२० वैशाख, बुटवल । इन्धनको आपूर्तिमा समस्या भएको भन्दै १३ दिनदेखि तेल नबाँडेका पम्पहरुले मुल्यवृद्धि भएसंगै धमाधम तेल बाँड्न थालेका छन् ।
रुपन्देही जिल्लामा विगत १३ दिनदेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको थियो । कतिपय पम्पहरुले रातको समयमा आफ्ना मान्छेलाई मात्रै तेल बाँड्दै आए पनि आम सर्वसाधारणले भने सहज रुपमा इन्धन पाउन सकेका थिएनन् ।
बिहीबार बिहानैदेखि पम्पहरुमा बिनालाइन तेल वितरण गरिएपछि तेल अभावको संकट झेलिरहेका नागरिकलाई भने सहज भएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजल र मटि्टतेलमा ३—३ रुपैयाँ मुल्यवृद्धि गरेपछि भने सर्वसाधारणले सहजै इन्धन पाएका छन्ु ।
बुटवल गोलपार्कमा रहेको बुटवल डिलर्समा तेल भर्न पुगेका प्रकाश पौडेलले तेल अभाव नभए पनि पम्पहरुले तेलको कृत्रिम अभाव सिर्जना गरेकाले समस्या भोग्नुपरेको गुनासो गरे ।
पश्चिमाञ्चल क्षेत्रीय डिपो रुपन्देही भलबारीका प्रमुख अशोक शाहले १ हप्तादेखि सुनौलीमा रहेको भारतीय कस्टममा अनलाइन सिष्टम लागू भएकाले आयातमा समस्या (ढिलाइ) भएको बताए । ‘कस्टममा पहिले म्यानुअल सिष्टम थियो,अब अनलाइन सिस्टम शुरु भएको छ,तेल अभाब हुने छैन’ शाहले अनलाइनखबरसंग भने ।
अहिले रुपन्देहीमा दैनिक २ लाख ५० हजार लिटर पेट्रोलको माग छ भने करिब १२ लाख लिटर डिजलको माग रहेको छ ।
डिपोमा दैनिक इन्धन भरिएका ५० देखि ६० ट्यांकर ट्यांकर आउने गरेका छन् । डिपोले आफू अन्तर्गतका ८ जिल्लामा रहेका २ सय ७० पम्पहरुमा तेल पुर्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया 4