+
+

सुन तस्करीको मुद्दा मोरङमा चल्न नसक्ने प्रतिवादीका वकिलको जिकिर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते १९:५४

३० वैशाख, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रतिवादी तर्फका वकिलहरुले उक्त मुद्दामा मोरङ जिल्ला अदालतको क्षेत्राधिकारमाथि प्रश्न उठाएका छन् ।

आइतबार प्रतिवादीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरुले सुन तस्करीको मुद्दा चलाउने क्षेत्राधिकार मोरङ अदालतलाई नभएको जिकिर गरेका हुन् ।

सुन तस्करीको घटना काठमाडौंको भएकाले यससम्बन्धी मुद्दा पनि काठमाडौंकै अदालतमा चलाउनुपर्ने प्रतिवादी तर्फका वकिलहरुको तर्क छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी र सुन भरिया सनम शाक्य हत्याको विषयलाई सुन चोरी पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालतमा अभियोग दर्ता गरेको छ ।

वकिलहरुले सनम शाक्यको हत्या मोरङमा भएकाले त्यससम्बन्धी मुद्दामात्रै मोरङमा चल्न सक्ने बताएका छन् । सरकारी वकिलहरुले बहस सकेपछि आइतबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिरक्षामा बहस सुरु भएको हो ।

अभियुक्तका पक्षमा आइतबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, राजु बस्नेत र यदु्नाथ खनालले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता बस्नेतले अभियुक्त बनाइएका विमानस्थलका कर्मचारीहरु बालकृष्ण श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा र हेमन्त गौतमको प्रतिरक्षा गरेका थिए । अर्का वरिष्ठ अधिवक्ता खनालले एसपी विकासराज खनालका पक्षमा मात्रै बहस गरेका थिए ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले सुन तस्करीका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र एसपी खनालका पक्षमा बहस गरेका थिए । थापाले गुरुङ र एसपी खनालको प्रतिरक्षा गदै बहस गरेका थिए ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार प्रतिवादीको तर्फबाट बहसमा संलग्न हुन काठमाडौैं र पूर्वका गरी ८० जना वकिलले वकालतनामा दर्ता गराएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करीमा संलग्नताको आरोपमा नेपाल प्रहरीका ९ अधिकारी र तस्करीको आरोप लागेका ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार अभियोग दर्ता गरेको थियो ।

अभियोगमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ विगो मागदावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?