Comments Add Comment

बाइल डक्ट क्यान्सरः के हो उपेन्द्र देवकोटालाई लागेको रोग ?

चिकित्सक भन्छन्- पित्तासयको पथ्थरी उपचार गरिहाल्नोस्

२४ वैशाख, काठमाडौ । वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटा हाल बाइल डक्ट (पित्ताशयको नली) क्यान्सर रोगबाट पीडित छन् । यही रोगकै कारण डा. देवकोटा हाल जीवनमरणको दोसाँधमा पुगेका छन् ।

डा. देवकोटालाई पित्तथैलीमा क्यान्सर भएकोे शंका लागेपछि उनी मंसिरको पहिलो साता उपचारका लागि बेलायत पुगेका थिए । उनको बेलायतस्थित किङ्गस कलेजमा उपचार भएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि उनी गत शनिबार नेपाल फर्किएका छन् । उनको हाल बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

डा. देेवकोटाकै शब्दमा भन्ने हो भने उनी अहिले यस्तो रोगबाट पीडित छन्, जसको खासै उपचार सम्भव छैन । किनकि यो आफैंमा एक दुर्लभ क्यान्सर हो । यस क्यान्सरलाई चिकित्सकीय भाषामा कोलाञ्जियोकार्सिनोमा पनि भनिन्छ ।

यस्तो क्यान्सर प्रायः पित्तासय वा पित्तथैलीमा हुने पथ्थरीका कारण हुने गर्छ । त्यसबाहेक, मदिरापान, धुमपान तथा पित्ताशय बस्ने एक प्रकारको जुकाको संक्रमणका कारण पनि हुने गर्छ । तर, त्यस्ता जुका अफ्रिकन मुलुकहरुमा मात्र पाइने हुदाँ नेपालमा यसले क्यान्सर गराउने सम्भावना भने रहँदैन ।

यसबाहेक, पनि अन्य धेरै कारणहरुले गर्दा बाइल डक्टको क्यान्सर हुन सक्छ, जसको कारणसमेत थाहा नहुने क्यान्सर रोग विशेषज्ञ तथा वीर अस्पतालका अन्कोलोजी विभागका विभागीय प्रमुख डा. विवेक आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘कसैलाई पित्ताशयमा पथ्थरी भएको लामो समयसम्म पनि नदुख्न सक्छ । त्यस्तो अवस्थामा दुखेको छैन भनेर बस्नुभन्दा तुरुन्तै शल्यक्रिया गरी उक्त पथ्थरीलाई हटाइहाल्नुपर्छ’ । अन्यथा, त्यही पथ्थरीले पित्तथैलीमा घाउ बनाएर क्यान्सरसमेत गराउन सक्ने डा. आचार्य बताउँछन् ।

पित्ताशय र पित्ताशयको नलीबीचको सम्बन्ध

डा. आचार्यका अनुसार खानामा भएको चिल्लो पचाउन कलेजोले एक प्रकारको तरल पदार्थ (बाइल) को उत्पादन गर्दछ ।

उक्त बाइल कलेजोको भित्री भागमा रहेको हेपेटिक नली हुँदै पित्तशाय, प्याङक्रिज तथा सानो आन्द्रा (ड्युडेनम) सम्म पुग्छ । उक्त बाइल पित्ताशयसित जोडिने हुदाँ कलेजोबाट उत्पादित बाइल पित्ताशयमा गएर भण्डारण हुने गर्छ ।

जब मानिसले खाना खान्छन्, तब खाना पचाउनका लागि कलेजोले उत्पादन गर्ने यस्तो बाइल हुँदै पित्ताशयले उक्त बाइल नलीमा निकाल्ने गर्छ । जुन क्रमश बगेर सानो आन्द्रासम्म पुग्छ ।

तर, पित्ताशयको पथ्थरीको संंक्रमण वा अन्य कुनै कारणवश बाइल डक्ट -पित्ताशयको नली)को क्यान्सर भएमा पित्ताशयले उक्त तरल पदार्थ बाहिर निकाल्न सक्दैन । परिणामस्वरुप, शरीर पहेंलो हुने तथा शरीरमा जण्डिस देखा पर्ने गर्छ ।

यस्तो क्यान्सर शरीरको भित्री अंगमा हुने र खासै नदुख्ने हुदाँ पछिल्लो स्टेजमा पुगेपछि मात्रै थाहा हुन्छ ।

कतिलाई जण्डिस भएपछि मात्रै रोगबारे थाहा हुने तथा थाहा पाउँदासम्म जण्डिस भइसकेका घटनाहरु पनि धेरै हुने गर्छन् । कसैकसैलाई मात्र पेटको दायाँ भागमा दुख्ने गर्दछ ।

उपचार विधि के हो ?

बाइल डक्ट क्यान्सर भएमा विरामीको एकमात्र उपचार भनेको सर्जरी हो । किनकि विना सर्जरी रेडिएसन तथा किमोथेरापीले यसमा खासै भूमिका खेल्दैन । कतिपय बिरामीको हकमा बाहिरबाट एउटा पाइपलाई पेटमा छिराएर त्यहाँबाट बाइल डक्टमा जम्मा भएर बसेको तरल पदार्थलाई सोही पाइपको माध्यमद्वारा बाहिर ड्रेन गरेर पनि केही हदसम्म उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

डा. आचार्य भन्छन्, ‘यसबाहेक, यदि क्यान्सर शरीरका अरु अंगमा फैलिएको छैन र त्यसले अरु भागलाई असर पारेको छैन भने पहिले किमो दिएर उक्त क्यान्सरलाई सानो बनाएर पनि सर्जरी गर्न सकिन्छ ।’

तर, त्यसो गर्दा बिरामीको आयु बढ्ने सम्भावना भने कमै रहने डा. आचार्य बताउँछन् । उनी भन्छन्, ‘सामान्यतयाः यस्तो क्यान्सर पहिलो स्टेजमा छ भने बिरामीको बाँच्ने सम्भावना बढीमा ५ वर्ष हुन्छ । दोस्रो स्टेजमा ३ देखि ४ वर्ष, तेस्रो स्टेजमा पुगनपुग दुई वर्ष तथा चौथो स्टेजमा मासिक गन्ती अर्थात एक वर्षभन्दा कम हुने गर्छ ।

त्यसैले, यसबाट बच्न चाहने हो भने पित्ताशयमा पथ्थरी भएमा त्यसलाई तुरुन्तै निकाल्नु नै सबैभन्दा राम्रो उपाय हो’ डा. आचार्यले अनलाइनबरसित भने ।

उपेन्द्र देवकोटाको समस्या के हो ?

त्यसोभए डा. उपेन्द्र देवकोटालाई पनि यही क्यान्सर भएको हुन सक्छ त ? भन्ने प्रश्नमा भने डा. आचार्यले अनविज्ञता जाहेर गरे ।

उनले भने, ‘डाक्टर साबको अन्य लतबारे जानकारी नभएको र उहाँले पथ्थरीको जिकिर पनि नगरेको अवस्थामा उहाँलाई यसैको कारणले क्यान्सर भएको हो भन्न ठ्याक्कै सकिँदैन । यत्ति हो कि यस्तो क्यान्सरमा प्रायः पथ्थरीले नै मुख्य भूमिका खेल्ने हुदाँ यसबारे सजग हुन भने निकै आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment