३० वैशाख, पोखरा । डोट्याली कवि हेमन्त विवशले दमौलीमा दुई दर्जन कविता सुनाएका छन् । गण्डकी वाङमय प्रतिष्ठानले आयोजना गरेको एकल कविता वाचनमा कवि हेमन्तले शुक्रबार आफ्नो रोज्जा कविता सुनाएका हुन् ।
उनका अधिकांश कविता गरिबी, भूकम्प र छुवाछुतको पीडा, वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताका विषयमा केन्द्रित थिए ।
कविता सुनेर भावुक बनेका स्रोतालाई विवशले डेउडा गाएर मनोरञ्जन दिलाए ।
साहित्यकार काशीनाथ न्यौपानेले विवशका कविता यथार्थपरक र गहिराइयुक्त भावना भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष सागर उदासले विवश जनताको कवि भएको टिप्पणी गरे । कवि विवशको जीवनीबारे प्रतिष्ठानका सदस्य राजु दाहालले प्रकाश पारेका थिए ।
विवशको यसअघि पोखरा र धनगढीमा एकल कविता वाचन भएको थियो ।
छन्द कविता र गीत लेखनबाट काव्य क्षेत्रमा दुई दशकदेखि सक्रिय विवशका कवितामा मानविय पीडाको गहिराइभित्र आस्था अड्काउने ठाउँको खोजी गरेको पाइन्छ । विवशका सम्राई (२०६०), असोजका जुन (२०६४), यादै जनमभरी (२०६३), आफ्नै मनसँग लयायतका कविता संग्रह, तीन गीति एल्बम प्रकाशित भएका छन् । उनका तीन दर्जन आधुनिक गीत रेकर्ड भइसकेका छन् ।
प्रतिक्रिया 4