+
+

पोखरा– बागलुङ सडक मर्मतका लागि दिनमै ४ पटक बन्द

रासस रासस
२०७५ वैशाख २५ गते १३:३४

२५ वैशाख,  पर्वत  । पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।

सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ : ३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ : ३० देखि १० : ३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ ।

अपराह्न १२ : ३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताए ।

मध्यपहाडी राजमार्ग सडक आयोजना कार्यालयसँग समन्वय गरेर सडक बन्द गरिएको उनले बताए । गिरिचोकदेखि नयाँपुलसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाइ छ ।

‘आयोजनासँग समन्वय गरी यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरी बन्द गरेका छौँ”, उनले भने, ‘बीचमा छ घण्टा भनिए पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ।’ उक्त खण्ड फराकिलो बनाउन झण्डै एक महिना लाग्ने भएकाले त्यस अवधिमा यातायात बन्द हुनेछ ।

गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार दृष्टिले भने केहीबेर सवारी रोकेर काम गरिएको बताए । सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकार भएकाहरुसहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताए ।

कास्कीका प्रजिअ तारानाथ अधिकारीले सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अगाडि बढाएको होला भनी अनभिज्ञता प्रकट गरे । ‘सडक निर्माण गर्दा पूर्वसूचना गरी स्थानीय सरोकारवालासहितको सहमतिमा गर्नुपर्ने हुन्छ’, उनले भने ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ ।

विसं २०५० मा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।

सो सडक विस्तार र स्तरोन्नति गर्न करीब रु तीन अर्ब ३२ करोड लागत पर्नेछ । यता विनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?