Comments Add Comment

बुर्कासँगै सिलाइकटाइ सिक्दै मुस्लिम महिला

२ जेठ, वीरगञ्ज । आयआर्जनको काम त परको कुरा मुस्लिम समुदायमा महिलालाई घर बाहिर निस्कन समेत बर्जित छ ।

निस्कनै परेपनि शरीर पुरै ढाक्नेगरी बुर्का लगाएर उनीहरु बाहिर निस्कन्छन् । तर, वीरगञ्ज महानगरपालिका – १३ राधेमाइका १८ जना मुस्लिम किशोरी तथा महिलाहरु भने आयआर्जनका लागि सीप सिक्नमा व्यस्त छन् ।

उनीहरु नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सञ्चालित इभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रांलिले सञ्चालन गरेको छोटो अवधीको निःशुल्क ड्रेस मेकर तालिममा सहभागी भएका हुन् ।

दलित, अल्पसंख्यक, मधेसी, पछाडि परेको समुदायलाई नै लक्षित गरेर सञ्चालन गरेको तालिम अन्र्तगत वीरगञ्ज राधेमाइको एउटा समूहमा मुस्लिम समुदायको किशोरी र महिलाहरु उत्साहित भएर सीप सिक्दैछन् ।

सीप भएको खण्डमा दुईचार पैसा आम्दानी गर्न सकिन्छ भन्ने सोचेर तालिममा सहभागी भएको सकिना खातुनले बताइन् । ‘ घरमा त्यसै बसिरहनुभन्दा त सीप भयो भने रोजगारी हुन्छ, धेरैथोरै आम्दानी गर्न सकिन्छ भनेर सीप सिक्दैछु,’ उनले भनिन्, ‘तालिमपछि आफ्नै ट्रेलर खोलेर चलाउँछु भन्ने छ ।’

तालिममै सहभागी सहिबा खातुनले सीप सिकेपछि कम्तिमा ८/१० हजार महिनामा कमाउने सोच बनाएको बताइन् । पढाइ छोडेर घरमा त्यसै बसेका किशोरीहरुले तालिममा सहभागी भएपछि ५ जना मिलेर टेर्लर नै चलाउने योजना नै बनाइसकेका छन् ।

८ कक्षा पढेपछि पढाइलाई निरन्तरता दिन नसकेकी सबि्रना खातुनले तालिम लिँदा लिँदै आम्दानी गर्न थालिसकेकी छन्, ‘तालिम लिँदै गर्दा पनि मैले काम पाँए, ६ वटा कपडा सिलाउँदा १५ सय रुपैंया आम्दानी भयो,’ उनले भनिन्, ‘ एकदमै खुशी लागेको छ, यसले तालिममा सहभागी हुन उत्साह पनि बढाएको छ ।’

सन २००८ देखि नै सिलाई बुनाईको प्रशिक्षक बनेकी जहारा खातुन यी मुस्लिम किशोरी र महिलाको प्रेरणाको स्रोत हुन् । उनी अहिले पनि सहायक प्रशिक्षकको रुपमा उनीहरुलाई तालिम दिइरहेकी छन् ।

पछिल्लो समयमा पहिला मुस्लिम समुदायका पुरुषहरुले पनि महिलाहरुलाई आयमुलक तालिममा सहभागी गराउन थालेको जहाराको भनाइ छ । ‘नेकाव (मुख छोप्ने), हेजाव (टाउको छोप्ने) मा रहेर पनि काम गर्न सकिन्छ भन्ने भएपछि सोहर (श्रीमान), सासु ससुराले इजाजत दिएका छन् । घर बसेरै महिलाले १०/१२ हजार कमाउँछन् भने त्यो धेरै हुन्छ । घरमा एक्लै कमाउने श्रीमानलाई सहयोग पुग्छ ,’ उनले भनिन्, ‘घरको काम पनि हुन्छ, टेलर खोलेर अरुलाई पनि काम दिन सकिन्छ । आम्दानी बढेपछि बालबच्चा सरकारीमा पढाउनेले बोर्डिङमा पढाउँन सक्छन् । ‘

पछिल्लो समयमा मुस्लिम समुदायकै अन्य पुरुष महिलाहरुले पनि आफ्नो छोरा बुहारीलाई तालिममा सहभागी गराउन दवाव दिने गरेको उनको भनाइ छ ।

स्वरोजगार बनाउने उद्देश्यका साथ संस्था मार्फत पर्सा बारा र सर्लाही जिल्लाका ३ सय जना महिला पुरुषहरुलाई लक्षित गरेर ड्रेस मेकर, इलेक्टि्रसियन, गलैचा बुनकरको तालिम सञ्चालन भइरहको छ ।

पर्सा र बारा जिल्लामा ड्रेस मेकर, विल्डिङ ईलेक्ट्रेसियनको तालिम चलिरहेको र सर्लाहीमा गलैचा बुनकरको तालिम सञ्चालनमा रहेको साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी प्रबन्धक विजय कुमार श्रीवास्तवले जानकारी दिए । ‘तालिममा सहभागीहरुलाई स्वरोजगार बन्न उत्प्रेरित गर्छौ, विभिन्न वित्तिय संस्थाबाट सहुलियतमा ऋण समेत प्रदान गराउन लगाउने गरेका छौं,’ उनले भने, ‘सीप भएपछि मानिसहरुको जीवनमा आमूल परिवर्तन आउँछ ।’

१५ वटा इभेन्टमा तालिम सञ्चालन भइरहेको छ । प्रत्येक इभेन्टमा सहभागी २० जनालाई मुख्य र सहायक प्रशिक्षकहरुले तालिम सीप सिकाइरहेका छन् ।

तालिममा सहभागीहरुलाई जीवन उपयोगी सीप र व्यवसायिक सीपको समेत जानकारी गराईने संस्थाका तालिम अनुगमनकर्ता नवराज घिमिरेले बताए । संस्थाद्वारा सञ्चालित तालिमको पर्साका सञ्चारकर्मीहरुले अनुगमन समेत गरेका छन् ।

वीरगञ्जको राधेमाई, बहुअरी क्षेत्रमा सञ्चालित विल्डिङ ईलेक्ट्रि सियन र ड्रेस मेकर तालिममा सहभागीहरुले सीप सिकेर स्वरोजगार बन्न आफूहरु उत्साहित रहेको बताएका छन् । तीन महिने तालिम समापन पछि स्वरोजगार बन्नेमा उनीहरु विश्वस्त देखिएका छन् ।

पहिला इलेक्ट्रोनिक्स समानको बारेमा कुनै जानकारी नभएको बताउने वीरगञ्ज २३ प्रसौनीका गलेन्द्र कुमार यादवले सीप भएपछि गरिखाने बाटो निस्कने बताउँछन् । ‘८ कक्षा पढेपछि पढाईलाई निरन्तरता दिन सकिएन, हातमा सीप पनि थिएन,’ उनले भने, ‘मलाई यति विश्वास छ कि सीप भएपछि मानिसहरु खोज्न आउँछन् ।’ गलेन्द्र संस्थाले राधेमाइमा सञ्चालन गरेको विल्डिङ इलेक्टि्रसियनको तालिममा सहभागी भएका छन् ।

वीरगञ्ज-११ रानीघाट बस्ने निरञ्जन साह तालिमा सिकेको कुरालाई सदुपयोग गर्न सके पैसा कमाउन विदेश जानु नपर्ने बताउँछन् । एसएलसी पास गरेपछि पढाई छोडेका उनी सीप सिकेपछि स्वरोजगार हुनेमा ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment