Comments Add Comment

वीरगञ्जमा राति ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध

१९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा वैशाख २० गतेदेखि रातिको समयमा ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।

विवाह र अन्य धार्मिक कार्यमा ठूला साउन्ड सिस्टम जोडेर र डीजेमार्फत रातिमा चर्को आवाजमा गीत संगीत बजाउँदा जनजीवन प्रभावित भएको भन्दै महानगरपालिकाले यस्तो नियम लगाएको हो ।

यस्तो संगीत बज्दा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो थियो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी वीरगञ्ज महानगर क्षेत्रमा गर्मी मौसममा राति १० बजेपछि र जाडो मौसममा राति ९ बजेपछि चर्को आवाज आउने गरी कुनै पनि काम गर्न निषेध गरिएको जनाएको छ ।

सूचना अटेर गरेमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी प्रमुख एसपी डा. गणेश रेग्मीले जानकारी दिए । ‘समग्र जनप्रतिनिधिहरुको स्वीकृति र सहयोगमा ध्वनि प्रदुषणविरुद्ध अभियान सञ्चालन गरेका छौं’ उनले भने ‘उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउछौं ।’

यो नियम तत्कालका लागि महानगरपालिका क्षेत्रभित्र रोक लगाउने र पछि जिल्लाभरी नै लागु गराउने उनको भनाइ छ । ‘जथाभावी चर्को आवाज निकालेर आम जनताको मौलिक हक हनन भइरहेको छ । यसै तथ्यलाई ध्यान दिदै प्रहरीले सुरू गरेको रातको समयमा ध्वनि प्रदुषण रोक्ने कार्यले आम जनातालाई राहत हुने विश्वास हामीले लिएका छौं’ एसपी रेग्मीले भने ।

पोखरिया नगरपालिकामा १७ वैशाखमा भएको सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुको छलफलमा पनि यो प्रस्तावले समर्थन पाएको छ । नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले जिल्लामा आयोजना गरिने विभिन्न सामाजिक, राजनीतिक र आध्यात्मिक कार्यक्रमहरुमा लाउड स्पीकर र डीजेको प्रयोग गर्दा अत्याधिक ध्वनि प्रदुषण हुने भएकोले यस्ता कार्यलाई बन्द गर्नुपर्ने बताइन् ।

प्रहरीले अटेर गरी ध्वनि प्रदुषण गरेमा खबर गर्न आग्रह गरेको छ । ‘प्रहरीले पहिला सम्झाउँछ । सम्झाउँदा अटेर गरे कारबाही गर्छ’ प्रहरी उपरीक्षक रेग्मीले भने ‘कसैले रातको समयमा अत्यधिक चर्को आवाज निकाल्ने गरी कार्यक्रम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment