Comments Add Comment

यसरी हुँदै छ महोत्तरीमा संसारीमाताको महापूजा

२१ वैशाख, महोत्तरी । पाँच वर्षको अन्तरालमा गरिने संसारी माताको महापुजाको अवसरमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा हजारौंको संख्यामा तीर्थालुहरुको भिड लागेको छ ।

जलेश्वरस्थित संसारी माताको पञ्चवर्षीय महापुजा महोत्सवको अवसरमा विवाहित महिलाहरुले खोइछ भर्दै छन् । शुक्रबार नैै ६ हजार देखि ८ हजारसम्म पशुको बलि दिइनेे पूजा व्यवस्थापन समितिको भनाइ छ ।

विहिवार अबेर रातिदेखि नै माताको खोइछ -चामल,चना,पानको पात,सुपारी,शृंगारको सामानहरु, प्रसाद लगायतका विवाहित महिलाले चढाउने) भर्न हजारौको संख्यामा महिलाहरु लामबद्ध भएर वसेका छन् । करिब एक किलोमिटरको लामो लाइनमा बसी उनीहरु माताको दर्शन गर्न बसेका हुन ।

शुक्रबार नै धामीलाई निम्तो दिने र सोपछि ३ बजेदेखि पंचवली सुरु हुने पुजा व्यवस्थापन समितिका वरिष्ट उपाध्यक्ष रोशन सिंहले बताए । उनले शुक्रबार नै हेलिकप्टरवाट पुष्प वर्षा गर्ने कार्यक्रम समेत रहेको बताए ।

पहिले १२ वर्षमा एक पटक आयोजना हुने संसारी माताको पूजा ९ वर्ष, ७ वर्ष हुँदै अहिले ५ वर्षमा एक पटक हुन थालेको हो ।

संसारी माताको पूजा भव्यताका साथ मनाउन पंडाल, बलिको लाइन लगायतका विभिन्न पूजाको तयारी अन्तिम चरणमा पुगेको संसारी माता पूजा समारोह समितिले जनाएको छ ।

यस्तो छ परम्परा

मानव सभ्यताको विकासकै समय देखि जलेश्वर र जलेश्वरमा संसारी माताको ईतिहास रहेको आफ्नो विभिन्न अध्ययनले देखाएको छ । संसारीमाताको पुजा पाच वर्षमा हुन थालेको र पुजामा यस क्षेत्रको हरेक घरबाट एक जिवको वलि दिनुपर्ने परम्परा रहेको छ ।

बरुण सर सरोवरको पूर्वी तटमा अवस्थित यो मन्दिर सेनवंशबाट शाहवंशले यस क्षेत्रमा कव्जा गरेर सत्ता संचालन गरेसम्म संसारीमाता र जलेश्वरनाथ महादेवको शिवलिंग ठीक सामुने रहेको थियो ।

पछि राणहरुले मन्दिर छेउमै जेल -हालको जलेश्वर कारागार) निर्माण गराए । मन्दिरकै छेउमा राणाहरुले प्रयोग गर्ने शौचालयको मल टिनाद्वारा मन्दिर नजिकै फाल्न थालिएको थियो ।

यस क्षेत्रमा हैजा चल्यो र धेरै मानिस मरे । पुनः दोस्रो पटक २०२० सालमा हैजा चल्यो । त्यसपछि संसारीमाताका पुजारी मुखिया थरेले २०२१ सालमा पुजाको आयोजना गराई मन्दिरलाई हालको स्थानमा ल्याई हरेक १२ वर्षमा महापुजा गराउने सहमति गराए । त्यसवेला संसारीमाताको काठको प्रतिमा बनाउन स्थानीय रामचन्द्र लोहारले सखुवाको ठूलो रुखलाई ताछेर बनाएका थिए ।

संसारी माताको पुजा ०३५,४२,४९,५७,६४,७० सालमा मनाइएको र हाल ०७५ मा मनाउन लागिएको हो ।

यस्तो छ धार्मिक किबंदन्ती 

धार्मिक किम्बदन्ती अनुसार महादेवले असुरहरुको त्रिपुर राज्य विनास गरिसकेपछि संसारीमाइको पूजा गरेका थिए ।

संसारीमाईको आर्शिवादकै कारण महादेव त्रिपुर भष्म गर्न सफल भएका थिए । त्रिपुर भष्मबाट बनेको ज्वालाले उत्पन्न ज्वालेश्वरपछि जलेश्वर नामबाट प्रख्यात भएको धार्मिकग्रन्थहरुमा उल्लेख छ ।

अर्को खोज अनुसार राजदेवी मन्दिरमा सर्वसाधारणलाई पुजापाठ निषेध रहृने भएकोले खुल्ला आकाशमुनि काठको मौलो बनाइ प्रजाहरुले १२ वर्षमा एकपटक उत्सव मनाउने गर्थे । त्यसमा समयमा समेत १२ वर्षमा खोला फर्किने विश्वासका साथ राज्यसत्ता अन्य हुने चाहना प्रजाहरुको हुने गथ्र्याे, त्यसलाई अप्रत्यक्ष रुपमा प्रकट गर्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment