Comments Add Comment

संविधान र प्रजातन्त्रको आडमा सर्वसत्तावादको खतरा छ : कमल थापा

'पार्टी एकताका लागि अध्यक्ष पद छाड्न तयार छु'


७ जेठ, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा मुलुकमा सर्वसत्तावादको खतरा रहेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पार्टीको केन्द्रीय परिषद बैठकको उद्घाटन गर्दै उनले धर्म परिवर्तन, भ्रष्टाचार र संविधान र लोकतन्त्रको आवरणमा आउन सक्ने सर्वसत्तावाद मुलुकको प्रमुख चुनौती भएको बताए ।

संविधान र कानुन बमोजिम नै गएर सबै क्षेत्रमा कब्जा जमाउने नियतमा वाम गठबन्धनको सरकार लागेको आरोप थापाले लगाए ।

‘न्यायपालिकालाई कब्जा गर्ने अभियान सुरु भइसकेको छ । संवैधानिक अंगमा वाम गठबन्धनको प्रभाव रहेका व्यक्तिहरुलाई ल्याइदैछ । प्रशासन संयन्त्र ५० प्रतिशत पहिले नै कब्जामा थियो । बाँकी ५० प्रतिशत पनि कब्जामा लिने नियत देखिएको छ’ उनले भने ‘अहिलेकै घटनाक्रम अनुसार जाने हो भने उनीहरुले आम सञ्चार माध्यमहरुलाई पनि छोड्दैनन् । यो सरकारको आदेश जसले मान्दैन उसको हालत लोकमान सिंह कार्की र सुशीला कार्कीको जस्तै हुनेछ ।’

अध्यक्ष थापाले पार्टी एकताको लागि आफुले अध्यक्ष पदबाट राजीनामा समेत दिन तयार रहेको बताए । उनले पार्टी एकताको लागि पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आउन आहृवान गर्दै आफू जुनसुकै पद दिनसमेत तयार रहेको बताए ।

‘प्रजातान्त्रिक शक्तिहरुलाई बलियो बनाउन समान विचारधारा भएका पार्टीहरुको बीचमा एकता र सहकार्य हुन आवश्यक छ । पार्टी विभाजनले न पशुपतिजीलाई न प्रकाशजीलाई फाइदा भयो । त्यसले हामीलाई पनि घाटा भयो । पार्टी विभाजनमा कसको के दोष थियो, अब एक अर्कालाई आरोप लगाएर केही हुन्न’ उनले भने, ‘सबै मतभेदहरुलाई बिर्सेर पार्टी एकताका लागि आउनुस् के चाहिन्छ तपाईहरुलाई ? तपाईहरुलाई अध्यक्षको पद आवश्यक छ र त्यो नै एकताको शर्त हो भने कमल थापाले अहिले नै राजीनामा दिन तयार छ ।’

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष राजीव पराजुलीले पार्टी एकीकरणमा भएको त्रुटीले पनि पार्टीलाई कमजोर बनाएको स्वीकार गर्दै अब सशक्त ढंगबाट पार्टीलाई अघि बढाउने तयारीमा लागेको बताए ।

तीन दिनसम्म चल्ने केन्द्रीय परिषद बैठकमा देशभरीबाट पार्टीका केन्द्रीय नेता, जिल्ला अध्यक्ष, भातृ संगठनका अध्यक्ष, क्षेत्रीय अध्यक्षहरुको सहभागिता रहेको छ । परिषदले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्नुको साथै आगामी दिनको कार्यदिशा तय गर्ने राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment