Comments Add Comment

परराष्ट्रमन्त्रीले भने : मुख्यमन्त्री र भाजपा सांसदको अभिव्यक्ति खेदजनक

३१ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् ।

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति खेदजनक भएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । आजादले मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरलाई भारत फिर्ता ल्याउनुपर्ने ट्वीट गरेका थिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति नेपाल-भारत सम्बन्ध विगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताए ।

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको भन्दै मन्त्री ज्ञवालीले नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन नसक्ने प्रष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा दिएको अभिव्यक्ति खेद जनक रहेको बताए ।

हिजो हामीलाई खोक्रो राष्ट्रवादी भन्नेहरु पनि हाम्रै अडानमा आइपुगे

परराष्ट्रमन्त्री ज्ञवालीले संविधानसभाबाट संविधान जारी गर्ने र नाकाबन्दीविरुद्ध बलियोसँग उभिने सन्दर्भमा आफूहरुले लिएको अडान सही थियो भन्ने पुष्टि भएको बताएका छन् ।

मन्त्री ज्ञवालीले भने, ‘हामीले नाकाबन्दीविरुद्ध अडान लिँदा नाकाबन्दी नै भन्न नसक्नेहरु पनि आज त्यही ठाउँमा आइपुगेका छन् । हामीले त्यतिबेला उठाएका मुद्दा हाम्रो संविधान हामी आफैंले बनाउने कुरा गर्दा, नेपालले संघीयताको मोडल आफैं तय गर्न पाउनुपर्छ भन्दा खोक्रो राष्ट्रवाद भनिएको थियो । तर, आज आएर हाम्रो अडान पुष्टि भएको छ, यसमा हामीलाई गर्व छ ।’

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको बताए ।

मन्त्री ज्ञवालीलेे विगतका विभिन्न प्रतिवद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयवद्ध कार्यान्वयनमा यसपटकको सहमति भएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment