Comments Add Comment

अब कास्कीकोटका १६ सय घरधुरीमै खानेपानी

२० लाख रुपैयाँको लागतमा खानेपानी बोरिङको शिलान्यास

४ जेठ, पोखरा । कास्कीकोट देउरालीकी तुलसी भुजेललाई बेलैमा खानेपानीको जोहो गर्नुपर्दा समयमै काममा निस्कन हम्मे पर्छ । महानगरपालिकाभित्रेको नागरिक भएर पनि घरमा पानीको धारा छैन । ४०–५० घर एउटै पानीको धारामा लाइन लाग्नुपर्दा सकस छ ।

कास्की खड्गाउँकै प्रमिला सुनारलाई पानीको चाँजो मिलाएर मेला निस्कन सारै गाह्रो छ । ‘५०–५१ घरधुरीलाई एउटा पानीको धारा छ,’ सुनारले भनिन्, ‘लाइन लाएर पानी भर्नुपर्दा धेरै समस्या छ । कहिले त टाढा पँधेरा र कुवाबाट पनि पानी ल्याएर काम चलाउँछौं ।’

पानीकै कारण घरधन्दा र अन्य कामसमेत समयमा सक्न गाह्रो पर्ने राधिका सुवेदीको दुखेसो छ । भइरहेको गाउँको सामूहिक धारामा पनि १० दिन पानी आएर १५ दिन नआउने गर्दा निकै सास्ती खेप्नुपरेको लालबहादुर भुजेलले बताए ।

उनीहरुजस्तै देउराली, लाम्चेडाडा, खड्गाउँ, दोपहरे लगायत ठाउँका वासिन्दाले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीको यस्तो सास्ती खेप्दै आएका कास्कीकोट उत्तरी भेगका नागरिकले अब भने छिट्टै घरघरै खानेपानी पाउने भएका छन् । पानीको प्रशस्त स्रोत पनि नभएको कास्कीकोटमा बोरिङ प्रविधिबाट घरघरै खानेपानी पु¥याउन लागिएको छ ।

पोखरा–२४ कास्कीकोट उत्तरी भेगका ३ सय ३५ घरधुरीमा पानी पुग्ने भएपछि स्थानीयले खुसी मनाएका छन् । ‘पानीको कम्ता दुख थिएन यहाँ, यसको सुबास्ता भए हामीले धेरै कुराका सजिलो हुन्छ,’ खड्गाउँकी राधिका सुवेदीले भनिन्, ‘अब बल्ल महानगर भएजस्तो हुने भयो ।’

नागरिकले खेपेको पानीको सकसलाई साम्य पार्न वडा कार्यालयले जमिन मुनिको पानी बोरिङ प्रविधिबाट निकालेर स्थानीयको घरघरै पु¥याउने भएको हो । कास्कीकोट देउरालीमा बिहीबार बोरिङको शिलान्यास भएको छ ।

‘एक घर, एक धारा’ अभियानलाई आत्मसाथ गर्दै सबै वडावासीको घरघरै खानेपानी पु¥याउने लक्ष्यसहित देउरालीमा बोरिङको शिलान्यास गरिएको वडा नम्बर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

‘महानगरपालिकाको २० लाख रुपैयाँ र ५ लाख रुपैयाँ जनसहभागितामा बोरिङ प्रविधिबाट घरघरै खानेपानी पु¥याउने लक्ष्य राखिएको छ,’ वडाध्यक्ष सुवेदीले भने, ‘कास्कीकोट उत्तरी क्षेत्रका नागरिकले यो वर्षभित्रै घरघरै खानेपानी पाउने छन् ।’ ४ ठाउँमा २० हजार र एक ठाउँमा २५ हजार लिटरको खानेपानी ट्यांकीमार्फत खानेपानी वितरण गरिने छ ।

अहिले धम्पुस रैंचे खानेपानी बृहद आयोजनामार्फत अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, कास्कीकोट र सराङकोटमा ठाउँठाउँमा धारा बनाएर सामूहिक प्रयोग गरिएको खानेपानी प्रयाप्त नभएकाले बोरिङमार्फत घरघरै पानी पु¥याउन लागिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । अहिले ९० वटा धाराबाट ८ सय घरधुरीले खानेपानी पिउनु पर्दा यो क्षेत्रमा निकै समस्या थियो ।

यो योजना सकिएर उत्तरी क्षेत्रका नागरिकले खानेपानी प्राप्त गर्ने गरेसँगै कास्कीकोटका १ हजार ६ सय घरधुरीमै खानेपानी पुग्ने वडाध्यक्ष सुवेदीले बताए । कास्कीकोट पर्वी भेग मौलामा बोरिङमार्फत घरघरै खानेपानीको व्यवस्था भइसकेको छ । कार्कीको तगाराका दुई सय छयत्र घरधुरीमा पनि खानेपानीको धारा पुगिसकेको छ । लौरुकमा एक सय पचास घरका लागि काम भइरहेको छ ।

१५ लाख रुपैयाँको लगानीमा पामेका २ सय ५० घरमा खानेपानी पुर्याउन पाइप विछ्याउने काम भइरहेको छ । वोरे अधिकारी गाउँमा करिब एक सय घरमा पनि खाने पानीको काम भइरहेको छ । सिमलचौरका लागि अर्को खानेपानी आयोजनाको काम हुँदैछ ।

‘दुई वर्षभित्र कास्कीकोटका सबै घरधुरीमा खानेपानी पुर्याउने प्रतिवद्धता गरेका थियौं,’ अध्यक्ष सुवेदीले भने, ‘समयमै हामीले प्रतिवद्धता पूरा गर्दैछौं । अब कास्कीकोटवासीले खानेपानीको चिन्ता गर्नु नपर्ने भएको छ ।’

वषौंदेखि खानेपानीको दुख व्यहोर्दै आएका नागरिकलाई अब भने सुखका दिन आएको कास्कीकोट देउराली बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज शर्मा चुवाईले बताए । देउराली बोरिङ खानेपानी आयोजना निर्माणको जिम्मा टेन्डरमार्फत कालिञ्चोक डिल कम्पनीले पाएको छ ।

आफूले प्रतिवद्धा गरेका काम पूरा गरेरै छाड्ने वडाध्यक्ष सुवेदीको अठोट छ । ‘हामीले यो वर्ष तय गरेका ८७ वटा योजनामा ३५ वटा योजनाको काम सकिसकेका छौं,’ अध्यक्ष सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment