Comments Add Comment

माथिल्लो मर्स्याङ्दीको सेयर बेचेर भारतीय कम्पनी चम्पट !

८० प्रतिशत सेयर बोकेर वर्षौंसम्म आयोजना अलपत्र

२३ वैशाख, काठमाडौं । नेपालका नदीनाला होल्ड गर्ने अनि कामै नगरी वर्षौं गुजार्ने भारतीयहरुको रोग नै हो ।

यही रोगलाई निरन्तरता दिँदै वर्षौंदेखि अल्झाएर राखिएको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनाबाट भारतीय जीएमआर कम्पनी बाहिरिएको छ ।

आफ्नो भागमा रहेको सेयर विभिन्न कम्पनीहरुलाई बेचेर भारतीय हाइड्रो कम्पनी बाहिरिएको हो । माथिल्लो मर्स्याङ्दीको प्रवर्द्धक कम्पनी हिमताल हाइड्रोपावरमा जीमएआरको ८० प्रतिशत सेयर थियो ।

जीएमआरले आफ्नो ८० प्रतिशत सेयर एससीआइजी इन्टरनेशनल नेपाल हाइड्रोपावर, सिञ्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी, क्युवाइसी इन्टरनेशनल र नेपालको बुटवल पावर कम्पनीलाई बेचेको छ ।

यसअघि लगानी बोर्ड र हिमतालबीच सेवा शुल्कको विषयमा विवाद उठेको थियो । तर, पछिल्लो समय भने सेवा शुल्क तिर्न हिमताल राजी भइसकेको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी बताउँछन् ।

साथै केही शुल्क वापतको रकमसमेत तिरेको उनले जानकारी दिए । सेयर खरिद-बिक्रीको विषयमा भने हिमतालले अहिलेसम्म लगानी बोर्डलाई कुनै जानकारी दिएको छैन ।

आफ्नो सम्पूर्ण सेयर बेचेको विषयमा जीएमआरले मुम्बई स्टक एक्सचेन्जमा जानकारी गराएको छ ।

जीएमअारले बम्बइ स्टक एक्सचेन्जलार्इ लेखेको पत्र

साथै जीएमआरले मुम्बई स्टक एक्सचेन्जमा पठाएको पत्रमा मर्स्याङ्दी २ निर्माणका लागि नेपालमा खोलेको कम्पनी मस्र्याङ्दी ट्रान्समिसन कम्पनीको पनि सम्पूर्ण सेयर बेचेको उल्लेख गरिएको छ ।

स्वदेशी कम्पनी बुटवल पावरले हिमतालको १९.४ प्रतिशत सेयर किनेको छ । आजमात्रै हिमतालको सेयर किनेको बुटवल पावरले नेपाल स्टक एक्सचेन्जलाई पनि जानकारी गराइसकेको छ ।

गत शुक्रबार जीएमआर र एससीआइजी इन्टरनेशनल नेपाल हाइड्रोपावर, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी, क्युवाइसी इन्टरनेशनल र नेपालको बुटवल पावर कम्पनीबीच सेयर किनबेच भएको थियो ।

लमजुङ र मनाङ जिल्लामा निर्माण गर्ने भनिएको यो आयोजना बिजुली निर्यात गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हो । पिकिङ रन अफ दी रिभर यो आयोजनाले ३ घण्टा पिकिङ गर्न सक्छ । सात वर्ष निर्माण अवधि लाग्ने भनिएको यो आयोजना वर्षौंदेखि अल्झिएर बसेको छ ।

यो आयोजनामा लगानीकर्ताको ‘लिड’ भने अन्तराष्ट्रिय मुद्राकोषले गरेको छ । कुल पुँजीको १० प्रतिशत अन्तर्राष्ट्रिय मुद्राकोषको हुनेछ ।

यो आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्राकोष र मर्स्याङ्दी ट्रान्समिसन कम्पनीबीच संयुक्त विकास सम्झौता पनि सम्पन्न भइसकेको छ ।

बीपीसीले नेप्सेलार्इ जानकारी गराउँदै लेखेको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment