा नेपाली दलहरुले लिइरहेका छन् ।

जहाँ गरिवी, रोग, भोग, अशिक्षा, शोषितपीडित जनता बसोबास गर्छन्, त्यो मुलुकमा कम्युनिष्ट विचार र नारा छिट्टै फष्टाउँछ अर्थात् त्यस मुलुकमा जसले गरीव उन्मूलन र मुक्तिका नारा अगाडि सार्दछ ।

ती मुलुकहरुमा कम्युनिष्टहरु छिट्टै नेतृत्व हातमा लिन सफल हुन्छन् । ती कम्युनिष्टहरु गरिवी र उत्पीडन मुक्तिका खोक्रा नारामा सत्ता वा सरकारको नेतृत्वका लागि आरोह र अवरोह गरिरहेका हुन्छन् । कम्युनिष्ट पार्टीहरुमा गरिवी हटाऊ र वर्गीय मुक्तिका नाराका विषयलाई लिएर विशेष गरेर पार्टीहरुमा ठूलो मतभेद भएर पार्टीहरु नै फुटने, टुटने र अनि जुट्ने भइरहेको छ ।

परम्परावादी सोचबाट मार्क्सवादलाई मुक्त गरौं

नेपालको भूमिमा कम्युनिष्ट पार्टीहरुले मार्क्र्सवादजस्तो वैज्ञानिक दर्शन २००६ सालदेखि बोकेर पनि त्यसको द्वन्द्वात्मक भौतिकवादी प्रक्रियाअनुरुप समाजसँग जोडिएर विकसित परिस्थितिको उपयोग गर्न नसकेर ती नेतृत्वहरु असफल हुँदै गएका छन् ।

ती नेतृत्वहरुले मार्क्सवादका नाममा आदर्शवादको खेती गरेर नेतृत्वमा बसी राख्ने र पद, पैसा र सत्ताको खेलले पनि नेपाली जनताले प्रत्यक्षरुपमा दुःख पाइरहेका छन् ।

सिद्धान्ततः विकसित परिस्थिति, जनताको आवश्यकता, माग र बदलिदो विज्ञान एवं प्रविधिको युगअनुसार कम्युनिष्ट वा साम्यवादी दर्शन वा सिद्धान्तको उपयोग गर्न नसक्नु नै कम्युनिष्ट पार्टीहरु नेपालमा जनताका लागि अभिशाप हुन् कि भन्ने परेको छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरु २००६ साल यता आत्मकेन्द्रवादी हुने, पार्टीलाई मठमन्दिर बनाउने र एकले अर्कालाई खुइल्याउने काममा लागे । विदेशीको योजना अनुसार प्रयोग हुने र कम्युनिष्ट सिद्धान्तलाई यान्त्रिक वा जडशुत्रीय ढंगले उपयोग गर्ने परम्परावादी सोचका कारणले कम्युनिष्ट नेता तथा कार्यकर्ता २१ औं शताब्दीमा आलोचित भइरहनु अस्वाभाविक होइन ।

यस्ता व्यवहारले गर्दा जनताको नजरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु कोही सामान्तवादका दलाल त कोही अमेरिकी तथा भारतीय विस्तार तथा नव उपनिवेशवादी एवं साम्राज्यवादीका नोकर भएका विषय नेपाली कम्युनिष्ट आन्दोलनमा उठिरहेका छन् ।

नेता तथा पार्टीका नेतृत्व तहमा लागेका व्यक्तिहरुको कार्य व्यवहार र स्वार्थले गर्दा कम्यनिष्ट आन्दोलनले भएनभएका आरोप खेप्नुपरेको छ ।

मार्क्सवादलाई थप विकाससहित शद्धीकरण, समृद्धीकरण र परिमार्जनतर्फ उपयोग गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको डाईनामिक धारहरु गम्भीर हुन अति आवश्यक छ । शुद्धीकरण, समृद्धीकरण र विकसित मार्क्सवादको उपयोगका नाममा यसको सारतत्व वा वैज्ञानिक पक्षलाई छोड्ने र शक्ति सञ्चयका नाममा विदेशीहरुको गोटी बन्ने प्रवृत्तिबाट नेपाली कम्युनिष्ट आनदोलनलाई बचाउनुपर्छ ।

सत्ता भोग र स्वार्थका लागि कहिले वामपन्थी अवसरवादी बन्ने र घोर दक्षिणपन्थी बन्ने प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई बचाउनुपर्छ । र, २१ औं शताब्दीको विकसित विज्ञान, प्रविधि र भूमण्डलीकृत समाज एवं विकासको गति पकड्नेतर्फ सोच्नैपर्छ ।

नेपाली कम्युनिष्ट पार्टीहरु जडशुत्रवादी र यान्त्रिक होइन, मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादी पक्षलाई आत्मसाथ गरेर अग्रगामी समाज रुपान्तरण वा निरन्तर प्रगतिको पक्षमा लाग्न सक्नुपर्छ ।

समयको आत्मगत र वस्तुसगत अवस्थालाई नबुझी, विश्लेषण नगरी मार्क्र्सवाद नै असफल भयो भन्ने हाउगुजी सिर्जना गर्नु पनि नेपालका बौद्धिक क्षेत्र, कम्युनिष्ट नेतृत्वको बौद्धिक अपरिपक्वता नै मान्नुपर्छ ।

आजभन्दा दुई दशक अगाडि रुसमा खुलापन र आर्थिक उदारीकरणको नाराले रुसलाई जसरी गोर्वाचोववादी बनायो, त्यो रोग नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा कार्यकर्तालाई प्रभावित नपारोस् ।

मार्क्सवादको प्रयोग र उपयोग तलदेखि माथिसम्म ठोस कार्यक्रम बनाएर वस्तुस्थितिलाई विश्लेषण गरी अगाडि बढ्न सक्ने हो भने १५/२० वर्षभित्र नेपाली समाज स्वनिर्भर हुन जाने निश्चित छ । यसरी अगाडि बढ्ने हो भने मार्क्सवादमा समस्या थपिँदैन । तसर्थ, नाम र झण्डाले होइन, मार्क्सवादको सिर्जनशीलता र रचनात्मकतामा ध्यान दिऔं ।

समृद्धिका लागि कार्यकारी शासन

मुलुकलाई आर्थिक ,राजनैतिक र सामाजिक क्षेत्रमा देखापरेका अस्थिरताबाट बचाउन र संसदीय विकृति, विसंगति रोक्न सविधान संशोधन गरेर भए पनि व्यवस्थापिका संसदलाई पूर्णसमानुपातिक निर्वाचन पद्दतिमा लैजाने र शासकीयस्वरुप कार्यकारी राष्ट्रपतीय प्रक्रियामा जाने वातावरण बनाउनुपर्छ ।

यसो गरियो भने मात्र २६ बर्षयताका २३ प्रम र सांसदहरुको मोलमोलाई अनि मुलुकमा भइरहेको भ्रष्टाचारको अन्त्य हुन्छ । अनि राजनैतिक, आर्थिक र सामाजिक विकृति र विसंगति रोक्न सकिन्छ ।

त्यसैले क्षणिक स्वार्थमा सरकार ढाल्ने र परिवर्तन गर्ने रोगको नियन्त्रण कार्यकारी राष्ट्रपतिय पद्दतीले मात्रै गर्न सक्छ । पूर्ण सामानुपातिक निर्वाचन र कार्यकारी राष्ट्रपतीय पद्दतिलाई मूल मुद्दा बनाई आर्थिक विकास र समृद्धि लागि सन्तुलित कार्ययोजना ल्याउनेतर्फ सबैले सोचौं, विचार गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment