Comments Add Comment

मेस्सी भर्सेस रोनाल्डो : पर्खाइमा विश्वकप !


२१ वैशाख, काठमाडौं । विगत १० वर्षदेखि धेरै फुटबल समर्थकको रोजाइका दुई सुपरस्टार हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ।

प्रशंसक हुन् वा आलोचक, उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पार्ने गर्छ । फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड बालोन डि’ओर गएको १० वर्षदेखि उनीहरुले आपसमा बाँडिरहेका छन् । दुवैले पाँच/पाँच पटक यो अवार्ड जितेका छन् ।

वर्तमान विश्व फुटबलमा कोही खेलाडीबीच सबैभन्दा बढी तुलना गरिन्छ भने उनीहरु रोनाल्डो र मेस्सी नै हुन् । तर, अब विस्तारै फुटबल समर्थकहरु नयाँ अनुहारको खोजीमा देखिन्छन् । मेस्सी र रोनाल्डोको दशकको दबदबा तोडिने गरी नयाँ खेलाडीहरु देखिन पनि थालेका छन् ।

तर, अझै ला लिगा र च्याम्पियन्स लिगमा उनीहरुकै जादु चलिरहेको छ । बार्सिलोनाबाट मेस्सी ला लिगाको उपाधिसँगै गोल तालिकामा शीर्षमा छन् । रियल मडि्रडबाट रोनाल्डो गोलको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिग फाइनलमा पुगेका छन् ।

यो सिजन रोनाल्डोले पोर्चुगल र रियल मडि्रडबाट गरी खेलेका ४७ खेलमा ४८ गोल गरेका छन् । १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।

मेस्सीले यो सिजन अर्जेन्टिना र बार्सिलोनाबाट गरी खेलेका ५६ खेलमा ४६ गोल गरेका छन् । १८ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

अहिलेसम्म मेस्सीले क्लब र देशबाट गरेर खेलमा ७५७ खेलमा ६११ गोल गरेका छन् । २४९ गोलको अवसर सिर्जना गरेका छन् ।

रोनाल्डोले क्लब र देशबाट गरेर खेलेका ९०७ खेलमा ६५२ गोल गरेका छन् । उनले २०७ गोलको अवसर बनाएका छन् ।

अब आफ्नो उपाधिहरुको संग्रहमा विश्वकप जोड्न दुवै लालायित छन् । रोनाल्डो ३३ र मेस्सी ३० वर्ष पुगिसकेका छन् । यसैले उनीहरुको नजर आउँदो जुनमा हुने रसिया विश्वकपमा अडेको छ ।

दुवैले यसअघि तीन वटा विश्वकप खेलिसकेका छन् । जसमा मेस्सी फाइनलसम्म पुगेका छन् । रोनाल्डो सेमिफाइनलसम्म ।

सन् २००६ को विश्वकपमा रोनाल्डोसहितको पोर्चुगल फ्रान्ससँग सेमिफाइनलमा १-० ले हारेको थियो । सन् २०१० मा अन्तिम १६ को खेलमा स्पेनसँग १-० ले हार्‍यो । सन् २०१६ मा समूह चरणबाटै बाहिरियो ।

यस्तै मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वार्टरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भयो ।

केही मानिसहरु रोनाल्डो र मेस्सीलाई पुरानो शैलीको आधारमा व्याख्या गर्ने गर्छन् । उनीहरुको गोल, बनाएका कीर्तिमान र खेलशैलीलाई नियाल्दा यसै गर्छन् भनेर गरिने तर्क त्रुटिपूर्ण हुन जान्छ । यति नै समयसम्म उनीहरु फुटबलमा रहन्छन् भन्ने पनि यकीन गर्न सकिने विषय होइन ।

रसिया विश्वकपपछि कतारमा २०२२ मा हुने विश्वकपमा पनि दुबै खेलाडी रहन सक्ने सम्भावनालाई नकार्न मिल्दैन । त्यो समय रोनाल्डो ३७ र मेस्सी ३४ वर्षका हुनेछन् ।

सन् १९३० पछि विश्वकप जित्ने टिममा रहेर ४ सय २२ जनाले फुटबल खेलिसकेका छन् । जसमा ३५ वर्षमाथिका ७ जना खेलाडी रहेका छन् ।

रोनाल्डोले गएको सिजनभन्दा यसपटक आफूमा धेरै परिवर्तन गरेको पाइन्छ । उनको भूमिका ‘पेनाल्टी बक्स फिनिसर’को हुने भन्दै गरिने आलोचनामा उनी खरो रुपमा उत्रिएका छन् र उत्कृष्ट गोलहरु गरेका छन् । यसैले आउने दिनमा पनि त्यसको निरन्तरतामा उनी विशेष चनाखो छन् ।

जब अर्जेन्टिनाको कुरा आउँछ, यसो हेर्दा मेस्सीबिना पनि टिम पूर्ण नै देखिन्छ । पूरै अनुभवी र सक्षम खेलाडीको लाइन अर्जेन्टिनासँग छ ।

सर्जियो अग्युरो, गोन्जालो हिग्वेन, एन्जेल डिमारिया, पाउलो डिबाला, मौरो इकार्डीबाट सन्तुलित टिम बनाउन सकिन्छ । फरवार्डको लामो तालिका हुँदा हुँदै पनि विश्वकप छनोटमा मेस्सीले देखाएको खेलले टिममा उनको महत्व प्रष्ट हुन्छ । अनुभवी मेस्सीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ ।

पोर्चुगल आउँदो विश्वकपमा इरान, मोरक्को र स्पेनसहितको समूह ‘बी’ मा रहेको छ । यस्तै अर्जेन्टिना क्रोयसिया, आइसल्याण्ड र नाइजेरियासहित समूह ‘डी’ मा छ ।

दुवै टिम समूह चरणबाट अघि बढ्नेमा विश्वस्त देखिन्छन् । पोर्चुगललाई समूह चरणमा स्पेनसँगको खेल भने सहज छैन । यसैले मोरक्को र इरानसँग सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

अर्जेन्टिनाको समूहमा रहेका क्रोयसिया, आइसल्याण्ड र नाइजेरिया तीनै टिम सरप्राइजिङ खेल देखाउने टिम भएकाले पनि उसलाई सहज भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment