Comments Add Comment

सुन तस्कर र सिण्डिकेटपछि गृहमन्त्रीको ध्यान रक्सीमा !

६ महिनापछि नेपाललाई मदिरामुक्त बनाइने


२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् ।

आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरे । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताए ।

देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

केही सांसदका साथै अनेम संघका पदाधिकारीहरु संलग्न महिला नेतृको टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरे ।

यसक्रममा मन्त्री थापाले सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्न सक्दा राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने बताए ।

रक्सीमा डुबेर समृद्धि आउँदैन भन्ने लेख अनलाइनखबरमा लेखेर चर्चा पाएका पूर्वसचिव एवं सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटालाई पनि महिला सञ्जालको छलफलमा निम्त्याइएको थियो । त्यहाँ बास्कोटाले सिंगै देशलाई मदिरामुक्त घोषणा गरिनुपर्ने माग गृहमन्त्री बादल समक्ष राखे ।

पूर्वसचिव बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र नै प्रस्तुत गरेका थिए ।

छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै आफूहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

बादलले भने – रक्सी भष्ट्राचारको कारक, समृद्धिको बाधक

महिला नेतृहरुसँगको छलफलमा गृहमन्त्री बादलले समाज, परिवारमा विखण्डनको प्रमुख कारक मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको बताए । यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग मन्त्री थापाले आग्रह गरे ।

पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको मन्त्री थापाले टिप्पणी गरे ।

देशभरका सबै वडाहरुमा विभिन्न राजनीतिक पार्टीआवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मीहरु रहने गरी समिति गठन गरेर वडास्तरबाटै मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको मन्त्री थापाले जानकारी दिए ।

यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै उनले यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालन गर्ने बताए । उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र जँड्याहाहरुको भण्डाफोर कार्यक्रम आयोजना गरिने बताए ।

मन्त्री थापाले अनुमति नलिई र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरिने बैठकमा जानकारी दिए ।

विकास र समृद्धिको बाधक तथा भ्रष्टाचारको कारकसमेत मदिरा नै रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिवद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गरे ।

साथै मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानको रुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।
उनीहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

रक्सीमा डुबेर समृद्धि आउँदैन, नेपाललाई मदिरामुक्त बनाऔं !

यसरी हुँदैछ नेपालमा जाँड-रक्सी विरोधी आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment