Comments Add Comment

एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी

३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।

एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताए ।

अर्का अध्यक्ष प्रचण्डले समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकताको निर्णय लिइएको बताए ।

बालुवाटारमा सपथ, नाममा अण्डरलाइन

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए ।

लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।

पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् ।

९ सदस्यीय केन्द्रीय सचिवालय

पुनर्गठित पार्टीले दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो ।

पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।

त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

एकतामा आउन आहृवान

एकता घोषणा कार्यक्रममा नेताहरुले अन्य दलहरुलाई पार्टी एकतामा आउन आहृवान गरे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने, ‘के ससाना पसल थालेर बस्ने आउनुस् । कुनै गलत भावना छैन । एक जुट भएर देश बनाऔं ।’

नमिल्ने टेढा कुराहरु गरेर कुनामा बस्नु कम्युनिष्ट सिद्धान्त नभएको उनले बताए । विप्लव समूहतर्फ संकेत गर्दै उनले बानी बिगि्रएको केटाकेटी जस्तो सुतली बम पड्काएर हिँडेको भन्दै एकता प्रक्रियामा आउन आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment