Comments Add Comment

राप्रपाको केन्द्रीय परिषद बैठक : कमल थापाको अधिकार कटौती गर्ने तयारी

सबै विषयमा खुला छलफल

फाइल फोटो

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषदको बैठक अर्को साता वीरगञ्जमा हुदैछ । जेठ ७, ८ र ९ गतेसम्म चल्ने बैठकमा देशभरबाट आएका ५०० नेता कार्यकर्ताले निर्वाचनको समीक्षा, पार्टीको अबको बाटो र विधान संशोधनबारे छलफल गर्नेछन् ।

राप्रपामा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय केन्द्रीय परिषद हो । योसँग पदाधिकारी निर्वाचन गर्नेबाहेक महाधिवेशनसँग भएका सबै अधिकार हुनेछ । निर्वाचनमा लज्जास्पद पराजयपछि पहिलो पटक हुन लागेको यस बैठकबाट राप्रपाको एजेण्डा र नेतृत्वमाथि पनि प्रश्न उठ्ने सम्भावना छ ।

सबै विषयमा छलफल खुला

राप्रपामा हिन्दू धर्म र राजतन्त्रको एजेण्डा बोकेको राप्रपाभित्र एजेण्डाकै कारण चुनावमा पराजय ब्यहोर्नुपरेको अनौपचारिक रुपमा धेरै नेता स्वीकार गर्छन् । तर औपचारिक रुपमा उनीहरु त्यो मान्न तयार हुँदैनन् ।

बरु उनीहरु ८० प्रतिशत हिन्दू धर्माबलम्बी रहेको देशमा आफ्नो एजेण्डा बुझाउन नसकेका कारण हार्नुपरेको तर्क गर्छन् । बाहिर जे भने पनि संविधानले धर्म निरपेक्ष स्वीकार गरिसकेको अवस्थामा हिन्दू राष्ट्रको एजेण्डा बिक्न छाडिसकेको छ भन्ने धेरैलाई थाहा छ, त्यसैले बैठकमा कोही न कोहीले एजेण्डा र नेतृत्वबारे पनि प्रश्न गर्ने एक नेता बताउँछन् ।

प्रवक्ता भुवन पाठक बैठकमा धेरैथरी विचार आउन सक्ने बताउँछन् । ‘तल्लो लेबलका कार्यकर्ताले चुनावका बारेमा अहिलेसम्म भन्ने मौका पाएको छैन, त्यसैले उनीहरुले बोलिहाल्छनु, सहभागीबाट कुन स्तरमा कुरा उठ्छ थाहा छैन, तर अहिले नै हाम्रो एजेण्डामा पुनर्विचार भने हुदैन ।’

राप्रपा नेता बु्द्धिमान तामाङ खुला छलफलमा सबैथरी विषय उठ्न सक्ने बताउँछन् । ‘खुला छलफल भएकाले त्यो त असन बजारजस्तो भइहाल्छ नि, मान्छेलाई लागेको कुरा राखिहाल्छन्’ उनी भन्छन् ।

अध्यक्षको अधिकार कटौती गर्ने तयारी

राप्रपा अहिलेसम्म अध्यक्ष कमल थापाको एकलौटी निर्णयमात्र लागू हुन्छन् । किनभने अध्यक्षलाई असाधारण अधिकार हालको विधानले दिएको छ । पार्टीमा ३५ प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनित गर्छन् भने उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता जस्ता पदाधिकारी पनि उनैले मनोनित गर्छन् ।

विधानलाई समय अनुसार परिवर्तन गर्नुपर्ने नेता वुद्धिमान तामाङ बताउँछन् । ‘म उपाध्यक्ष छु, तर मनोनित गरिएको हो, यो त प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेजस्तो भएको छ, मैले अध्यक्षसँग असहमति राख्न राजीनामा दिनुपर्छ’ उनले भने ।

त्यसैले अध्यक्षसँगै उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट चयन गर्ने र अध्यक्षले मनोनित गर्न पाउने केन्द्रीय सदस्य संख्या पनि घटाउने गरी विधान संशोधन हुने नेताहरु बताउँछन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि पनि जिल्ला र नगर कमिटीले मनोनित गरेर पठाउने व्यवस्था थियो । अब सक्रिय सदस्यको आधारमा प्रतिनिधि चयन हुने व्यवस्था राख्ने विषयमा छलफल भइरहेको प्रवक्ता पाठकले बताए ।

विधानको अहिलेको व्यवस्थाले अध्यक्ष शक्तिशाली र पार्टी कमजोर भएकाले यसलाई परिवर्तन गर्नुपर्ने केन्द्रीय सदस्य प्रकाश रिमाल बताउँछन् । ‘अहिलेसम्म हाम्रो पार्टी लिडर बेस पार्टी छ, यसलाई क्याडर बेस पार्टी बनाउनुपर्छ’ उनले भने ।

अहिले संशोधन भएको विधान आगामी महाधिवेशनबाट मात्र लागू गर्ने तयारी छ ।

केन्द्रीय परिषद बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला अध्यक्ष, निर्वाचन क्षेत्रका अध्यक्ष, महानगर र उपमहानगरपालिकाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पर्यवेक्षक सहभागी हुने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाले राजनैतिक वैचारिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिंदेनले संगठनात्मक प्रतिवेदन, गोविन्द खनियाँले विधान संशोधनसम्बन्धी प्रतिवेदन, प्रवक्ता भुवन पाठकले प्रशिक्षण सम्बन्धी प्रतिवेदन र डा. विष्णु भण्डारीले निर्वाचन परिणाम समीक्षासम्बन्धी प्रतिवेदन पेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment