Comments Add Comment

एक्लै घुम्न पल्किएकी मनमौजी केटी

२१ वैशाख, काठमाडौं । फुर्सद हुनासाथ उनलाई झोलामा दुई/तीन जोर लुगा र क्यामरा बोकेर फुत्त घरबाट निस्किहाल्न मन लाग्छ । उनको घुम्ने भोक यस्तो छ कि कसैलाई पर्खदिँनन् । मनमौजी पारामा बिन्दास एक्लै हिँड्छिन्, एक्लै घुम्छिन् ।

काठमाडौंमै जन्मिएर हुर्किएकी जुली गिरीको यो शैली धेरैलाई अचम्म लाग्छ । तर, उनलाई अरुले अचम्म मानेको देखेर अचम्म लाग्छ ।

‘नेपाली केटी एक्लै घुम्न हिँडेको भनेर धेरैले मन पराउँदैनन् । घरबाट निस्किँदादेखि घुम्ने ठाउँमा भेटिने मान्छेसम्मले फरक रुपमा हेर्छन् । मलाई त्यस्तो कुराले अचम्म लाग्छ’ उनी भन्छिन्, ‘एक्लै घुम्नुकोजस्तो मजा समूहमा हुँदैन । मन लागेको ठाउँमा बस्यो, मन लागेको कुरा खायो, मन लागेको काम गर्‍यो ।’

कसैले यसो गरौं भन्दैन । कसैले यसो नगरौं भन्दैन । यसैमा रमाइलो लाग्छ उनलाई । आफैंले आफैंलाई बुझ्न पाएँ भन्ने लाग्छ । जिन्दगी जिएँ भन्ने लाग्छ । ३० वर्षकी उनले यसरी जिन्दगी जिएको पनि ५ वर्षभन्दा बढी भइसक्यो

कसैले यसो गरौं भन्दैन । कसैले यसो नगरौं भन्दैन । यसैमा रमाइलो लाग्छ उनलाई । आफैंले आफैंलाई बुझ्न पाएँ भन्ने लाग्छ । जिन्दगी जिएँ भन्ने लाग्छ । ३० वर्षकी उनले यसरी जिन्दगी जिएको पनि ५ वर्षभन्दा बढी भइसक्यो ।

घना जंगलको बीचमा चुरोट तान्दै आकाशतर्फ लम्किएको रुखलाई हेरेर बसिदिन्छिन् । भेटिने धेरै मान्छेको अनुहार क्यामरामा कैद गरेर बसिदिन्छिन् । खुला चौरमा गीत सुनेर घण्टौं सुतिदिन्छिन् । कहिले दिनको १० घण्टा लगातार हिँडिदिन्छिन् ।

घुम्दा यसै गर्नुपर्छ भन्ने उनको कुनै नियमित तालिका छैन । जस्तो कि जीवनमा यसै गर्छु भन्ने उनको निश्चित उद्देश्य छैन । उद्देश्य भनौं या इच्छा, एउटै छ । त्यो हो, घुम्ने । एक्लै घुम्ने । नेपालका मन लागेका ठाउँमा घुम्ने ।

यसरी भइन् घुमन्ते

सानो बेलामा बुवासँग पोखरा, वीरगञ्ज, चितवनतिर घुम्न जाँदा नै उनलाई ‘घुमन्ते किरो’ले समायो । बुवा नेपाल रेडक्रसमा सामान्य जागिरे । आमा, बुवा र भाइसँगै उनी इमाडोलमा बस्छिन् । दुई बहिनी मलेसिया गएका छन् । मलेसिया गएकी बहिनीले क्यामरा पठाइदिएपछि उनीभित्र रहेको फोटोग्राफीको सोखले पनि घुम्ने इच्छामा बल पुर्‍यायो ।

उनी नेपाल घुम्न निस्कनुकोपछि मुख्य कारण अर्को पनि छ । ८ वर्षअघि काम र फोटोग्राफीको तालिमको शिलशिलामा मलेसिया गइन् । त्यहाँ दुई वर्ष बसेर काम गरिन् ।

उनलाई मलेसियामा एकजना विदेशीले सोध्यो, कुन देशबाट हो ?  ‘उसलाई मैले नेपालबाट घुम्न आएकोभन्दा माउन्ट एभरेस्ट, अन्नपूर्ण गएकी छस् भनेर सोध्यो । मैले गएको छैन भनेँ,’ उनले सुनाइन्, ‘नेपालमै त्यस्तो राम्रा ठाउँहरु छन्, मलेसिया किन आएको भनेर त्यो विदेशीले हप्कायो । मलाई पनि होजस्तै लाग्यो । त्यसपछि नेपाल घुम्छु भन्ने सोच आयो ।’

उनमा अहिलेसम्म स्थिर स्वभाव बनेको छैन । एकैछिन भेट्दा पनि घरी-घरी १७ वर्षे चञ्चलता देखिन्छ । घरी-घरी गम्भिरता । समय र परिस्थितिमा आफूलाई ढालेर उस्तै बनिदिन्छिन् । घुम्न जाँदा पनि उनको शैली उस्तै छ ।

‘एक्लै हो ?’ भनेर सोध्ने मान्छेलाई मुडअनुसार जवाफ दिन्छिन् । कसैलाई ‘हो’ भनिदिन्छिन् । कसैलाई ‘साथीहरुसँग हो, उनीहरु अघि पुगे म पछि परें’ भनिदिन्छिन् ।

समाजशास्त्रमा बीए सकाएकी उनी अहिले मनोविज्ञानकी विद्यार्थी हुन् । उनलाई लाग्छ यसले पनि मान्छेले के सोचेर के भनिरहेका छन् भन्ने बुझ्न उनलाई सजिलो भएको छ ।

एक्लै हिँड्न लाग्दैन डर

उनी अहिले कुनै जागिर गर्दिनन् । केही ठाउँहरुमा जागिर गरेको पनि हो । तर, उनलाई त्यसमा ‘इन्जोई’ मिलेन । ‘जुन काममा ‘इन्जोई’ हुँदैन त्यो काम कसरी गर्नु त ? त्यसैले कहीँ पनि जागिरमा टिक्न सकिनँ,’ उनले सुनाइन्, ‘अहिले घुम्न कहिले बाबा, कहिले बहिनीहरुले पैसा दिन्छन् ।’

उनलाई घुम्न त्यसरी केले तान्छ त ? पहिलो त प्रकृतिले नै तान्ने हो । उनलाई एकान्तका प्रत्येक ढुंगा सुन्दर लाग्छ । रुख, बोटविरुवा, माटो सबै आफन्त लाग्छन् । भेटिने प्रत्येक मानिसको अनुहारमा नौलोपन मिल्छ । त्यसैमा काठमाडौंका मल्टिप्लेक्समा हेरिने चलचित्रकाभन्दा फरक कथा ।

‘प्रकृतिमा डुबेपछि अरु कुराको मतलब नहुने रहेछ,’ उनले भनिन्, ‘दोस्रो कुरा, फोटोग्राफी हो । मलाई फोटो खिच्न धेरै रमाइलो लाग्छ । तेस्रो पनि केही कुरा छ जसले मलाई घुम्न तान्छ । तर, त्यो के कुरा हो भन्ने खोजीमै छु म पनि ।’

समूहमा घुम्न जाने कुरा पनि हुन्छन् । त्यो उनलाई उति मन पर्दैन । प्रकृतिसँगको आफ्नो समय अरुसँग बाँड्न चाहँदिनन् । अझ घुम्न निस्कने कुरामा कसैको समय मिल्दैन, कसैको पैसा मिल्दैन । उनी दुवै कुरा मिलाउन सक्छिन्, यसैले एक्लै हिँडिदिन्छिन् ।

पहिले घरबाट केटी मान्छे एक्लै नहिँड भन्थे । तर एक्लै हिँड्दा केटी भएकैले उनलाई अहिलेसम्म कुनै अप्ठेरो परेको छैन । ‘एक्लै हिँड्ने भनेर केही सोधखोज नै नगरी हिँड्ने भन्ने त हुँदैन । सबै बुझेर, आफ्नो सुरक्षा मिलाएर नै हिँड्ने हो,’ उनले भनिन्, ‘हिँड्दा-हिँड्दा कहिलेकाहीँ आइपर्ने अप्ठेराहरु केटालाई पनि हुन्छ, केटीलाई पनि हुन्छ ।’

घुम्न निस्किँदा ट्रेजर, स्प्रे  र चक्कु झोलामा बोक्छिन् तर त्यो अहिलेसम्म प्रयोग गर्न परेको भने छैन । उनलाई आशा छ अब पनि प्रयोग गर्न नपरोस्

उनी जहाँ गइन् राम्रा मान्छे नै भेटिन् । केही मान्छेहरु चाहीँ नभएको घटना कल्पना गरेर उनलाई डर देखाउन खोज्छन् । यहाँ यस्तो भएको थियो, खतरा छ भन्ने जस्ता कुरा गर्छन् । त्यो पनि शैली हेरेर उनी बुझिहाल्छिन् ।

आत्मसुरक्षा

घुम्न निस्किँदा ट्रेजर, स्प्रे  र चक्कु झोलामा बोक्छिन् । ‘ट्रेजरले कसैलाई छोइदिँदा झनक्क करेन्ट लाग्ने हुन्छ । स्प्रे  आँखामा राखिदिँदा आँखा पोल्छ । त्यसले ५/६ मिटर परसम्म हान्न मिल्छ । यसैले केही परिहाल्ला भनेर बोक्छु । सेल्फ डिफेन्सको ट्रेनिङ पनि लिएको छु,’ उनले भनिन् ।

तर त्यो अहिलेसम्म प्रयोग गर्न परेको भने छैन । उनलाई आशा छ अब पनि प्रयोग गर्न नपरोस् ।

त्यससँगै उनको झोलामा टर्च लाइट हुन्छ । ३ जोर टिसर्ट, ३ वटा ट्राउजर । चिसो ठाउँमा हो भने डाउन ज्याकेट पनि बोक्छिन् । चकलेट, बिस्कुट र केही औषधीहरु राख्छिन् । क्यामरा र तीन वटा लेन्स बोक्दा उनको झोला भारी भइसकेको हुन्छ ।

उनी मुस्ताङ, रारा, जुम्ला, अन्नपूर्ण बेस क्याम्प घुमिन् । पाँँचपोखरी पनि गइन् । पोखरा, चितवन, लुम्बिनी, पाल्पालगायतका सजिलै पुगिने ठाउँहरु त धेरैपटक एक्लै घुमेकी छिन् । ‘अब बर्दिया र सगरमाथा जाने रहर छ,’ उनले योजना सुनाइन्, ‘बर्दिया त स्कुटर लिएरै जान्छु होला । भनेको ठाउँमा रोकेर बस्न पाइयो । फोटो खिच्न पाइयो । स्कुटरमा पनि सजिलो लाग्छ ।’

उनी प्लेन चढेर घुमिन् । बस चढेर घुमिन् । स्कुटर चढेर घुमिन् । पैदल घुमिन् । उनकै शब्दमा उनले ‘घुमाइको सबै मजा’ उठाएकी छिन् । हरेक कुरामा नौलो, रमाइलो भेटेकी छिन् ।

एक्लै हिँडिरहँदा शान्त बाटोमा खुट्टाको टकटकले उनलाई तान्छ । बस चढेर जाँदा छेउछाउको जंगल र बीचको सडक उनलाई सुन्दर लाग्छ । स्कुटरमा जाँदा मन लागेको ठाउँमा रोकेर बस्न, फोटो खिच्न पाउने सुविधा उनका लागि विशेष छ ।

उनलाई खानेकुरा पनि यहि हुनुपर्छ भन्ने छैन । पोलेर देउन्, भुटेर देउन्, उसिनेर देउन् उनलाई मीठो लाग्छ । बाहिर हिँड्दा सकेसम्म शाकाहारी बन्छिन् ।

पाँचपोखरी जाँदा फोनको टावर नटिपेर ४/५ दिन घरमा सम्पर्क हुन सकेन । टावर टिप्ने ठाउँमा पुगेपछि बहिनीलाई फोन गर्दा त फेसबुक हेर भनेर रिसाइ । म हराएँ भनेर सबैतिर हल्लाखल्ला भैसकेको रहेछ । फेसबुकमा फोटोसहित म हराएको सूचना सेयर भएको रहेछ ।

‘नेपालको जहाँजहाँ घुम्न जान्छु, लाग्छ अहो ! हाम्रो देश कति सुन्दर छ । नेपाली भएर नै त्यस्तो लागेको होइन । बाहिरबाट आउनेसँग कुराकानी गर्दा उनीहरु पनि त्यही भन्छन्,’ उनले भनिन् ।

अब उनलाई एभरेस्ट बेस क्याम्प र बर्दियासँगै, मार्दी, तिलिचो, शे-फोक्सुण्डो जान मन छ । ‘पैसा भए त हिँडिहाल्थें तर, अहिले पैसा छैन,’ उनले हाँस्दै भनिन् ।

लगाएको लुगाले गर्दा हो कि किन हो बाहिरतिर भेट्ने मान्छे पहिला त उनलाई विदेशी नै ठान्छन् । ‘अन्नपूर्ण बेस क्याम्प (एबीसी) जाँदा मानिसहरु मैले बुझ्दिन होला भन्ने ठानेर नेपालीमा कुरा गरिरहेका थिए, ‘कहाँबाट एक्लै आइछे यो केटी । अनुहार त नेपालीजस्तो पनि छ,’ भनेर उनीहरु कुरा गरिरहेका थिए । मलाई हाँसो उठ्यो अनि मैले म काठमाडौंबाट हो भनिदिएँ ।’ नेपाली बोलेपछि उनीहरु छक्कै परेको उनले सम्झिइन् ।

एक्लै देखेर प्राथमिकता दिएको उनलाई मन पर्दैन । ‘बाटोमा र कतिपय होटलहरुमा पनि एक्लै देखेर प्राथमिकता दिन्छन् । कसैले त्यसरी दिएको प्राथमिकता मलाई मन पर्दैन,’ उनले भनिन् ।

हराएको सूचना

घुम्न निस्किएपछि उनी मिलेसम्म घरमा फोन गरिरहन्छिन् । पहिले त्यस्तो बानी थिएन । एउटा घटनाले उनको बानी परिवर्तन भयो ।

एकपटक पाँचपोखरी जाँदा फोनको टावर नटिपेर ४/५ दिन घरमा सम्पर्क हुन सकेन । टावर टिप्ने ठाउँमा पुगेपछि बहिनीलाई फोन गर्दा त ‘फेसबुक हेर्’ भनेर रिसाइ । हराएँ भनेर सबैतिर हल्लाखल्ला भैसकेको रहेछ । हुनु नहुनु काण्ड मच्चेको रहेछ । फेसबुकमा फोटोसहित म हराएको सूचना सेयर भएको रहेछ । सबै साथीहरुबीच पनि हल्लाखल्ला । सबैले फेसबुकमा फोटो हालेका । घरबाट त प्रहरीमा हराएको खबर भइसकेको रहेछ ।

घटना सुनाउँदै उनले भनिन्, ‘अहिले चाहीँ जसरी हुन्छ घरमा सूचना दिइरहन्छु । कसैको मोबाइल मागेर भए पनि फोन गरिदिन्छु । फेसबुकमा पनि केही लेखिराख्छु ।’

अहिलेसम्म सिंगल, अनि भविष्य ?

विज्ञापनमा सुनिने ‘डरके आगे जित हे’ भन्ने भनाइले उनी प्रेरणा पाउँछिन् । डर लागे पनि अघि बढिरहन, घुमिरहन उनी पछि हट्दिनन् ।

आफ्नो सपना बाँड्न नपरोस् भनेर उनी अहिलेसम्म ‘सिंगल’ छिन् ।

‘मेरो यो सबै कुरा बुझिदिने मान्छे त कहाँ भेटिन्छ र ? कोही केटा राम्रो लाग्छ त्यो स्वभाविक पनि हो ।

मेरो भविष्य भनेको थानकोटबाट कलंकीसम्म हुने जामजस्तो छ । विस्तारै विस्तारै जाम खुल्दै जान्छ, भविष्य अघि बढ्दै जान्छ

तर, उनीहरुले सोचेजस्तो भइदिन सक्दिनँ,’ उनी भन्छिन्, ‘यो गर, यो नगर भनेर मलाई कसैले सम्झाउन नपरोस् । कसैका लागि सोचेर मैले गर्न खोजेका कुरामा अंकुश नलागोस् ।’

यसैगरी कहिलेसम्म चल्छ त ? यसमा उनलाई चिन्ता छैन । अहिलेसम्म सोचेको र चाहेको पुगेको छ । अगाडि पनि पुग्ला ।

‘म वर्तमानमा रमाइरहेको छु । भविष्यका लागि चिन्ता गर्दिनँ । मेरो भविष्य भनेको थानकोटबाट कलंकीसम्म हुने जामजस्तो छ । विस्तारै विस्तारै जाम खुल्दै जान्छ, भविष्य अघि बढ्दै जान्छ,’ उनी आफ्नै बिन्दास शैलीमा भन्छिन्, ‘घरबाट स्कूल, स्कूलबाट घर, कलेजमा त्यस्तै, त्यसपछि बिहे अनि बच्चा यसमा आफ्नो जिन्दगी भेट्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment