+
+
Shares

मोदीलाई १२१ किलोको माला, जनताले पानीसमेत पिउन पाएनन्

श्रवण देव/विक्रम रौनियार श्रवण देव/विक्रम रौनियार
२०७५ वैशाख २९ गते १:१५

२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत सत्कारमा प्रदेश २ सरकार र जनकपुर उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । मोदीलाई माला मात्र १२१ किलोको तीन वटा लगाइएको छ ।

तर, मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणले भने पाउनुसम्म दुःख पाएका छन् । बिहान झिसमिसेमै जनकपुर आएका उनीहरुले पानीसमेत नपाई दिउँसो २ः३० बजेसम्म बाह्रबिघामा बसे ।

भोकै भए पनि उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको जयजयकार गरे, नेताहरुले भाषण गर्दा ताली बजाए । जब कार्यक्रम सकियो, उनीहरु अलपत्र परेका छन् ।

जनकपुर उपमहानगरपालिकाले कार्यक्रमस्थलमै खानाको व्यवस्था गर्ने भनेकाले धेरैले खाजा सामलसमेत बोकेका थिएनन् । कतिसँग त किनेर खाने पैसासमेत थिएन । नागरिक अभिनन्दन सकेर मोदी काठमाडौंतर्फ जाँदा सर्वसाधारण भने भोकै तिर्खै सडकमा अलपत्र भेटिए । ‘कम्तीमा पानीको व्यवस्था हुन्छ भन्ने विश्वास थियो, तर घाँटी सुक्यो पानी पिउन पनि पाइएन’ मोदीको अभिनन्दन कार्यक्रममा सप्तरीबाट आएका नटाई रामले भने, ‘पानी पिउन नपाउँदा झण्डै प्राण जाला जस्तो भयो ।’

विहानदेखि अपरान्ह २ बजेसम्म रंगभूमि मैदानमा बसेको आफूहरुलाई आयोजकले विल्लीबाठ पारेको गुनासो सर्वसाधारणको छ । खानपिनको व्यवस्था हुन्छ भन्दै गाउँगाउँबाट बसमा ल्याएका उनीहरुले फर्किने बेला सवारी साधनसमेत पाएनन् ।

धनुषा, महोत्तरीबाहेक प्रदेश २ का अधिकांश जिल्लाका सर्वसाधारण बिहान ८ अघिनै बाह्रबिघामा प्रवेश गरिसकेका थिए । ‘घरबाट निस्किँदा चियासम्म नखाई हतार हतारमा आइयो’ सिरहाका सहभागी विजेन्द्र यादवले भने, ‘सिधै बाह्रबिघामा प्रवेश गरें । तर, दिउँसो अबेरसम्म पानीसमेत नपाएर परेशान भइयो ।’

जनकपुरका केही स्थानीयबाहेक बाह्रबिघामा सहभागी हजारौं जनता भोकै र तीर्खैर् गर्मीमा बस्न बाध्य भए । ‘खाना नपाउँदा ठीकै हो, तर पानीको व्यवस्था गरिनुपर्थ्यो ‘ सप्तरीबाट आएका पत्रकार बिनय कर्णले भने, ‘पानी समेत नदिनु अत्याचार हो ।’

१२ः३० बजे सकिने भनिएको कार्यक्रम २ः१५ बजेसम्म चल्यो । यसबीचमा गीत, नृत्य प्रस्तुती बाहेक जनतालाई पिउने पानीको व्यवस्था कसैले गरेनन् । मोदीको स्वागतमा १२१ किलोको माला र लाखौं खर्चिएर स्वागतद्वार बनाउने उद्योग वाणिज्य संघ लगायतले पनि कार्यक्रममा सहभागीहरुप्रति कुनै ध्यान दिएनन् ।कतिले पानीको बोतल बोकेर बाह्रबिघामा जान खोजे । तर, प्रहरीले पानीको बोतल भित्र लान नदिएको सहभागीहरुले बताएका छन् । प्रहरीले व्याग र बोतल केही लान नदिएपछि आयोजकलेनै पिउने पानीको व्यवस्था गर्नुपर्ने हो । तर त्यसो गरिएन ।

भोकै प्यासै अलपत्र

सर्लाहीको बरहथवाकी ७० बर्षीया कनावती पासवान मोदीको अभिनन्दन कार्यक्रममा सहभागी हुन जनकपुर आइन् । बाह्रबिघामा बिहानैदेखि दिउँसोसम्म भोक र प्यास सहेर बसिन् । जाने बेला उनी चढेर आएको गाडी पनि भेटिनन् ।
स्थानीय तहले उनीसहित ६० जनालाई जनकपुर ल्याएको थियो । तर, फर्किने बस छुटेपछि उनी अलपत्र परेकी छन् । ‘घर जाऊँ भने पैसा छैन, खाना खाउँ भने कसले दिने ? उनले भनिन् । सर्लाहीकै तेतर साह कानुको अवस्था पनि त्यस्तै छ । खानाको व्यवस्था भनेर ल्याउनेहरु नै बेपत्ता भएपछि उनी सडकमा अलपत्र परे । उनी चढेर आएको गाडी पनि गइसकेको रहेछ ।

कानुसँगै आएका केही व्यक्तिले आपसमा मिलेर ५/१० रुपैयाँ संकलन गरी च्यूरा किने । नून र खुर्सानीसँगै च्यूरा खाएका उनीहरु घर कसरी जाने भन्ने चिन्तामा थिए । ‘नुन र खुर्सानीले चिउरा के भिज्थ्यो ?’ कानुले भने, बुढेशकालको दाँतले चिउरा चपाउन सकेन । ल्याउने नेताहरु पनि वेपत्ता भए ।’

दिउँसोसम्म भोकै बसेका महिला, पुरुष, बालबालिकाहरु बाह्रबिघाको आसपास खुल्ला ठाउँमा च्यूरा, भुजासहितका खानेकुरा खाँदै गर्दाको दृश्य जताततै देखियो ।

२ नम्बर प्रदेश सरकारले प्रदेशको आठै जिल्लाबाट लाखौं जनतालाई अभिनन्दन समारोहमा उतार्ने जनाएको थियो । प्रदेश सरकारले स्थानीय तहलाई पत्राचारै गरी कम्तीमा दुई वटा बसमा जनता ल्याउन परिपत्र गरेको थियो । तर, आएका जनतालाई पानीसमेत खुवाउन कन्जुस्याइँ गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?