Comments Add Comment

कर्णालीका हिमाली जिल्लामा ठूला परियोजना संचालन गर्न बजेट माग

२५ वैशाख, काठमाडौं । कालीकोटका सांसदहरुले हिमाली जिल्लामा पनि ठूला परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत र राष्ट्रियसभाका सांसद जीवन बूढाले संघीयताको मर्मअनुसार हिमाली र पहाडी जिल्लामा पनि ठूलो परियोजना संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन केन्द्र सरकारसँग माग गरेका हुन् ।

उनीहरुले कर्णालीका हिमाली जिल्लामा ठूला योजना सञ्चालनको पहल गरिदिन भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई समेत आग्रह गरेका छन् ।

मंगलबार पार्टी संसदीय दलको कार्यालयमा पुगेका उनीहरुले केन्द्र सरकारले हिमाली जिल्लामा कुनै पनि परियोजना नपार्ने षडयन्त्र गरिरहेको भन्दै आपत्ति समेत जनाएका थिए । सांसद रावतले संघीयताको मर्म विपरीत हुने गरी बजेट आए मान्य नहुने चेतावनी समेत दिए ।

राष्ट्रियसभाका सांसद बूढाले हिमाली जिल्लालाई पनि सम्बोधन हुने गरी बजेट ल्याउन पार्टी अध्यक्ष दाहालसँग जोडदार माग गरिएको बताए ।

संसदीय दलको बैठकमा दुवै सांसदहरुले संवैधानिक व्यवस्था अनुसार हिमाली जिल्लामा पनि बजेटको आवश्यक व्यवस्था गर्न माग गरेका थिए ।

सरकारले जनसंख्यालाई मूल आधार बनाएर बजेट ल्याउने तयारी गरेको छ । तर, कालीकोटका सांसदहरुले भने त्यसो गर्दा आफूहरुको जिल्लामा एउटा पनि ठूला योजना नपर्ने भन्दै आपत्ति जनाएका हुन ।

उनीहरुले दूर्गम क्षेत्रलाई सुगम बनाउने संघीयताको मर्म अनुसार बजेट तथा नीति कार्यक्रम ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment